३ असार, काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव भीम आचार्यले मधेसी मोर्चा सहभागी नभए पनि निर्वाचन नरोकिने दाबी गरेका छन् ।
‘हिजो दोस्रो संविधानसभाको निर्वाचन मोहन बैद्य नेतृत्वको माओवादीसहितका दलहरुले बहिस्कार गर्दा पनि सफलतापूर्वक सम्पन्न भएको हो’ उनले भने, ‘अहिले पनि एकाधले बहिस्कार गर्दैमा निर्वाचन रोकिँदैन ।’
संविधान जारी गर्दाको बखतमा भएको सहमति अनुसार कांग्रेस सरकारमा आएर निर्वाचन गराउनु पर्ने भन्दै उनले कांग्रेस सरकारमा नआए केपी शर्मा ओली नेतृत्वको सरकारले नै चुनाव गराउने बताए । उनले भने, ‘आगामी निर्वाचन प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारले गर्छ । सहमतिको बातावरण बन्ने स्थितिमा हामी सबै विषयमा छलफल गर्न खुल्ला छौं ।’
सचिव आचार्यले गठबन्धन दलहरुकै सहमतिमा क्याविनेटले निर्वाचनको कार्यतालिका ल्याएको दाबी गर्दै त्यसलाई संसदमा प्रस्तुत गरेर त्यहाँ काग्रेससहितका दलहरुसँग समेत सहमति कायम गर्न सकिने बताए ।
मधेसी मोर्चाले अघि सारेको संविधान पुर्नलेखनको माग असम्भव रहेको एमाले सचिव आचार्यले बताए । उनले भने, ‘मधेसी मोर्चाका साथीहरु अनसन छाडेर वार्तामा आउनुपर्छ । समस्या समाधान गरेर निर्वाचनमा जानुपर्छ ।’
सचिव आचार्यले पुनःसंरचना आयोगले साउन र भदौ भित्रमा आफ्नो प्रतिवेदन दिने र त्यसपछि निर्वाचन गर्न सकिने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचनले चुनावका लागि राष्ट्रिय सहमति आवश्यक रहेको दाबी थरे ।
सरकारले कानून, नियम बनाउने लगायतका आन्तरिक तयार नगरी निर्वाचन घोषणा गरेको उनको आरोप छ । उनले भने, ‘निर्वाचनको कार्यतालिका बन्यो तर निर्वाचनको लागि कानून, नियमावली बनाएर आन्तरिक तयारी हुन सकेको छैन । आन्तरिक तयारी गरेर घोषणा गरेको भए राम्रो हुन्थ्यो । मधेसका पनि कतिपय माग जायज छन । त्यसलाई पुरा गरेर गर्दा राम्रो हुन्छ ।’
यद्यपि राज्यले चाहेमा निर्वाचन कसैले पनि रोक्न नसक्ने उनले तर्क गरे । आफू सधै राष्ट्रिय सहमतिको पक्षमा रहेको भन्दै उनले मुलुकको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए ।
कार्यक्रममा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संविधानमा सहमति नभएसम्म कसैले पनि चुनाव गर्न नसक्ने दाबी गरे । आफूहरुलाई बेवास्ता गरेर राज्यले चुनाव गराउन खोजे त्यसलाई रोक्ने उनको चेतावनी छ ।
मधेसी मोर्चाका नेता यादवले राज्यले जवरजस्ती चुनाव गराउन खोजे मुलुक भयंकर दुर्घटनामा फस्ने र मुलुकको राष्ट्रियता, एकता, अखण्डता र सार्वभौमसत्ता कमजोर भएर जाने ठोकुवा गरे ।
प्रतिक्रिया 4