Comments Add Comment

शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा इलाममा पाठ्यपुस्तक पुगेन

School-Book१० असार, इलाम । शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा पनि इलाममा अझै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन ।

जिल्लाका धेरैजसो विद्यालयमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक, कक्षा ७ का धेरै विषयका पाठ्यपुस्तक, कक्षा ९ को अर्थशास्त्र अभाव भएको हो । अन्य विषयको पढाइ निक्कै अघि बढ्दा समेत माईपोखरीस्थित बालमण्डल माविमा कक्षा ६ को अङ्ग्रेजी, नैतिक र कक्षा ७ को पेसा व्यवसाय विषयको नयाँ पाठ्यपुस्तक छैन ।

“बारम्बार पाठ्यपुस्तक लिन जिल्ला आयो, कहीँ पाइँदैन,” बालमण्डल माविका प्रधानाध्यापक टीकानाथ पौडेलले भने, “पुस्तक नपाएपछि पुरानै पुस्तक पढाउनुपर्छ, विद्यार्थीले किन्न धरी पाएका छैनन् ।”

सोयाङस्थित सरस्वती माविको कक्षा ७ मा विज्ञान विषय बाहेकका कुनै पनि विषयको पढाइ भएको छैन । अन्य विषयको पाठ्यपुस्तक अभावले गर्दा पढाइ हुन नसकेको विद्यालयले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले नै समयमा पुस्तक नपाउँदा व्यवसायी समेत चिन्तित बनेको तेह्रथुम पुस्तक पसलका प्रोपाइटर टङ्क धमलाले बताए ।

कुनै कुनै विषय त एकै पटक नआएको समेत उनले बताए । अहिले विद्यालयमा पहिलो त्रैमासिक परीक्षा हुने समय भएको छ । केही विद्यालयले पहिलो त्रैमासिक परीक्षाको मिति तोकिसकेका छन् भने केहीले तयारी गर्दैछन् । त्रैमासिक परीक्षा आउन लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक अभाव हुनाले विद्यार्थीको पढाइमा समस्या भएको छ ।

जिल्ला शिक्षा कार्यालयले जिल्लाका सबै विद्यालयलाई पाठ्यपुस्तक खरिदका लागि गत फागुन महिनामै ७५ प्रतिशत बजेट निकासा दिएको थियो । कार्यालयका शाखा अधिकृत निर्मल ढुङ्गेलले प्रायजसो विद्यालयमा पाठ्यपुस्तक पुगिसके पनि केहीमा पुग्न बाँकी रहेको बताए ।

“कुनै–कुनै विषय र प्रायः कक्षा ७ का केही विषय नपुगेको जानकारी आएको छ”, उनले भने । पुस्तक खरिदका लागि फागुनमा ७५ प्रतिशत बजेट दिएर अपुग भएको रकम माग्न विद्यालयलाई भनिएकोमा एकसय चारवटा विद्यालयले थप २५ प्रतिशत रकम पनि माग गरेर लगिसकेको जिशिकाले जनाएको छ । अपुग पुस्तक पनि जनक शिक्षा सामग्री केन्द्रले छापेर पठाउनुपर्नेमा किन ढिलो गरेको हो भन्ने थाहा नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment