Comments Add Comment

राष्ट्रपति भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला, सोनिया गान्धी परिनन्

Bidhya-Bhandari२५ जेठ, काठमाडौं ।  नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला भएकी छिन् ।

चर्चित पत्रिका फोब्र्सले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको नयाँ सूचिमा भण्डारी ५२ औँ स्थानमा परेकी हुन् । फोर्ब्सको शक्तिशाली सूचिमा नेपाली महिला पर्न सफल भएको यो पहिलोपटक हो ।

नेपालमा राष्ट्रपतिको पद सेरेमोनियल रहेपनि कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएको र लामो राजनीतिक अनुभव भएका कारण भण्डारीले राष्ट्रिय राजनीति तथा निर्णय निर्माणमा ठूलो प्रभाव पार्न सक्ने फोर्ब्सले उल्लेख गरेकेा छ ।

महिला अधिकारकर्मी समेत रहेकी भण्डारीले संसदमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गराएको फोर्ब्सले उल्लेख गरेको छ

जर्मन चान्सलर एन्जेला मर्केल लगातार छैटौँ वर्ष सबैभन्दा शक्तिशाली महिलाको पहिलो नम्बरमा कायम छिन् । उनी अहिलेसम्म पटक पटक गरी दश पटक विश्वकोे सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् ।

दुनियाका सबैभन्दा शक्तिशाली एक सय महिलाको सूचिमा ५१ जना अमेरिकी महिला छन् ।

मर्केलपछि दोश्रो स्थानमा अमेरिकी राष्ट्रपतिय चुनावको दौडमा रहेकी नेतृ हिलेरी क्लिन्टन छिन् । फेडरल रिजर्भ बैंककी जेनेट येलेन तेश्रो स्थानमा छिन् ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश चीनबाट यो वर्ष ९ महिलाहरुले फोब्र्सको शक्तिशाली महिलाको सूचिमा आफ्नो स्थान बनाएका छन् ।

यसमा इ  कमर्श साइट अलिबाबाकी वरिष्ठ कर्मचारी लूसी पेंग तथा विश्व स्वास्थ्य संगठनकी महानिर्देशक मार्गरेट चेन लगायतका छन् ।

त्यस्तै हंगकंगकोे वित्तिय सेवा संस्था किंग्सटन सेक्युरिटिजकी मुख्य अधिकारी पोल्याना चू तथा चीनकी प्रथम महिला पेंग लियूआन पनि विश्वका शक्तिशाली महिलाको सूचिमा परेका छन् ।

फोब्र्सका अनुसार विश्वका सबैभन्दा शक्तिशाली सय महिलाले दुनियाको १० खर्ब डलर सम्पत्तिमा नियन्त्रण राख्दछन् र ३ अर्ब ६० करोड मानिसलाई प्रभावित गर्दछन् ।

फोब्र्सको सय शक्तिशाली महिलाको सूचिमा परेका मध्ये ३२ जना विभिन्न कम्पनीका सिइओहरु छन् । त्यस्तै १२ जना विश्व नेतृ तथा ११ जना अर्वपति छन् । ९ जना महिलाहरु यस्ता छन् जसले शून्यबाट सुरु गरेर अरबौँ डलरको व्यवसाय स्थापित गरेका हुन् ।

सूचिमा सामेल महिलाहरुको औषत उमेर ५७ वर्ष छ । दुनियाका सबैभन्दा शक्तिशाली महिलाको सूचिमा सबैभन्दा कान्छी महिला याहुकी सिइओ म्यारिसा मेयर हुन्, उनको उमेर ४१ वर्ष छ । त्यस्तै सबैभन्दा वृद्ध महिला बेलायती महारानी एलिजाबेथ द्धितिया हुन् ।

शक्तिशाली महिलाको सूचि प्रकाशित गर्ने फोब्र्स वुमनकी अध्यक्ष तथा प्रकाशक मोइरा फोब्र्सले यति लामो समयसम्म एन्जेला मर्केल दुनियाकी सबैभन्दा शक्तिशाली महिला बनिरहनु असाधारण कुरा रहेको बताइन् ।

उनका अनुसार यो वर्षदेखि शक्तिशाली महिलाको सूचिमा अमेरिकीहरुको हिस्सा घट्दैछ र आधाजसो महिला अमेरिका बाहिरका छन् । ती मध्ये एक चौथाइ एसिया प्रशान्त क्षेत्रका रहेका छन् ।

१ सय जना शक्तिशाली महिलामध्ये टप टेन यी हुन्
·       एन्जेला मर्केल
·       हिलारी क्लिन्टन
·       ज्यानेट एलेन
·       मेलिन्डा गेट्स
·       म्यारी बारा
·       क्रिस्टिन लेगार्ड
·       शेरिल स्यान्डवर्ग
·       सुसन ओज्सिकी
·       मेग ह्वाइटम्यान
·       आना प्याटि्रसिया बोटिन

त्यस्तै म्यानमारकी नेतृ आंग सांग सूची २६ औँ स्थानमा छिन् । बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद ३६ औँ स्थानमा छिन् ।

भारतीय नेतृ सोनिया गान्धी भने शक्तिशाली महिलाको सूचिमा परिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment