Comments Add Comment

आधिकारिक ट्रेड युनियनका महासचिवमा देवकोटा

३० जेठ, काठमाडाैं । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको महासचिवमा अध्यक्ष सुबोधकुमार देवकोटालाई पठाउने निर्णय गरेको छ ।

Subodh-Kumar-Devkotaआधिकारिक ट्रेड युनियनका महासचिवमा अध्यक्ष देवकोटालाई पठाउने सर्वसम्मत निर्णय भएको र आवश्यक छलफल गरेर अन्य छ सदस्यको नामावली पनि छिट्टै टुङ्ग्याइने सङ्घका केन्द्रीय सदस्य विश्वबन्धु रेग्मीले जानकारी दिए ।

यही जेठ १९ गते भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो र ट्रेड युनियनको निर्वाचनमा नेपाली काँग्रेस निकट सङ्घ दोस्रो भएको थियो । निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन तेस्रो भएको थियो ।

नेपाल निजामती कर्मचारी नियमावलीअनुसार केन्द्रमा तीन सङ्गठन निर्वाचित भएका अवस्थामा पहिलो हुनेले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र आठ सदस्य, दोस्रो हुनेले महासचिव र छ सदस्य, तेस्रो हुनेले सचिव र दुई सदस्य पाउने आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यालयका प्रवक्ता सन्तोषकुमार गिरीले बताउनुभयो ।

निर्वाचन कार्यालयले यही जेठ २४ गते निर्वाचित सङ्गठनलाई पत्र पठाएर १५ दिनभित्र संस्थाको बहुमतबाट पारित गरी आआफ्ना सङ्गठनका तर्फबाट नामावली पठाउन आग्रह गरे पनि आजसम्म कसैले नाम नपठाएको प्रवक्ता गिरीले जानकारी दिए ।

पचहत्तर जिल्ला र ४२ विभागका गरी ११७ स्थानका लागि निर्वाचन भएको थियो । निर्वाचनमा कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका निजामती कर्मचारीले मतदान भाग लिएका थिए ।

निर्वाचनमा खसेको कुल मतको १० प्रतिशत मतसीमा ल्याउनुपर्ने व्यवस्था गरिएकाले नेपाल मधेसी निजामती कर्मचारी मञ्च चौथो भएर पनि केन्द्रमा निर्वाचित हुन सकेन । आधिकारिक ट्रेड युनियनको केन्द्रीयस्तरमा १६ सदस्यीय कार्यसमिति र जिल्ला तहमा छ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ । ट्रेड युनियनको कार्यकाल चार वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment