+
+
Shares

गैरविद्यार्थी प्रतिनिधिले नेविसंघमा भद्रगोल

छानविन नभए आन्दोलन गर्छौं, महाधिवेशन पनि हुँदैनः काफ्ले

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १ गते १४:३८

१ असार, काठमाडौं । साउन २३ देखि २५ गतेसम्म ११ औं महाधिवेशनको तिथि निश्चित गरेको नेपाल विद्यार्थी संघले भृकुटीमण्डप बुक गरेको छ तर महाधिवेशनको पूर्वसन्ध्यामा प्रतिनिधि छनोट भने विवादित बनिरहेको छ ।

Nebisanghअधिवेशनमार्फत छानिएका प्रतिनिधिहरुमा धेरै गैरविद्यार्थीहरु भएको भनेर विवाद चुलिएको हो । विभिन्न जिल्लाहरुबाट महाधिवेशन प्रतिनिधि बनेर आएकाहरु गैरविद्यार्थी भएको भेटिएपछि महाधिवेशनको तयारीमा जुटेको नेविसंघमा भद्रगोल भएको छ ।

यसअघि काठमाडौंस्थित क्याम्पसका नेविसंघ नेताहरुले भेला नै गैर विद्यार्थीहरुलाई प्रतिनिधि नबनाउन दवाव दिने निर्णय गरेका थिए ।

छानविन नभए महाधिवेशन हुँदैनः काफ्ले

नेविसंघका एक नेताका अनुसार अहिलेसम्म महाधिवेशन प्रतिनिधिका रुपमा छानिएका २ हजार जनामध्ये ५ सयभन्दा बढी गैरविद्यार्थी भेटिएका छन् । कलेज नै नभएका जिल्लाहरुबाट महाधिवेशन प्रतिनिधि बनाउनेदेखि सिटिइभिटी नभएका जिल्लाहरुबाट समेत सो संस्थाको प्रतिनिधि छनोट गरिएको ती नेताको भनाई छ ।

‘रामेछाप, जाजरकोट लगायतका जिल्लाहरुमा सिटिइभिटीका स्नातक तहका कलेजहरु छैनन्, तर ती जिल्लाहरुबाट पनि सिटिइभिटीका महाधिवेशन प्रतिनिधि भन्दै मान्छेहरु ल्याइएको छ,’ नेविसंघकै एक नेताले भने ।

त्यसो त कतिपय कलेजै नभएका जिल्लाहरुबाट समेत महाधिवेशन प्रतिनिधिहरु छानिएका छन् । सल्यानमा पाँचवटा कलेजबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् जबकि त्यहाँ २ वटा कलेजमा मात्रै स्ववियु गठन भएको छ । यस्ता थुपै्र नक्कली प्रतिनिधिहरु आएको भेटिएपछि साउनमा नेविसंघको महाधिवेशन हुनेमा शंका उत्पन्न भएको असन्तुष्ट नेताहरु बताउँछन् ।

पाँचथर, इलाम, सल्यानलगायतका जिल्लाहरुबाट पनि गैरविद्यार्थीहरुलाई महाधिवेशन प्रतिनिधि बनाएर ल्याएको भेटिएको छ । महाधिवेशनको लागि बनाइएको रञ्जित कर्ण र ऋषिकेशजंग शाहको संयन्त्रले नै गैरविद्यार्थीहरुलाई महाधिवेशन प्रतिनिधि बनाएको आरोप नेविसंघमा लागेको छ ।

अहिलेलाई मिति तोकिएको भए पनि प्रतिनिधिको विषयमा छानविन भएन भने हामी आन्दोलनमा जान्छौं, महाधिवेशन पनि हुन सक्तैन- कुन्दन काफ्ले

अध्यक्षका  प्रत्यासी समेत रहेका कुन्दन काफ्लेले महाधिवेशन प्रतिनिधिमा गैरविद्यार्थी हावी भएको बताए । उनले भने, ‘विगतमा पनि नेविसंघमा नभएकाहरु प्रतिनिधि बन्ने गरेका थिए, तर यसपटक पेशा नै अलग भएका र विद्यार्थी राजनीतिसँग सरोकारै नभएकाहरुलाई पनि प्रतिनिधि बनाएको भेटिएको छ ।’

यदि प्रतिनिधि बनेर आएका गैरविद्यार्थीहरुमाथि छानविन भएन भने महाधिवेशन हुन नसक्ने उनको भनाई छ । काफ्लेले भने, ‘अहिलेलाई मिति तोकिएको भए पनि प्रतिनिधिको विषयमा छानविन भएन भने हामी आन्दोलनमा जान्छौं, महाधिवेशन पनि हुन सक्तैन ।’

कतिपय जिल्लामा अधिवेशन नै भएको छैन

साउनमा केन्द्रीय महाधिवेशन हुने भनिए पनि कतिपय जिल्लाहरुमा नेविसंघ  महाधिवेशन हुन सकेको छैन । जसले साउनमा महाधिवेशन हुन नसक्ने नेविसंघकै नेताहरु बताउँछन् । ठूला भनिएका जिल्लाहरु, कास्की, रुपन्देही, धनुषा, पर्सा, सुर्खेतलगायतका जिल्लाहरुमा महाधिवेशन हुन सकेको छैन ।

नेविसंघका अहिलेका केन्द्रीय पदाधिकारीहरु नै महाधिवेशन नगराउने दाउँमा लागेको आरोप लागिरहेको छ । करिब ४ वर्षअघि रञ्जित कर्णको नेतृत्वमा गठनमा भएको केन्द्रीय समितिका पदाधिकारीहरुलाई ११ औं महाधिवेशनमा उठ्न नपाउने भन्ने सर्त राखिएको थियो ।

तर अहिलेका केन्द्रीय समितिमा रहेका कतिपय नेताहरुले फेरि पनि नेविसंघ छाड्न नखोज्नु महाधिवेशन नहुने अर्को कारण बनिरहेको नेताहरु बताउँछन् । महाधिवेशन हुन नदिने र टीका लगाएर नेविसंघको नेतृत्व लिने दाउँमा लागेकाहरुका कारण नेविसंघको महाधिवेशन नहुने सम्भावना बढिरहेको नेताहरु बताउँछन् ।

महाधिवेशन हुने र नहुने चर्चा चलिरहँदा नेविसंघको नेतृवत्का लागि कुन कांग्रेस नेताले कसलाई साथ दिएका छन् भन्ने हिसाब-किताब पनि भैरहेको छ । कुन्दन काˆले, जितजंग बस्नेत, नैनसिंह महर, मनोजमणी आचार्य, दिपक भट्टराई, निलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, केदार कार्की लगायतका नेताहरु नेविसंघ अध्यक्षका दावेदार हुन् ।

भविष्य अन्यौलमा पर्‍योः नेताहरु

पार्टीका शिर्ष नेताहरुले नेविसंघको महाधिवेशनलाई गम्भिरताका साथ नलिँदा आफूहरुको राजनीतिक भविष्य नै अन्यौलमा परेको नेविसंघ नेताहरु बताउँछन् । नियमित महाधिवेशन नहुँदा जिल्ला र क्याम्पसमा राजनीति गरिरहेका नेताहरु माथि उक्लिन नसकेको ग्रामिण बहुमुखी क्याम्पसका नेविसंघ इकाई अध्यक्ष सुशील भट्टले गुनासो गरे ।

उनले भने, ‘नेविसंघको लागि भनेर कलेज जीवनमा राजनीति गरियो, लामो समय महाधिवेशन नभएपछि हाम्रो राजनीतिक जीबनलाई अवरोध गरिरहेको छ ।’

छोराले विद्यार्थी राजनीति गर्न बेलामा पनि बाबुहरुले छाड्दैनन् भने नेविसंघ कसरी विद्यार्थीहरुको संगठन हुनसक्छ भन्ने उनले प्रश्न गरे ।

थापाथली इन्जिनियरिङ क्याम्पसका अध्यक्ष नारायण घिमिरेको पनि उस्तै दुखेसो छ । ‘समयमा महाधिवेशन हुन नसक्दा हाम्रो मात्रै होइन पार्टीलाई नै नोक्सान हुन सक्छ । भोलिका नेता जन्माउने मूल नै बन्द हुन थालेपछि कांगे्रसले कसरी गतिलो नेता जन्माउन सक्छ ?’ उनको प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?