Comments Add Comment

‘भाते’ बानी हटाउन खाद्य महोत्सव आयोजना

१० असार, काठमाडौं । भात मात्र खाने बानी हटाउने र पोषणयुक्त खानाबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा खाद्य महोत्सव आयोजना हुँदैछ । आधुनिक र जंक खाद्य पदार्थ खाना-खाजाको रुपमा सेवन गर्दा विभिन्न प्रकारका रोगहरु निम्तिनुका साथै कुपोषण बढ्दै गएको ठहर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले खाद्य महोत्सव गर्न लागेको हो ।

Department-of-Food-Technologyशुक्रबारदेखि दुई दिनसम्म भृकुटीमण्डपमा हुने महोत्सवले आम नेपालीमा बढ्दै गएको भाते बानीलाई परिवर्तन गर्न सहयोग पुग्ने विभागको विश्वास छ । अवलोकनकर्ताका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

‘भाते वानीका कारण हामी नेपालीले बढी पौष्टिक तत्व भएको मकै, ढिडो, आलु, कोदो, फापरजस्ता खाद्य पदार्थ खान छाड्यौं’, विभागका महानिर्देशक संजीवकुमार कर्णले भने, ‘हामी खानाको रुपमा भातमा मात्रै भर पर्‍यौं । जसले गर्दा कुपोषण बढेर विभिन्न प्रकारका रोगले संक्रमण गरेको छ । कुपोषणबाट जोगिन पोषणयुक्त आहारा खानुपर्छ ।’

महोत्सवमा विभिन्न जाति, जनजातिका परम्परागत खाद्य परिकार सहितका १८ स्टल, विभिन्न संघसंस्थाका जानकारी मूलक २४ स्टल, र विभिन्न उद्योगबाट उत्पादित खाद्य बस्तु बिक्री वितरण गर्ने ३६ स्टल गरी जम्मा ७८ वटा विभिन्न प्रकारका निःशुल्क स्टल राख्ने व्यवस्था मिलाइएको छ । जसमा आदीवासी जनजातिले पौष्टिकयुक्त मौलिक र परम्परागत खाना तथा खाजाको स्टल राख्नेछन् ।

‘कुपोषणलाई रोक्न र स्थानीय स्तरमा उपलब्ध हुने पोषणयुक्त खाद्यान्न, सागपात, तरकारी, गेडागुडीको सहि रुपमा प्रयोग गर्न महोत्सवमार्फत अवलोकनकर्तालाई जनचेतना दिन्छौं’, विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, ‘कुपोषणबाट जोगिन स्थानीय स्तरमा भेटिने गेडागुडी, फलफुल, चिनो, कागुनो, फापर, कोदो, मकै, आलु, सागपातलगायतका खाद्यान्न पदार्थहरु संतुलित परिमाणमा खानुपर्छ ।’

मेला अवधिभर विभिन्न जाति, जनजातिका झाँकी तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको पनि व्यवस्था गरिएको छ । मेलामा खाद्य प्रशोधनसँग सम्बन्धित व्यवसायको लागि आवश्यक पर्ने उपकरण, रसायन तथा मेसिनरीसम्बन्धि जानकारीमूलक स्टल पनि हुनेछ ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ (नेफोस्टा), कृषि उद्यम केन्द्रलगायतका संघसंस्थाको सहयोगमा आयोजना गर्न लागिएको महोत्सवमा ५० हजार सर्वसाधारणले अवलोकन गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment