Comments Add Comment

एक तामाङ परिवारः जसले नेपाली ब्याडमिन्टनमा एकछत्र राज गरिरहेको छ

saradevi tamang_family_८ असार, काठमाडौं ।  यदि तपाईँले विगतका केही वर्षहरूमा कुनै राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हेर्नु भएको छ भने तपाईंले फाइनलमा सरादवी तामाङ, उनकी बहिनी नङ्सल अथवा भाइ रत्नजीतले खेलेको हेर्नु भएको होला !

चाहे त्यो एकल इभेन्टमा होस्, महिला र मिक्स्ड डबल्समा, ब्याडमिन्टन खेललाई भोजपुरको यो तामाङ परिवारले एक छत्र शासन नै गरिरहेको छ भन्दा अतिशयुक्ति नहोला । सरा नेपालकी ३१ ब्याडमिन्टन खेलाडी हुन् तर, उनका पनि खराब दिनहरु हुन्छन् जब बहिनी नङ्सलले उनलाई उछिन्छिन् । पुरुष समूहमा भने रत्नजीतलाई लगातार हराउन सक्ने कोही देखा परेको छैन ।

शुरुवाती दिनहरू

कुरो २०४० तिरको हो । नेपालमा ब्याडमिन्टनलाई त्यति महत्वपूर्ण खेल मानिँदैन थियो । यसलाई काठमाडौँका सौखिनहरूले डायबिटिज नहोस् भनेर बिहानको समयमा खेल्ने खेलको रुपमा लिइन्थ्यो । त्यस्ता ‘सौखिनहरू’ सरकारी सेवामा पनि थिए र उनीहरूको सरूवा जहाँ-जहाँ हुन्थ्यो त्यहाँ त्यहाँ र्‍याकेट र सटलकक लिएर पुगिहाल्थे ।

यस्तै एकजना सरकारी कारिन्दा नेपाल खाद्य संस्थानका प्रमुख भएर २०४२ साल तिर भोजपुर सरूवा भए । ‘उनी गाउँभरका केटाहरूलाफ जम्मा गरेर बिहान बिहान ब्याडमिन्टन खेल्थे र खेलाउँथे’ अहिले नेपाली सेनामा कप्तान रहेकी सराले भनिन् । त्यी अधिकृतले ब्याडमिन्टनका नियमहरू पनि सिकाउँथे । ‘हाम्रो बुवाले ब्याडमिन्टनलाई सिरियसली लिनु हुन्छ’, सरा भन्छिन् ।

‘उहाँ जिल्ला स्तरिय प्रतियोगिताहरू खेलीतरहनुहुन्थ्यो । कहिले काहीँ त काठमाडौँ नै जानुहुन्थ्यो राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन ।’

सराको जन्म ०४२ सालमा भएको थियो । उनकी बहिनी त्यसको ३ वर्ष पछि जन्मिइन् र भाइ रत्नजीत २०५० मा । ‘बुवा काठमाडौँबाट फर्के पछि हामीलाई सुनाउने गर्नुहुन्थ्यो, त्यहाँ त यस्ता खतरा खतरा लाहुरिनीहरू आउँछन्, सब जितेर लैजान्छन् !’ बुबाले हामीलाई भन्ने गर्नु हुन्थ्यो, ‘तिमीहरूलाई पनि म खेलाडी बनाउँछु ।’

तर, ११ वर्षको नहुँदासम्म सराले र्‍याकेट छुन पाइनन् । ‘हामी सारै साना थियौँ र अंकलहरूले खेलिरहेको ठाउँमा हामीले चान्स पाउने त कुरै भएन’, बहिनी नङ्सल भन्छिन् । तर, रतनजीतले भने सानै उमेरदेखि नै खेल्ने मौका पाए । ‘हाम्रा बाले भन्नुहुन्थ्यो हेर भाइले खेलेको, केही सिक यसबाट’ एक समय यस्तो आयो कि बाबु, छोरा र छोरीहरू ब्याडमिन्टनमा दत्तचित्त भएर लाग्न थाले । अनि आमालाई यो कुरो त्यति उचित लागेन ।

रत्नजीत भन्छन्, ‘आमाले हामीलाई ब्याडमिन्टनले खान दिँदैन, पढाई महत्वपूर्ण छ भनेर सम्झाइरहनु हुन्थ्यो ।’

बाह्र कक्षा सकेर सरा काठमाडौँ आइन् र केही समयपछि सशस्त्र प्रहरीको टोलीबाट ब्याडमिन्टन खेल्न थालिन् । पढाईलाई पनि जारी राखिन् उनले । जब सेनामा भर्ना खुल्यो उनले दरखास्त हालिन् र सेकेण्ड लेˆटेनेन्ट भइन् । उनैको प्रेरणा र सहायताले भाइ रत्नजीत पनि सेनामा भर्ती भयो । नङ्सल भने स्नातक तह सकेर मात्र काठमाडौ आइन् । हाल उनी सेनाका लागि करारमा खेल्छिन् ।

saradevi

अन्तर्राष्ट्रिय प्रतियाेगितामा चुनाैति   

नेपालमा उतकृष्ट ठहारिए पनि सरा र उनको भाइ बहिनीले अन्तराष्ट्रिय सफलता भने खासै हासिल गर्न सकेका छैनन् । सन् २०१५ को डिसेम्बरमा उनी विश्व वरियताको ३८० औ स्थानमा थिइन् र यो नै उनको हालसम्मको उत्कृष्ट स्थान हो । त्यसैगरी नङ्सलको उत्कृष्ट वरियता ४३४औं ( डिसेम्बर २०१५) र रत्नजीतको १९३ (अक्टोबर २०१५) ।

गत डिसेम्बरको सागमा खुट्टामा समस्या बल्झिएपछि सराको अपरेसन गरिएको थियो । अहिले उनी आराम गर्दैछिन् ।  सरा र उनको परिवारले ब्याडमिन्टन रहरै रहरमा खेल्न थाल्यो, त्यो पनि टेक्निकल पक्षलाई ध्यान नदिई । उनीहरू देशको ब्याडमिन्टन प्रशिक्षण कार्यक्रमबाट निस्किएका होइनन् । ‘जब म अन्तराष्ट्रिय प्रतियोगिताहरू खेल्छु, तब मैले हाम्रो लेभल र उनीहरूको लेभल बारे थाहा पाउँछु ।’

‘हालै सम्पन्न सागको दौरान मैले भारतकी पी भी सिन्धुसँग खेल्ने मौका पाएकी थिएँ । उनले मलाई सजिलै २१-२, २१-८ ले हराइदिइन् । त्यो खेलको सम्झन लायक पक्ष भनेको मैले दोस्रो सेटमा ८ पोइन्ट जितेँ भन्नु मात्रै हो ।’

रत्नजीत पनि आफ्नो हालत त्यस्तै रहेको बताउँछन् । उनी भन्छन्, ‘मैले हरेक पटक शत प्रतिशत प्रयास गर्छु, तर पनि त्यति ले पुग्दैन । अन्तराष्ट्रिय प्रतियोगिताहरूको स्तर निकै नै माथि छ हाम्रो भन्दा ।’

र एउटा सपना !

सरा अहिले आफ्नो खुट्टाको अपरेसन पछि आराम गरिरहेकी छिन् । एउटा खेलाडीका लागि चोट लागेपछि आराम गरेर बस्नु सहज हुँदैन । चोटबाट राहत मिलेपछि पहिले कै लयमा फर्किन प्रायः असम्भव नै हुन्छ । तर, पनि उनले हिम्मत भने हारेकी छैनन् । ‘केही महिनामै म खेलमा पुनः आगमन गर्नेछु’ उनी भन्छिन् ।

उनी अहिले पनि आफ्ना भाइ बहिनीलाई कोचिङ गर्छिन् । ‘भविष्यमा जे भए पनि म ब्याडमिन्टन खेलसँगै जोडिरहन चाहन्छु । मेरो सपना भनेको नयाँ पुस्तालाई अन्तराष्ट्रिय खेलहरूका लागि तयार पार्नु हो । हामीले जे भोग्यौँ अरूले भोग्न नपरोस् भन्ने म चाहन्छु ।’

अन्तवार्ताको क्रममा केही कुरा गर्न बाँकी रहेछ कि भनेर हामीले आफ्नो कापीतिर हेर्‍यौं, हामीलाई थप दुई वटा प्रश्न नसोधी नहुने जस्तो लाग्यो ।

तपाईँहरू तिनै जना ब्याडमिन्टन खेलाडी, तपाईँहरूसँगै बस्दा कुराकानी गर्दा सधेँ ब्याडमिन्टनका बारेमा मात्रै कुरा गर्नुहुन्छ हो ?

(तीनै जना हाँस्छन्) हामी घरमा भएको बेला धेरै जसो कोर्टमा नै हुन्छौं । गेम सकिएपछि हामी ब्याडमिन्टनका बारेमा खासै चर्चा गरिरहँदैनौँ ।

अनि तपाईँको आमा नि ?

अहिले त उहाँले हाम्रो हरेक खेलका बारेमा खबर राख्नुहुन्छ । बेलुका फोन गरेर के खेलेको त्यस्तो, अलि राम्रो सँग खेल भन्नुहुन्छ !

अनलाइनखबर अंग्रेजीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment