३१ जेठ, काठमाडौं । मलेसियामा ज्यान गुमाएका नेपालीहरु मध्ये झण्डै ७० प्रतिशतलाई हृदयघात भएको पाइएको छ ।
गत वर्ष ४ सय ६१ जनाको मृत्यु भएको रिपोर्ट आएको नेपाली दूतावासले जनाएको छ । र, ७० प्रतिशतको मृत्युको कारण हृदयघात भएको नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले बताए ।
उनका अनुसार लामो समयसम्म काम गर्ने, विशेष गरेर तातो घाममा काम गरेकाले हृदयघात हुने गरेको छ ।
३० प्रतिशतको मृत्यु भने कार्यक्षेत्रमा हुने दुर्घटना, अत्यधिक मदिरा सेवन र आत्महत्याका कारण हुने गरेको छ ।

राजदूत बस्न्यातका अनुसार सन् २००५ देखि अहिलेसम्म (१० वर्षमा) २ हजार ९४५ जना नेपाली कामदारको मृत्यु भएको छ ।
‘नेपालीहरु विदेश आएर कडा श्रम गर्छन्, आफ्नो स्वास्थ्यको ख्याल गर्दैनन्,’ नेपाली राजदूत बस्न्यातले द स्टारसँग भनेका छन् ।
नेपालीहरुको मृत्युको अर्को कारण अत्यधिक मात्रामा मदिरा सेवन पनि रहेको छ । केहीले भने तनाव र मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेका छन् । भनेको जस्तो पैसा कमाउन नसक्दा र विदेश जाने बेला लिएको ऋण तिर्न नसक्दा धेरै नेपाली मानसिक तनावमा पर्ने गरेको पाइएको छ ।
मलेसियामा ८ लाख नेपाली कामदार रहेको अनुमान छ ।