युएई । रोजगारीका लागि युएई आएका नेपालीहरु व्यावसायतिर लाग्ने क्रम बढिरहेको छ । युएईमा नेपालीहरुले रेस्टुरेन्ट, ट्राभल एजेन्सी र पार्लरको क्षेत्रमा उल्लेख्य रुपमा लगानी गरेका छन् ।
पछिल्लो समयमा हरेक साताजस्तो नेपाली लगानीकर्ताद्वारा सञ्चालित व्यावसाय सुरु भइरहेका छन् । विशेषतः फास्टफुड रेस्टुरेन्टको क्षेत्रमा धेरै नेपालीहरुले लगानी गरेका छन् ।
यसै क्रममा दुबईको वनभोजका लागि केन्द्र मानिने जाबिल पार्ककै सामुन्ने एक नेपाली रेस्टुरेन्ट सञ्चालनमा आएको छ । दुबईको केन्द्रमै रहेको जाबिलपार्क पारि करामा बसपार्कमा लोटस गार्डेन रेस्टुरेन्ट गत १ जुनदेखि सञ्चालनमा आएको छ ।
झापाकी चमेला खडका, नवलपरासीका पदम परियार र पोखराका चित्रबहादुर लेखकको संयुक्त लगानीमा उक्त रेस्टुरेन्ट खोलिएको हो । करिब ७ लाख दिराम्स (दुई करोड १० लाख रुपैयाँ) को लगानीमा उक्त रेस्टुरेन्ट खोलिएको सञ्चालकहरुले बताएका छन् ।
रेस्टुरेन्टमा पूर्ण रुपमा नेपाली वातावरणमा मिठो, सफा, ताजा र शुद्ध तथा स्वादिष्ट नेपाली परिकारहरु पाइने सञ्चालक खडकाले बताइन् । नेवारी खानाका परिकारहरुका साथै थकाली खाना पाइने सञ्चालक परियारले बताएका छन् । नेपालीहरुलाई लक्षित गर्दै खोलिए पनि रेस्टुरेन्टमा इन्डियन तथा चाइनिज खाना समेत पाइने सञ्चालक लेखकले बताए ।
तर, नेपाली सञ्चालकहरु भएका कारण नेपाली ग्राहकहरुलाई फोकस गरी निःशुल्क होम डेलिभरी गर्ने सुविधा पनि रेस्टुरेन्टमा पाउन सकिन्छ । नेपाली नास्ता र सेलरोटीका साथै चाडपर्व विशेष खाना पनि बनाइने सञ्चालकले बताएका छन् ।
जाबिलपार्कमा पिकनिक खाने नेपालीहरुलाई विशेष छुटका साथ सेवा दिने उदेश्य रहेको सञ्चालकहरुले बताए । युएईमा सञ्चालनमा रहेका अन्य नेपाली रेस्टुरेन्टको तुलनामा यो रेस्टुरेन्ट फरक प्रकृतिको रहेको सञ्चालक खड्काले दाबी गरेकी छिन् ।
रेस्टुरेन्टमा नेपाली वातावरण, नेपाली परिवेश र नेपाली आतिथ्य सत्कारका साथ टिपिकल नेपाली स्वादमा विभिन्न परिकार खान पाइने सञ्चालकहरुले दाबी गरेका छन् ।
सात जना स्टाफ रहेको रेस्टुरेन्टमा पूर्ण नेपाली वातावरणमा स्वादिष्ट नेपाली खाना नेपाली सत्कारका साथ सेवा दिने रेस्टुरेन्टको उदेश्य रहेको सञ्चालकहरुले दावी गरेका छन् ।
प्रतिक्रिया 4