Comments Add Comment

संकटमा बाबुरामको ‘करिष्मा’

Baburam-bhattrai

केही वर्षअघि यो पंक्तिकारसहितको टोली सानेपास्थित बाबुराम भट्टराईको निवासमा पुग्दा उनले भनेका थिए, ‘६० वर्षको उमेरपछि राजनीतिमा रिटायर्ड हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

तत्कालीन एनेकपा (माओवादी)को उपाध्यक्ष ‘पद त्याग’ को निर्णय फिर्ता लिन आग्रह गर्दा डा. भट्टराईले थपेका थिए, ‘म ६० वर्ष कटिसकेको छु, त्यसैले अब म सक्रिय राजनीतिमा रहन्न, अध्ययन र चिन्तनमा लाग्छु ।’

डा. भट्टराईले त्यतिबेला यसखालका विचारहरु सार्वजनिकरुपमा सञ्चारमाध्यम, आम जनता र कार्यकर्ता सामु पटक-पटक दोहोर्‍याएका थिए । यसरी आफैले रिटायर्ड करार गरेको यो उमेरमा यतिबेला भट्टराई आफूले जिन्दगीभर वकालत गरेको क्रान्तिकारी मार्क्सवादको उछितो काढ्न र बुर्जुवा खिचडी दर्शनको पक्षपोषण गर्न अरु थुप्रै रिटायर्डहरुका साथ कस्सिएका छन् । यस सम्वन्धमा आफ्नो पछिल्लो राजनीतिक दस्तावेजमा क. प्रचण्ड लेख्छन्, ‘अन्ततः साम्राज्यवादीहरु बाबुराम जस्तो विद्वान (?) को मुखबाट पनि क्रान्तिकारी मार्क्सवादको औचित्य सकिएको घोषणा गराउन सफल भए ।’

आफ्नो सम्पूर्ण जवानी, बुद्धि, वर्कत माओवादी राजनीतिमा लगाएका भट्टराईले एकदिन अचानक आफ्ना तत्कालीन सहकर्मी टोपबहादुर रायमाझीलाई भनेका रहेछन्, ‘हेर्नुस् हामी कम्युनिस्टहरुले त जिन्दगीभर खाली हाम्राबारेमा लागेका आरोपहरुको खण्डन गर्दैमा जीवन जाने भो ! अलि नयाँ ढंगले सोच्नुपर्ने भो ।’

यो हतास मनस्थितिभित्र एकप्रकारले बाबुराममा ठूलो थकान देखिन्छ । आखिर जीबनको उत्तरार्धमा आएर बाबुराम थाके । यो उमेरमा उनले अरुको त परै जाओस् स्वयं आफ्नै लेख, रचना र दृष्टिकोणको समेत खण्डन गर्न भ्याउने छैनन् । उनले सबैभन्दा धेरै वकालत गरेका आफ्नै मान्यताहरुको खण्डनमा नै सबैभन्दा धेरै समय बिताउनुपर्नेछ ।

हजारौं सहिदको सपनालाई बिस्कुन सरी असरल्ल छाडेर अन्ततः बाबुराम जसरी भागे, त्यो इतिहासको निकै ठूलो मजाक हो

इतिहासको कठघरामा बाबुरामले जवाफ दिनैपर्ने छ, आखिर हिजो उनलाई बचाउनका लागि मर्न तयार हुनेहरुलाई भन्दा सरोज खनाल र करिस्माहरुको साथ किन रुचाए ?

माओवादी आन्दोलनमा भट्टराईको लेख, विचार, दृष्टिकोण पढेर लाग्नेहरुको ठूलै पंक्ति छ । अझ बाबुरामको एक आह्वानमा बाबुरामलाई देख्दै नदेखि सहिद हुन तयार हुनेहरुको पनि विशाल पंक्ति छ । तर हजारौं सहिदको सपनालाई बिस्कुन सरी असरल्ल छाडेर अन्ततः बाबुराम जसरी भागे, त्यो इतिहासको निकै ठूलो मजाक हो ।

बाबुरामले केही थोत्रा अर्थशास्त्री, केही थोत्रा ब्युरोक्रयाट्स, केही थोत्रा विश्लेषक र केही थोत्रा कलाकारको झुण्ड थुपारेर त्यसैलाई नयाँ शक्तिको जामा पहिर्‍याएका छन् । उनको नयाँमा त्यस्ता अवकाश प्राप्तहरुको भिड छ, जसले जीन्दगीभर राजनीतिलाई घृणा गरे र नेतालाई गाली गरेर बसे । नामले मात्र नयाँ शक्ति हुने भए कुनैबेला सुर्यवहादुर थापाले नि पार्टीको नामै राष्ट्रिय जनशक्ति राखेका थिए । जनशक्ति नाम राख्दैमा के त्यो जनताको शक्ति हुन सक्यो त ? सक्दैन थियो र सकेन पनि ।

बाबुरामको नयाँ शक्तिको दर्शन के हो ? विचार के हो ? उनले जीबनको ६३ वर्ष काम गरेको पार्टीको बारेका उनको दृष्टिकोण के हो ? रिटायर्ड पूर्वसचिव रामेश्वर खनालले बाबुराम जनसरकार प्रमुख भएर चलाएको जनयुद्धबारे के धारणा राख्छन् ? जीबनको मूल हिस्सा पञ्चायतमा काम गरी अस्ति भर्खर राप्रपाबाट नयाँ शक्तिमा प्रवेश गरेका पर्शुराम खापुङहरु अब के वादी हुन् ? यी सबैको बिचबाट जन्मने बाबुरामको खिचडी दर्शन के हो ? उनको दर्शन ‘यो पनि होइन, त्यो पनि होइन’ अर्थात ‘यो पनि हो त्यो पनि हो’ जस्तो देखिन्छ । अन्ततः यो भनेको केही पनि होइन भन्ने नै हो ।

इतिहासको रंगमञ्चमा ‘विनासकाले विपरीत बुद्धि’ भन्ने उक्तिलाई चरितार्थ गर्दै आफैंले मेहनत गरेको संविधानमा आगो झोस्ने कार्यक्रममा पुगे बाबुराम । संविधान जारी भएमा ठूलो अनिष्ट हुने भविष्यवाणी पनि गर्न भ्याए । संविधान जलाउन पाउने शर्त राखिएको कार्यक्रममा सरिक भए ।

Surendra-Basnet
सुरेन्द्र बस्नेत

बाबुरामका अभिब्यक्ति र नाकावन्दीको लय सन्देहपद रहृयो । सायद बाबुरामको विश्लेषण थियो, ‘मित्रराष्ट्रको चर्को दवाव पछि नेपालका नेताहरुले घुंडा टेक्नेछन् र संविधान जारी प्रकृया रोकिनेछ । त्यससँगै मधेसमा ठूलो आगो बल्नेछ । अनि त्यो आगो निभाउने भूमिका उनले पाउनेछन् । र त्यहि आधारमा नयाँ शक्तिको छानो उनले छाउनेछन् । तर कथा उनले सोचेजस्तो भएन । नेताहरु झुकेनन् । संविधान रोकिएन । नाकाबन्दीले गलाउन सकेन । जनताले धैर्य, साहस र विवेक देखाए । यहि बदलिएको कथासँगै बाबुरामको हवाई सपना हुरीले उडायो । बाबुरामको हिजोको करिष्मा बाँकी रहेन । महान सहिदहरुको त्याग, वलिदान र उत्सर्गको जगमा निर्मित करिष्माका सामु फिल्मी करिष्माहरुको सामिप्यतावाट सृजित करिष्मा फिक्का सावित भयो ।

पछिल्लोपटक करोडौं खर्च गरेर गरिएको विज्ञापन पनि बहसमा आएको छ । बाबुरामले पैसा तिरेर आफ्नै टाउको राखिएको विज्ञापनमा दंग पर्दै ‘पत्रिका आफैं बोल्छन्’ भनेर फेसबुक पेजमा लेख्नुबाट उनी आफ्नो प्रचारका निम्ति कति आतुर रहेछन् भन्ने झल्किन्छ । टेलिभिजनको मोडलिङ् विज्ञापनमा देखापरेर बाबुरामले आफ्नो कलाकार ब्यक्तित्व पनि उजागर गर्न खोजेका छन् । यसरी असाध्यै खर्चिलो र भडि्कलो रंगिन दुनियाँमा रमाएर उनले दिने गरेको सदाचार र पारदर्शिताको नारा साकार होला र !

हो, हिजो बाबुरामको करिष्मा चमकदार थियो नै । एक समय उनी लोकपि्रयताको शिखरमा पनि पुगैकै हुन् । तर उनको त्यो व्यक्तित्व फगत उनको निजी उत्पादन मात्र चाहिँ पटक्कै थिएन । हजारौं सहिद र वेपत्ता योद्धाको रगत र तिनको परिवारजनको आंशुको मूल्यमा मात्र बाबुरामको त्यो उचाई ठडिएको थियो । नेपालमा बोर्ड फस्ट र पिएचडी गर्ने त अरु पनि कति छन् कति ! स्पष्ट के हुन जरुरी छ भने बाबुरामको हिजोको ब्यक्तित्व माओवादी नेतासहितको ब्यक्तित्व हो । माओवादीको नेताकै रुपमा उनलाई मानिसले स्विकार गरेका हुन् । माओवादीबाट अलग हुनासाथ व्यापक न्युट्रल जनमानसले हाई-हाई गर्छ भन्ने उनको ठूलो भ्रम थियो भन्ने आज पुष्टि भएको छ । बाबुराम स्वयंले विशेष महत्व दिने गरेको सामाजिक सञ्जालमा उनका स्टाटसमा लाइक अस्वाभाविक रुपमा व्यापक घटेको छ । यस विषयमा एउटा आन्तरिक कार्यक्रममा उनले चिन्ता ब्यक्त गर्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन् । यसबाट पनि के स्पष्ट हुन्छ भने उनको हिजोको ब्यक्तित्व निजी होइन, माओवादी आन्दोलनकै उपज हो । तर अव त्यो रहेन ।

यसरी समग्रमा हेर्दा कम्युनिस्ट नाम, बिचार र वर्गदेखि नै बाबुरामलाई एकप्रकारको ‘इरिटेसन’ भएको देखिन्छ । सहिद र वेपत्तासँग पनि विच्छेद गरे । घाइते र अपांगहरुलाई बेवारिसे छाडेर भागे । आज इतिहासको मजाक भएको छ । उनै बाबुराम र उनको पार्टीलाई टुप्पीदेखिको बल निकालेर आजिबन सत्तोसराप गर्नेहरुलाई नै अघि पछि लाएर हिँड्न बाबुराम तयार भए । यो बाबुरामको विचलन हो । वैचारिक हिसावले स्खलन हो । राजनीतिक हिसावले पतनको यात्रा हो ।

(बस्नेत नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका प्रवक्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment