२५ जेठ, काठमाडौं । नेविसंघको ११ औं महाधिवेशन आगामी असार वा साउन महिनामा गर्न प्रस्ताव गरिएको छ । यसैगरी १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउन पनि प्रस्ताव गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा अध्यक्ष रञ्जित कर्णले असार २८ गतेदेखि ३० गतेसम्म वा साउन २२ गतेदेखि २४ गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरेको नेविसंघ प्रवक्ता यूपी लामिछानेले अनलाइनखबरलाई जानकारी दिए ।
साउनमा हुने सम्भावना बढी
नेविसंघको महाधिवेशन २०६४ सालयता भएको छैन । महाधिवेशनको मिति र स्थान तथा संघको स्वरुप टुंगो लगाउन भन्दै मंगलबार बैठक बोलाइएको थियो ।
असार २२ देखि साउन ११ सम्म स्नातक दोस्रो वर्षको परीक्षा भएकाले साउनमा महाधिवेशन हुने बढी सम्भावना रहेको स्रोतले बतायो । पार्टी नेतृत्वसँग छलफल गरेर मितिको अन्तिम टुंगो लगाउने नेविसंघ नेताहरूको तयारी छ ।
लामिछानेका अनुसार कर्णले काठमाडौं, चितवन, पोखरा वा विराटनगरमा महाधिवेशन गर्न प्रस्ताव गरे पनि अधिकांश केन्द्रीय सदस्यहरुले काठमाडौंमै गर्न सुझाव दिएका थिए ।
सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि काठमाडौं उपत्यकामा रहेको र वर्षायाममा उपत्यका बाहिर गर्दा कठिनाई हुने भएकाले काठमाडौंमै गर्नुपर्ने अधिकांशले जोड दिएका थिए ।
यस्तो छ संगठनात्मक प्रस्ताव
१ सय ५१ सदस्यीय केन्द्रीय समितिमा १२८ जना निर्वाचित र २३ जना मनोनित गर्न प्रस्ताव गरिएको छ । १ सय ५१ सदस्यीय केन्द्रीय समितिमा ११ उपाध्यक्ष र १२ सहमहामन्त्री बनाउन प्रस्ताव गरिएको छ ।
सात प्रदेशबाट सात जना तथा महिला, मधेसी, जनजाती र दलित एक-एक जना गरी ११ उपाध्यक्ष बनाउन प्रस्ताव गरिएको हो ।
यसैगरी सात प्रदेशबाट सात जना तथा महिला, मधेसी, जनजाती, दलित र काठमाडौं उपत्यकाबाट एक-एक जना गरी १२ जना सहमहामन्त्री बनाउन प्रस्ताव गरिएको छ । अध्यक्षसहित महामन्त्री र कोषाध्यक्ष एक-एक जना रहनेछन् ।
३ जना उपाध्यक्ष, एक जना महामन्त्री र ४ जना सहमहामन्त्री मनोनित गरिनेछ । मनोनित गर्दा निर्वाचित केन्द्रीय सदस्यबाट मात्र गर्ने प्रस्ताव बैठकमा पेश गरिएको छ ।
प्रतिक्रिया 4