Comments Add Comment

सत्यनिरुपण आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पाँच पूर्व प्रधानमन्त्रीविरुद्ध उजुरी

gyanendra1

३० जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पाँचजना पूर्वप्रधानमन्त्रीमाथि कारवाहीको माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ ।

द्वन्द्वका बेला नेपाली सेनाले २७ महिनासम्म बेपत्ता अवस्थामा राखेका माओवादी केन्द्रका नेता केसीले आइतबार आयोगमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवामाथि कारवाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

०५२ सालको फागुन महिनामा जनयुद्ध सुरु भएदेखि ०६२/६३ को जनआन्दोलनसम्मका सरकारका प्रधानमन्त्री र शाही कदममार्फत सत्ता हातमा लिएका पूर्वराजा ज्ञानेन्द्र शाह युद्धकालका प्रमुख दोषी भएको नेता केसीले आयोगका अध्यक्ष सूर्यकिरण गुरुङलाई बुझाएको उजुरीमा उल्लेख छ ।

केसीले पूर्वराजा र पूर्वप्रधानमन्त्रीहरुविरुद्ध खुलारुपमा उजुरी दर्ता गर्नु महाभारत युद्ध लड्नुजस्तै भएको भन्दै आयोगका अध्यक्ष गुरुङसमक्ष द्वन्द्वकालका घटना निष्पक्षपूर्वक छानविन गर्न र दोषीमाथि कठोर दण्ड सजायको सिफारिस गर्न आग्रह गरे ।

०६० साल भदौ २७ गते काठमाडौको मनोहरा पुलबाट पक्राउ परेका केसीलाई नेपाली सेनाले भैरवनाथ गण र काठमाडौ उपत्यकाका विभिन्न सैनिक ब्यारेक तथा गोरखाको महेन्द्र दल गणमा ८ सय १० दिनसम्म बेपत्ता अवस्थामा राखेको थियो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनाबारे उजुरीका लागि असार २ गतेसम्मको समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment