२७ जेठ, चितवन । चितवन प्रहरीको एक टोलीले मालपोत कार्यालय चितवनभित्र विचौलिया गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।
बुधबार कार्यालयको भित्र पसेर सर्वसाधारणलाई विचौलिया गरेको अवस्थामा सुजन ओझा, तुलसीराम पोख्रेरल र सागर सापकोटालाई पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसअघि मङ्गलबार पनि दुई जनालाई पक्राउ गरिएको थियो । बुधबार प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, राष्ट्रिय अनुसन्धान चितवनका प्रमुख माधव तिमल्सिना र प्रहरी प्रमुख वसन्त कुँवरसहितको टोलीले गरेको अनुगमनको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
हामीले एक महिनायता कारबाही सुरु गरी विभिन्न निकायमा निगरानी राख्ने काम गरिरहेका थियौँ– प्रहरी प्रमुख कुँवरले भने । जनतालाई हैरान पर्ने र जनता लुट्ने गुनासाका आधारमा यो कारबाही जारी रहने उनको भनाइ छ ।
विशेष गरेर सरकारी कार्यालय, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा सर्वसाधारणलाई विचौलियाले हैरानीसँगै दुःख दिन थालेपछि जिल्ला प्रहरी कार्यालय चितवनले विचौलिया कारबाही सुरु गरेको प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए ।
प्रहरी उपरीक्षक कुँवरका अनुसार पक्राउ परेकालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाई आवश्यक कारबाही गरिनेछ । त्यसअघि चितवनको क्यान्सर अस्पतालमा विचौलिया गर्ने, जिल्ला प्रशासन कार्यालयबाट तीन जना र मालपोत कार्यालय चितवनबाट दुई जनालाई चितवन प्रहरी पक्राउ गरी मुद्दा चालाएको जनाइएको छ ।
प्रतिक्रिया 4