२८ जेठ, काठमाडौं । राणा शासन ढलेपछि चन्द्रसमशेरदेखि बबरसमशेरसम्मका निजी घरहरु राज्यले नियन्त्रणमा लियो । ती घरमा अहिले सरकारी कार्यालयहरु राखिएका छन् । तर, कतिपय राणाकालीन घरहरु राज्यको नियन्त्रणमा आएनन् । त्यस्ता घरमा यतिबेला निजी होटल सञ्चालन गरिएका छन् ।
काठमाडौंमा सय वर्षभन्दा पुराना आधा दर्जन राणाकालीन दरबारलाई लक्जरी होटलमा परिणत गरिएको छ । जुन होटलमा पर्यटकको बढी आकर्षण देखिएको छ । पुरानो दरबारलाई रिनोभेसन गरेर हेरिटेज होटल बनाइएको छ ।
पुरानो दरबारलार्इ रेक्ट्रोफिटिङ गरेर बलियो बनाइएको र दरबारको स्वरुप नबिग्रिने गरी रिनोभेसन गरेर होटल सञ्चालनमा ल्याएको बरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले अनलाइनखबरसँग बताए । उनले पुरानो दरबार रिनोभेसन गरेर काठमाडौं गेष्टहाउस र माया म्यानोर होटल खोलेका छन् ।
राजधानीको लाजिम्पाटमा सञ्चालित चारतारे शंकर होटलको भवन १२२ वर्ष पुरानो भयो । स्वर्गीय रामशंकर श्रेष्ठले जीत समसेर जंगबहादुर राणासँग दरबार किनेर लक्जरी होटल सञ्चालनमा ल्याएका हुन् । अहिले यो होटल काठमाडौंकै उत्कृष्ट हेरिटेज होटल बन्न सफल भएको छ ।
‘हामीले पुरानो दरबार बचाएर हेरिटेज होटल बनाएका छौं’ पर्यटन व्यवसायी शाक्यले भने- ‘यस्ता सम्पदाहरुले पर्यटकलाई तत्कालिन अवस्थाको बारेमा जानकारी गराउँछन् ।’ अरु मुलुकहरुले पनि पुराना सम्पदाको जगेर्ना गरी पर्यटक आकषिर्त गरिरहेको उनको भनाइ छ ।
विदेशी पर्यटकले दरबारको निकै रहर गर्ने शाक्यले बताए । पर्यटकले सम्बन्धित देशको इतिहास थाहा पाउन खोज्ने गरेको बताउँदै उनले भने- ‘पुराना सम्पदाहरु जोगाउन सकियो भने यसले तत्कालीन वस्तुस्थिति झल्काइदिन्छ ।’
मोटो रकम खर्च गरेर आधुनिक भवन बनाउन सकिए पनि पुराना सम्पदाहरु बनाउन सकिँदैन । यस्ता सम्पदाहरुको जगेर्ना गरेर पर्यटक आकषिर्त गर्नुपर्ने व्यवसायीको भनाइ छ । ‘पैसाले पुरानै देखिने दरबार बनाउन सकिएला, तर जीवन्त दरबार बनाउन सकिँदैन’ शाक्यले भने- ‘त्यही भएर पुरानो दरबार जोगाएर होटलमा परिणत गरेको हुँ ।’
पुरानो दरबारलाई रिनोभेसन गरेर आकषिर्त बनाइएको छ । यस्ता होटलमा पुग्ने पाहुनाले छुट्टैखालको अनुभव प्राप्त गर्ने व्यवसायीको दाबी छ । पुरानो दरबार रिनोभेसन गरेर पाँचतारेसम्मका होटल बनाइएको छ ।
हामीले काठमाडौंमा पुरानो दरबार रिनोभेसन गरेर बनाइएका लक्जरी होटलका बारेमा जानकारी गराउन गइरहेका छौं । जुन यस प्रकार रहेका छन् :
शंकर होटल
राजधानीको लाजिम्पाटमा रहेको होटल शंकर चारतारे लक्जरी होटल हो । जीत समशेर जंगबहादुर राणाको दरबार स्वर्गीय रामशंकर श्रेष्ठले खरिद गरेर सन् १९६४ मा तारे होटलमा परिणत गरे ।
यो दरबार सन् १८९४ मा आर्किटेक इञ्जिनियर कुमार नरसिंह राणाले बनाएका हुन् । सन् १९१३ मा जीत संमसेरको निधन भएपछि यो दरबार जुद्ध समशेरका छोरा अग्नि समसेरको नाममा गयो ।
स्वर्गीय ऐश्वर्या शाह, तत्कालीन अधिराजकुमारी प्रेक्षा राज्य लक्ष्मीदेवी शाह र पूर्वरानी कोमल शाहको जन्म पनि यही दरबारमा भएको थियो । स्वर्गीय श्रेष्ठले यो दरबार जीत सम्शेरसँग खरिद गरेका हुन् ।
पुरानो ऐतिहासिक दरबार रिनोभेट गरेर बनाइएको शंकर होटलमा ९४ वटा रुम छन् । अहिले ८४ रुम सञ्चालनमा छन् । १० वटा रुमहरुको रिनोभेसन भइरहेको होटल व्यवस्थापनले जानकारी दियो ।
भूकम्पपछि यो होटलको रिनोभेसन भइरहेको छ । होटलको बाहिरी भाग, लवी, र सभा हलको रिनोभेट भइरहेको छ । यो होटलमा ११ वटा डिलक्स स्वीट रुम र ८३ वटा स्टान्डर्ड रुम छन् ।
स्वीट रुममा बस्नका लागि प्रतिरात कर बाहेक १२५ देखि १३० अमेरिकी डलरसम्म तिनुपर्छ । स्टान्डर्ड रुमको मूल्य सिंगल बेडको ८० डलर र डबल बेडको ८५ डलर छ ।
यो होटलले अहिले स्थापनाको ५० औं वर्षगाँठ मनाइरहेको छ । लक्जरी हेरिटेज शंकर होटलमा अहिले २५० र १५० जना क्षमताका दुईवटा सभाहल सञ्चालनमा छन् । अर्को १५० जना अटाउने सभाहलको पुनर्निर्माण भइरहेको छ ।
काठमाडौं गेष्ट हाउस
राजधानीको पर्यटकीय केन्द्र ठमेलमा रहेको काठमाडौं गेष्ट हाउस राणाहरुको दरबार रिनोभेसन गरेर सञ्चालन गरिएको हो । आर्किटेक इञ्जिनियर कुमारनरसिंह राणाले आफ्नो लागि यो दरबार बनाएको बरिष्ठ पर्यटन व्यवसायी शाक्यले बताए ।
शाक्यका अनुसार कुमार नरसिंहले नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार समेत बनाएका हुन् । काठमाडौं गेष्ट हाउस भएको दरबार करिव सय वर्ष पुरानो हो ।
शाक्यले करिव ४५ वर्षअघि यो दरबारमा काठमाडौं गेष्ट हाउस खोलेका हुन् । जुन अहिले ठमेलको आत्मा बनिरहेको छ । यो होटलमा पनिले १२६ वटा रुम थिए । गत वर्ष गएको भूकम्पले एउटा भाग भत्काएपछि अहिले १०५ रुमहरु सञ्चालनमा छन् ।
होटल परिसरमै पुरानो दरबारको स्वरुपमा नयाँ भवन बनाएर ३२ वटा रुम थप्ने काम भइरहेको शाक्यले जानकारी दिए । भूकम्पले भत्किएको भवन पन्छाएर अहिले त्यहाँ स्वप्न बगैंचा बनाइएको छ, जसले पर्यटकलाई मोहित बनाउँछ ।
माया म्यानोर
पर्यटन व्यवसायी शाक्यले काठमाडौंको हात्तिसारमा रहेको ९५ वर्ष पुरानो दरबार रिनोभेसन गरेर हालैमात्र माया म्यानोर होटल सञ्चालनमा ल्याएका छन् । यो बलराम समशेरको दरबार हो । यसअघि शाक्य यहीँ बसोबास गर्दै आएका थिए ।
शाक्यले बलराम समशेरसँग सन् १९७५ सालमा यो दरबार किनेको बताए । उनले भिक्टोरियन शैलीको दरबारलाई रिनोभेसन गरेर तथा छेवैमा उस्तै देखिने नयाँ भवन बनाएर माया म्यानोर होटल खोलेका हुन् ।
माया म्यानोरमा ४६ वटा रुम छन् । जहाँ लेखक, कलाकार, गीतकार, नेपाली कला मन पराउने विशिष्ट पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । ‘माया म्यानेरामा भाइब्रेसन क्रियट गराउँछु’ शाक्यले अनलाइनखबरसँग भने- ‘एक पटक आएका पर्यटक होटलमा बारम्बार आउन् भन्ने हाम्रो चाहाना छ ।’
होटललाई जीवन्त बनाउन खोजिरहेको उनको भनाइ छ । यसलाई इतिहासको रुपमा संरक्षण गर्न थालेको उनले बताए । उनले सन् १९७५ सालमा शाक्यले ३ लाख २७ हजार रुपैयाँमा तीनआना जग्गासहित यो दरबार किनेका थिए ।
याक एण्ड यति होटल
याक एण्ड यति पाँचतारे लक्जरी होटल हो । यस होटलमा देखिने ‘फ्रन्ट फेस’ पुरानो दरबार हो । लालदरबारको रिनोभेसन गरेर होटलले आफ्नो ब्राण्डिङ गरिरहेको छ । यो होटलको मुख्य आकर्षण भनेकै दरबार हो ।
सभाहल, क्यासिनो, दुईवटा रेष्टुरेन्ट, ब्याङ्क्वेट रुम पुरानो लाल दरबारमा बनाइएको छ । लालदरबारमा रहेको सभाहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरु भइरहन्छन् । होटलका रुम तथा अन्य सेवाहरु भने नयाँ भवनमा रहेका छन् ।
करिव सय वर्षअघि तत्कालीन प्रधानमन्त्री बीरसमसेरले लालदरबार बनाएका थिए । आज यही दरबार देखाएर याक एण्ड यतिले दरबार होटल भनेर ब्राण्डिङ गरिरहेको छ ।
याक एण्ड यतिमा २७० वटा रुम छन् । यी रुमलाई डिलक्स, हेरिटेज डिलक्स, क्लव सांगि्रला एक्सक्लुसिभ र स्वीट्स गरी चार वर्गमा विभाजन गरिएको छ ।
होटलमा टेनिस कोर्ट, स्वीमिङ पुल, साउना, ज्याकुजी, फिटनेस सेन्टर, स्पा लगायतका सेवा सुविधा छन् ।
डिल्लीबजार भोजन गृह
पर्यटन व्यवसायी भरत बस्नेतले करिव सय वर्ष पुरानो दरबार रेनोभेट गरी भोजन गृह सञ्चालन गरिरहेका छन् । डिल्लीबजारमा रहेको तत्कालीन बडागुरु ज्यूको दरबार किनेर उनले सन् १९९८ को सेप्टेम्बरदेखि भोजनगृह सुरु गरेका हुन् ।
यहाँ नेपाली कला, संस्कृति र खानाको स्वाद लिन सकिन्छ । पर्यटकमाझ नेपाली संस्कृतिकै प्रवर्द्धन गर्ने उद्देश्यले भोजनगृह सुरु गरेको बस्नेत बताउँछन् । भवनको ऐतिहासिक महत्व देखेर यसलाई होटलको स्वरुपमा ढालेको उनले बताए ।
बस्नेतले करिव डेढ वर्ष लगाएर दरबारको जीर्णोद्धार गरी भोजनगृह सञ्चालन गरेको बताए । उनले भोजनगृहलाई आफ्नो व्यवसायिक सम्पत्तीभन्दा पनि राज्यका लागि नमूना बनाउन चाहेको बताए ।
प्रतिक्रिया 4