Comments Add Comment

पर्वतकै ठूलो सिँचाइ नहर भासियो, रोपाइँ गर्न समस्या

Nahar,-Kulo

१९ असार, फलेवास । धौलागिरि अञ्चलकै पहिलो र पुरानो नहरका रुपमा चिनिएको पर्वतको फलेवासमा रहेको सिँचाइ नहर निरन्तरको वर्षाले भत्किएको छ ।

धानखेतीका लागि पकेट क्षेत्रका रुपमा परिचित फलेवास क्षेत्रका खानीगाउँ, देवीस्थान र मुडिकुवा गाविसमा सिँचाइका लागि विगत तीन दशकअघि निर्माण भएको सिँचाइ नहर शनिबार बिहान भासिएको हो । धान रोपाइँ गर्ने बेलामा नहर भासिएपछि उक्त क्षेत्रको सयौँ हेक्टर खेतमा रोपाइँ गर्न समस्या सिर्जना भएको छ ।

भत्किएको कुलो मर्मत गर्नका लागि ठूलो धनराशि र धेरै समय लाग्ने स्थानीयवासी कृषक भरत श्रेष्ठले जानकारी दिए । शनिबार बिहान नहरमा ठूलो भेल पसेपछि भेल थेग्न नसकेर कुलो भत्किएको श्रेष्ठले जानकारी दिए ।

नहर करिब पाँच मिटर गहिरो भई भासिएको स्थानीयवासी बुद्धि पौडेलले जानकारी बताए । विसं २०४१ मा निर्माण गरिएको उक्त नहर मर्मत नहुँदा ठाउँठाउँमा भत्किने गरेको छ । नहर भत्किएसँगै पानीको अभावले रोपाइँ गर्न समस्या सिर्जना भएको पौडेलले गुनासो गरे ।

उक्त नहरमार्फत जिल्लाको सबैभन्दा बढी धानखेती हुने देवीस्थानमा दुई सय ५०, मुडिकुवामा दुई सय र खानीगाउँमा झन्डै एक सय हेक्टर खेतमा सिँचाइ हुँदै आएको छ । झन्डै चार किमी दूरीमा रहेको लमाए खोलाबाट ल्याइने पानी नहर भत्किएपछि स्थानीयवासी समस्यामा परेका छन् ।

उनीहरुले तत्काल नहरको मर्मतका लागि पहल गरिदिन सिँचाइ डिभिजन कार्यालयसँग अनुरोध गरेका छन् । समयमै रोपाइँ गर्न नसके उत्पादनमा ह्रास आउने भएकाले पनि मर्मतका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

केही दिन अघि सिँचाइ मन्त्री उमेश यादवले स्थलगत रुपमा कुलोको अवलोकन गरेका थिए । मन्त्रीसहितको टोलीको अवलोकनपछि मर्मतको योजना पनि बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment