Comments Add Comment

सहमतिको सरकारमा ओलीको विकल्प खुलाः मन्त्री राई

Sherdhan-Rai

२ असार, नेपालगञ्ज । नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमै राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् । अन्य कुनै दलको नेतामा सहमति जुटे आफूहरु बाधक नबन्ने स्पष्ट पार्दै उनले तर, अहिलको परिस्थितिमा ओलीको विकल्प नभएको जिकीर गरे ।

प्रेस चौतारी नेपाल बाँकेले नेपालगन्जमा बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले भने, ‘संविधान कार्यान्वयन र मुलुकको आर्थिक सम्बृद्धिको लागि सबै दलको सहमति कुनै दलको नेतामा हुनसक्छ भने पनि हामी बाधक हुदैनौं तर, त्यो अवस्था वर्तमान सन्दर्भमा देखिएको छैन । त्यसैले प्रधानमन्त्री ओलीको विकल्प छैन ।’

सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले अन्य दलका नेताहरु अधिकांश ‘टेस्टेड’ भएकाले कांग्रेस, मधेसवादी दलहरुले आफ्नो दलीय स्वार्थभन्दा पनि माथि उठेर संविधान कार्यान्वयन र राष्ट्रिय स्वाधिनताका लागि वर्तमान सरकार मै सामेल भएर अघि बढ्नुको विकल्प नभएको दावी गरे ।

आर्थिक विकास र जनताको स्वार्थलाई केन्द्रमा राखेर सरकार अघि बढेको उल्लेख गर्दै मन्त्री राईले सरकारले राष्ट्रिय सहमतिका लागि हदैसम्मको लचकता अपनाएको दाबी गरे । कांग्रेस र मधेसवादी दलहरुलाई जनताको स्वार्थलाई बुझेर सहमतिमा आउन उनले आग्रह गरे ।

संविधानमा असन्तुष्टि जनाउने तथा आन्दोलनरत दलहरुले यो पटक जनतालाई गुमराहमा राख्ने समय नै नदिएर औपचारीक वार्ताका लागि सरकारले पत्र सबैको हातमा पारेर भरपाई गराएको बताए ।

उनले भने, ‘अघिल्लो दुईपटक आन्दोलनरत मोर्चा र त्यसका घटकले सरकारले वार्ताको लागि आमन्त्रण गरेको पत्र बुझेर पनि पत्र पाएनौं, पत्र आएको छैन भनेर जनतामा भ्रम छर्ने कार्य हुँदै आएकोमा यो पटक बकाइदा बुझेको मिति र समयसमेत उल्लेख गरेर भरपाई गराएका छौं ।’

उनले सरकारले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गराउने गरी तयारी अघि बढाएको जानकारी पनि दिए । सरकारले सबैको सहमति खोजेर संघीय संरचनाको आधारमा स्थानीय तहको निर्वाचन गराउने मन्त्री राईको भनाइ छ । त्यसका लागि निर्वाचन आयोगले पनि आफ्नो तयारी अघि बढाएको उनले जानकारी दिए ।

उनले प्रदेश, गाउँपालिका, नगरपालिकाको सिमांकनको विबाद मिल्न नसके संविधानले दिएको अधिकार प्रयोग गर्दै मौजुदा स्थितिमै रहेको अन्तरिम अवधिको लागि भए पनि स्थानीय निकायको निर्वाचन गराउने तयारीमा सरकार लागेको स्पष्ट पारे ।

उनले नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्रबाट चाँडै नै प्रसारण सुरु गर्ने गरी तयारी अघि बढाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment