Comments Add Comment

अर्को सरकारको कुरा गर्ने नैतिकता प्रचण्डलाई छैनः एमाले सचिव ज्ञवाली

२० असार, काठमाडौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले एउटा सरकारमा बसेर अर्को सरकारको कुरा गर्ने नैतिकता माओवादी अध्यक्ष प्रचण्डलाई नभएको बताएका छन् ।

Pradeep-Gyawaliबजेट पारित भएपछि सरकार परिवर्तन गर्ने भ्रद सहमति भएको हो भने पनि प्रचण्डले बजेट पारित नहोउन्जेलसम्म धैर्यता गर्नुपर्ने उनले बताए ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा ज्ञवालीले कांग्रेस, एमाले र मधेसवादीसहित प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ग्यारेन्टी भए एमालेले अवरोध नगर्ने स्पष्ट पारे ।

‘राष्ट्रिय सहमति बन्ने अवस्थामा एमालेले एक मिनेट पनि अवरोध गर्दैन,’ उनले भने, ‘मुलुकको समस्या समाधान हुन्छ भने नेकपा एमाले सरकारको नेतृत्व छाडेर प्रतिपक्षमा बस्न तयार छ ।’

आफूहरुले पनि राष्ट्रिय सहमतिका लागि योगदान गर्न चाहेको उनले बताए । तर, कांग्रेसका कारण राष्ट्रिय सहमति बन्ने अवस्था नरहेको ज्ञवालीले बताए ।

‘संविधान जारी गर्दा एक भएका चार दल इन्ट्याक्ट हुनुपर्छ भन्ने पक्षमा हामी छौं तर कांग्रेसले नै दुई ठूला दल एकैपटक सरकारमा बस्न नहुने भनेर आफ्नो लाइन स्पष्ट पारिसकेको अवस्थामा मुलुकमा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था छैन,’ ज्ञवालीले भने ।

‘गैरदलीय ब्यक्ति ल्याउने खेल’

संविधान र राजनीतिक दलहरुलाई असफल बनाएर गैरदलीय ब्यक्ति ल्याउने खेल एमालेलाई स्वीकार्य नभएको ज्ञवालीले स्पष्ट पारे ।

तत्कालिन एकीकृत नेकपा माओवादीसँग भएको नौ बुँदे सम्झौता कार्यान्वयनमा गइरहेको दावी गर्दै उनले शान्ति प्रक्रियाका विषयमा सर्वोच्चको फैसला, अन्तराष्ट्रिय समूदाय र द्वन्द्व पीडितहरुको भावनाविपरित प्रचण्ड प्रधानमन्त्री भए पनि काम गर्न नसक्ने ठोकुवा गरे ।

उनले भने, ‘गम्भीर अपराधका मुद्दाका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला, अन्तर्राष्ट्रिय सन्धी सम्झौता र द्वन्द्वपीडितको भावनाविपरित गएर इन्द्रको बाउ चन्द्रेले पनि केही गर्न सक्दैन । त्यसैले एमाले केही गरेन भन्ने आरोप गलत हो ।’

एमालेले नकारात्मक भूमिका खेलेको माओवादीको आरोप

नेकपा माओवादी केन्द्रका नेता मणि थापाले शान्ति प्रक्रियालाई टुङ्ग्याउन नेकपा एमालेले नकारात्मक भूमिका खेलेको आरोप लगाउँदै राष्ट्रिय सहमतिको सरकार गठन हुन नसके शान्ति प्रक्रियाको मुद्दामा जो सकारात्मक हुन्छ उसैसँग नजिक भएर सरकार गठन गर्ने स्पष्ट पारे ।

उनले भने, ‘नौ बुँदे सहमतिमा एमाले अडिएन, अन्तर्राष्ट्रिय सन्तुलन बिगि्रयो, मधेसी, थारु आदिवासी जनजातिसँग सहमति कायम गर्ने कुरा पनि भएन । भूकम्प पीडितको पक्षमा काम भएन । सरकारले सपनाको कुरा गर्‍यो, विपनामा एउटा विरुवासमेत रोप्न सकेन । यो सरकार गठन गर्नुको उद्देश्य नै पूरा हुन सकेन ।’

सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बाहिर रहँदा संविधान कार्यान्वयनमा समस्या उत्पन्न भएको भन्दै थापाले राष्ट्रिय सहमति मुलुकको आवश्यकता भएकाले माओवादी केन्द्र सहमतिको सरकार गठनकालागि अग्रसर भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment