धुलो, धुवा तथा प्रदुषणका कारण काठमाडौं शहरमा रोगको जोखिम बढ्दो छ । अधिकांस मानिस कुन न कुनै प्रकारका समस्याले ग्रस्त छन् ।
कुनै बिमारीले छुनासाथ झट्टै औषधि पसलमा गएर औषधि किन्ने हाम्रो बानी छ । अलि सन्चो हुनासाथ औषधि खान छोडिहाल्छौं । तर, चिकित्सकको सिफारिस बिना औषधि किनेर सेवन गर्नु र डोज नपुगिकन छोड्नु दुबै स्वभाव हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
निको भयो भन्दैमा डोज नपुर्याई औषधि खान छाडियो भने रोग बल्झिने खतरा अत्यधिक हुन्छ । यसले तपाईंको शरीरमा भएको रोगसित लड्ने प्रतिरोधात्मक क्षमतामा समेत ह्रास आउने छ । परिणामस्पवरुप पहिले २५ एमजीले काम गर्ने तपाईको शरीरले अब ५० एमजीको औषधी खोज्न थाल्छ ।
डाक्टरको सिफारिसबिना मनपरी औषधि सेवनले रोगको लक्षण परिवर्तन गरिदिन सक्छ । खासगरी औषधि पसलेको सफारिसमा एन्टिवायोटिक लगायतको कडा औषधि सेवन गर्दा त्यसले केही दिनका लागि त समस्या सामाधान गर्छ । सँगसँगै रोगको लक्षण परिवर्तन गरी रोगको स्वरुप नै बदलिदिन्छ ।

जब विरामीलाई उनीहरुले खाने औषधिले काम नगरेको आभास हुन्छ, अनिमात्र उनीहरु चिकित्सककहाँ आउँछन् र रोग निको भएन भन्छन् । डाक्टरले ‘नाडी’ छामेको भरमा रोग पत्ता लगाइदियोस् भन्ने ठान्छन् । जुन असम्भव छ ।
अहिले विरामीहरु आफै जान्ने हुन्छन् । त्यसैगरी रोगहरु पनि नयाँ-नयाँ देखा पर्न थालेका छन् । यस्तो समयमा कुनै पनि रोेगको राम्ररी जाँच नगरी विरामीलाई यही समस्या भएको हो भनेर किटान गर्न सक्ने अवस्था हुँदैन ।
अझ कतिपय अवस्थामा त विरामीले भनेको र चिकित्सकले पाएका रोगका जिवाणु वा लक्षण नै मेल खाँदैनन् । त्यसबेला उपचारमा थप जटिलता सिर्जना हुुन्छ । यसबाट बच्न विनासल्लाह हचुवाको भरमा कुनै पनि औषधि सेवन नगर्नु नै उपयुक्त हुन्छ ।
नत्र विरामीको उपचारका निम्ति नचाहँदा नचाहँदै पनि चिकित्सकले महँगो र कडा औषधि दिनुपर्ने हुन्छ । यतिसम्म की कुनै पनि औषधिले काम नगरेको अवस्थामा उसलाई अस्पताल भर्ना गरेर इन्जेक्सन दिनुको विकल्प हुँदैन । साथमा किड्नीमा समस्या हुने, मुटुमा संक्रमण हुने लगायतका दीर्घकालीन रोगका जोखिम बढेर जान्छ ।
(कुराकानीमा आधारित)