Comments Add Comment

ओली सरकार ढाल्न खोज्नु राष्ट्रिय अपराध: मदन रेग्मी

'४६ सालयताका राष्ट्रवादी प्रधानमन्त्री ओली'

१ असार, काठमाडौं । विगतमा केपी ओलीका कडा आलोचक थिए मदन रेग्मी । विशेषगरी महाकाली सन्धिको बेलामा खेलेको भूमिकालाई लिएर उनले ओलीप्रति आलोचनात्मक दृष्टिकोण राख्दै आए ।

Madan-Regmiतर, यतिबेला उनै मदन रेग्मी उनै ओलीको प्रशंसक बनेका छन् । चीन अध्ययन केन्द्रका अध्यक्ष रेग्मी प्रष्ट शब्दमा भन्छन्, ‘म पहिलोपटक कुनै नेतालाई यसरी प्रशंसा गर्दैछु । पञ्चायत ढलेर प्रजातन्त्र आएयता यति राष्ट्रवादी नेतृत्व मैले देखेको थिइनँ ।’

राष्ट्रियताका सन्दर्भमा ओलीले लिएका दृढ अडानहरुले गर्दा आफू उनको प्रशंसक बन्न पुगेको रेग्मीले अनलाइनखबरसँग बताए । नेपालमा भारतको लामो समयदेखिको दवदवालाई ओलीले निस्तेज गरेको र चीनसँग न्यानो सम्वन्ध विकास गरेको उनको बुझाई छ ।

‘हुन त महाकाली सन्धिको बेलामा पनि ओलीलाई सम्पुर्ण दोष दिन मिल्दैन, किनकी उनी निणर्ायक भूमिकामा थिएनन्,’ रेग्मीले भने, ‘तर, सन्धिलाई जबरजस्त समर्थन गरेको कारण मैले उनको आलोचना गर्दै आएँ । आज आएर मैले उनलाई फरक अवतारमा पाएको छु । म भित्रैदेखि उनीसँग खुशी छु । म मात्रै होइन, नेपालभित्र रहेका प्रोइन्डियन तत्वहरुबाहेक सबै नेपाली ओलीसँग खुशी छन् ।’

ओली कहिलेबाट रुपान्तरण भएको पाउनुहुन्छ भन्ने प्रश्नमा उनले पार्टीको परराष्ट्र विभाग सम्हालेदेखि उनलाई आफूले फरक रुपमा देख्न थालेको बताए ।

‘मैले त्यतिबेलादेखि उनीमा राष्ट्रवादी रुझान देखेको हुँ,’ रेग्मीले भने, ‘पछि परराष्ट्रमन्त्री बन्दा पनि उनले राष्ट्रहितका पक्षमा केही गर्न खोजका थिए, तर सकेनन् । जब उनी पार्टी र सरकारको नेतृत्वमा पुगे अनि बल्ल उनको राष्ट्रिताप्रतिको प्रतिवद्धता प्रबल रुपमा देखापर्‍यो ।’

भारत लत्रियो, चीन नजिकियो

नेपालको वर्तमान अवस्थामा ओलीभन्दा प्रभावकारी नेतृत्व अर्को भेट्न नसकिने रेग्मीले तर्क गरे । भारतले पनि ओलीको अगाडी लत्रिनु परेको उल्लेख गर्दै उनले भने, ‘भारतले आफ्नो देशमा निम्त्याएर ओलीलाई उच्च सम्मान दियो । विगतमा एउटा सहसचिव र सचिव विमानस्थलमा स्वागत गर्न पुग्नेमा ओलीलाई स्वागत गर्न विदेशमन्त्री नै पुगिन् । यो उसले ओलीलाई पगाल्नका निम्ति गरेको थियो, तर उनी पग्लिएनन् । फलस्वरुप भारत आफैं पछि हट्न वाध्य हुनुपरेको छ ।’

ओलीको पालामा नेपालको चीनको सद्भाव उच्च रुपमा बढेको उनले बताए । रेग्मीले भने, ‘चिनीया राष्ट्रपतिले राष्ट्रपति विद्या भण्डारीलाई पठाएको सन्देशमा नेपाल र चीनबीचको सम्वन्ध दाँत र ओठ जस्तो जस्तो रहेको उल्लेख गरेका छन् । यो शब्दावली आफैंमा काफी छ चीनको सद््भाव कति छ भन्ने महसुस गर्नलाई ।’

ओलीको सरकारलाई चीनले कुनै पनि हदसम्म गएर सहयोग गर्न सक्ने उनले आँकलन गरेका छन् । रेल मार्ग निर्माणदेखि पेट्रोलियम उत्खनन्सम्मका कार्यलाई चीनले गम्भीरतापूर्वक अघि बढाएको भन्दै उनले यी सबैको जस ओलीलाई जानुपर्ने बताए । उनले चीनका राष्ट्रपतिको आसन्न भ्रमणबाट नेपाल-चीन सम्वन्ध नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

तर, ओली डक्टि्रन सफल हुनमा कर्मचारीयन्त्र वाधक बन्नसक्ने रेग्मीले आशंका व्यक्त गरे । ‘नेपालको प्रशासनयन्त्र भारतपरस्त देखिन्छ,’ उनले भने, ‘ओलीले अघि बढाउन खोजेका कामहरुलाई प्रशासनयन्त्रले साथ दिन्छ भन्नेमा मलाई शंका छ ।’

सपना देख्नु जायज

ओलीले गरेका महत्वाकांक्षी भाषणहरुलाई पनि रेग्मीले सकारात्मक रुपमा लिएका छन् । उनी भन्छन्, ‘उहाँले प्रधानमन्त्री भएपछि जेजति कुराहरु बोल्नुभएको छ, कुनै पनि कुरा फाल्तु र काल्पनिक होइनन् । एउटा प्रधानमन्त्रीले राष्ट्रको भविष्यप्रति उज्यालो सम्भावना देख्नु र देखाउनु गलत हुँदै होइन ।’

ओलीको नेतृत्व लिएपछि एमालेलाई राष्ट्रवादी पार्टीका रुपमा उभ्याएको चर्चा गर्दै रेग्मीले भने, ‘एमालेका नेताहरुमा राष्ट्रवादी चिन्तन प्रगाढ देखिएको छ । आन्तरिक विवाद जेजस्ता भए पनि राष्ट्रियतासँग जोडिएका विषयमा सबै नेताहरुले ओलीलाई साथ दिएका छन् ।’

सरकार ढाल्न खोज्नु राष्ट्रिय अपराध

एमाले र एमाओवादीबीच भएको भनिएको भद्र सहमतिको विषयमा रेग्मीले आपत्ति जनाए । उनले यतिबेला सरकार परिवर्तनको प्रसंग नै आउन नहुने जिकिर गरे ।

‘सिंगो नेपाली जनता यही सरकारको निरन्तरताको पक्षमा छन् । यस्तो लोकपि्रय र राष्ट्रप्रेमी सरकारलाई ढाल्न खोज्नु पनि राष्ट्रिय अपराध हो ।’ उनले व्यापक जनसमर्थन पाएको यो सरकारलाई ढाल्नु सजिलो नभएको पनि जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment