Comments Add Comment

अमेरिकी संसदमा डेमोक्रेटिक सांसदको धर्ना

us_democrats_floor_maxmatza

९ असार, काठमाडौं । अमेरिकाका करिब एक सय सांसदहरु प्रतिनिधि सभामा धर्नामा बसेका छन् । बन्दुक बिक्रीमा नियन्त्रणको विषयलाई लिएर डेमोक्रेटिक पार्टीका सांसदहरु धर्नामा बसेका हुन् ।

बन्दुक खरिद गर्नेहरुको पृष्ठभूमिको व्यापक जाँच गर्न र शंकास्पद व्यक्ति वा समूहलाई बन्दुक खरिद-बिक्रीमा पूरै प्रतिवन्ध लगाउन माग गर्दै सांसदहरु धर्नामा बसेको बीबीसीले जनाएको छ ।

यसै महिना फ्लोरिडाको ओरल्याण्डोमा समलिंगीहरुको एक क्लबमा भएको गोलीबारीमा ४९ जनाको मृत्यु भएको थियो । यस घटनापछि राष्ट्रपति बराक ओबामासहित कैयौं सांसदहरुले बन्दुक खरिद बिक्रीमा कडा कानुन आवश्यक रहेको बताउँदै आएका छन् ।

जब डेमोक्रेटिक पार्टीका सांसदहरुको धर्ना ११ घण्टासम्म चल्यो तब सदनका अध्यक्ष एवम् रिपब्लीकन पार्टीका नेता पल रेयानले त्यसलाई सस्तो लोकपि्रयता कमाउनका लागि गरिएको गतिविधि भनेर आलोचना गरे ।

अमेरिकी संसदमा रिपब्लीकन पार्टीको बहुमत छ । रिपब्लीकन पार्टीले सदनको नियमित कारबाही रोक्न माग गर्दै आए पनि धर्नामा बसेका डेमोक्रेटिक पार्टीका सांसदहरुले भने सदन जारी राख्न माग गरेका छन् ।

धर्नामा बसेका सांसदहरुले आफ्ना धारणा जनतासमक्ष पुर्‍याउन अनलाइनमा कुराकानी गरिहेका छन् भने सदन भित्रका तस्वीरहरु पनि ट्वीटर मार्फत् सार्बजनिक गरेका छन् । एक सांसदले पेरीस्कोप ऐपको माध्यमबाट लाइभ भिडियो सार्बजनिक गरिदिएका छन् ।

धर्नाको नेतृत्व जोन लुइसले गरेका छन् उनी ६० को दशकमा भएको नागरिक आन्दोलनका नेता हुन् । उनलाई अमेरिकी राष्ट्रपति बराक ओबामाले बन्दुक हिंसाविरुद्धको अभियानमा नेतृत्व गरेकामा ट्वीटरमार्फत् धन्यवाद दिएका छन् ।

फ्लोरिडाको ओरल्याण्डोमा भएको घटनापछि बन्दुक नियन्त्रण सम्बन्धी कानुनका लागि चार प्रस्ताव अमेरिकी संसदबाट अस्वीकृत भइसकेका छन् । तर अब डेमोक्रेटिक र रिपब्लीकन पार्टीको समर्थनमा ल्याउन लागिएको प्रस्ताव बिहीबारको संसदमा पेश हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment