Comments Add Comment

२० लाख पारिश्रमिक लिदै अनमोल बने सर्वाधिक महंगो हिरो, बन्ने भयो ‘कृ’

subash and anmol agrement
अनमोल केसी सर्वाधिक महंगो नायक बनेका छन् । एक नयाँ चलचित्रको लागि आज औपचारिक संझौता गरेपछि अनमोल नेपाली कलाकारमा सबैभन्दा महंगो पारिश्रमिक लिने नायक बनेका छन् । उनले निर्माण हुन लागेको नयाँ चलचित्र ‘कृ’का लागि २० लाख पारिश्रमिक लिएका छन् ।

द सुपर काजोल फिल्मस्को प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको निर्माणमा यो चलचित्र बन्नेछ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । जसले यसअगाडि चलचित्र ‘आभाष’ निर्देशन गरेका थिए । चलचित्रमा श्री पराजुली सह–निर्माता र कमल गिरी कार्यकारी निर्माताको रुपमा रहनेछन् ।

सुवास इन्टरटेन्मेन्टको तर्फबाट निर्माता सुवास गिरी र नायक अनमोल केसीले संझौता पत्रमा हस्ताक्षर गरेका छन् । संझौतासँगै अनमोलले काम गर्ने पाँचौ चलचित्र पक्का भएको छ । लगातार ४ वटा चलचित्र चलेपछि अनमोलको स्टारडम अहिले आकासिएको छ ।

यो चलचित्रका लागि आफूले ६ महिनाको समय मागेको अनमोलले बताए । उनले भने–‘६ महिना पूर्ण रुपमा अन्डर ग्राउन्डेड बनेर तयारी गर्नेछु ।’ अनमोलले आफूलाई निर्माताले अफर गरेर यति पारिश्रमिक लिएको भन्दै आफू लक्की भएको बताए । उनले मिडियासँग भने–‘म आफ्नो भविष्यलाई कसरी डिमाण्डेड बनाउ“ भनेर पनि सोच्छु । साथमा निर्माता पनि सन्तुष्ट हुनुपर्छ भन्ने मान्यता राख्छु ।’

अनमोलले चलचित्रमा संझौता गरेपछि अब होम प्रोडक्शनको निर्माणमा बनेको चलचित्र ‘ड्रिम्स’ शोका लागि अमेरिका पनि नजाने बताएका छन् । उनले राम्रो कथावस्तु छ भने आफूले यो भन्दा कम रकममा पनि काम गर्ने खुलाए । आफूले पैसा भन्दा पनि कथावस्तु हेर्ने गरेको अनमोलको भनाई थियो । उनले चलचित्र ‘कृ’को क्यारेक्टरलाई पर्दामा प्रमाणित गरेर देखाउने  पनि बताए ।

यता, निर्माता सुवास गिरीले अनमोलको पारिश्रमिक भन्दा पनि उसको पात्रलाई हेरेर महंगो रकम दिएको बताए । यसमा अनमोलको स्टारडमले पनि काम गरेको उनको भनाई थियो । सुवासले यो प्रोजेक्ट अरु भन्दा फरक हुने बताए । चलचित्रको प्रस्तुतीलाई विशेष बनाउन लागिपर्ने भन्दै उनले यसको बजेट पनि सामान्य चलचित्रको भन्दा धेरै हुने बताए । नायक तथा निर्माता भूवन केसीले सुवास गिरी एक चलेको र राम्रो मेकर भएकाले पनि चलचित्रमा टिमअप गरेको बताए ।

‘कृ’को अर्थ बदला लिनु हो । निर्देशक पौडेलले भने–‘कृ’ एउटा संकृत शब्द हो । संकृत भाषाको पनि जगेर्ना गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो चलचित्रमा अनमोलले अहिलेसम्म नगरेको भूमिका हुनेछ ।’

फागूनबाट छायांकन हुने चलचित्रले नेपाली चलचित्र क्षेत्रमा एउटा उचाई बनाउने निर्माताद्धय सुवास गिरी र भूवन केसीको विश्वास छ । राम्रो चलचित्र बनाउनका लागि दुई ब्यानरविच टिमअप गरेको सुवास र भूवनले बताए ।

यसअघि ‘नोभेम्बर रेन र क्लासिक’ बनाएका सुवास र ‘ड्रिम्स’ जस्तो सफल चलचित्र बनाएको द सुपर काजोल फिल्मस्को टिमअपले चलचित्रप्रति दर्शकको उत्सुकता सुरुबाटै बढ्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment