Comments Add Comment

एउटै घरमा छुट्टै भान्छा गर्नेले पनि दुई लाख अनुदान पाउने

Punarnirman-Pradhikaran२० असार, काठमाडौं । सरकारले गतबर्ष भूकम्प जानुअघि नै मालपोत कार्यालयबाट अंशवण्डा कागज पारित गरिसकेको तर एउटै घरमा छुट्टै भान्छा गरेर बसेको परिवारलाई छुट्टै घरपरिवार मानेर अनुदान रकम दिने निर्णय गरेको छ ।

यसअघि सरकारले एउटै घरमा बसेका तर फरक भान्छा गर्दै आएको परिवारलाई छुट्टै परिवार मान्ने की नमान्ने भन्नेबारे स्पष्ट पारेको थिएन ।

यस्तै मालपोत कार्यालयबाट अंशवण्डा नभएका परिवारले पनि छुट्टै परिवारको रुपमा अनुदान पाउने भएका छन् । तर त्यसका लागि गत वर्षको बैशाख १२ गतेअघि नै छुट्टै घर बनाएर बसेको हुनुपर्नेछ । र त्यो परिवारलाई केन्द्रीय तथ्यांक विभागले छुट्टै परिवारको रुपमा सूचीकृत गरेको हुनुपर्नेछ ।

यसका साथै स्थानीय अधिकारीको रोहबरमा हुने सरजमिनमा समेत छुट्टभिन्न भएको प्रमाणित हुनुपर्नेछ । सरकारले उल्लेखित मापदण्ड पूरा भएका परिवारलाई छुट्टै परिवार मानेर अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै जग्गाधनीको मृत्यु भई हकवालाहरुमा नामसारी गर्न बाँकी रहेको र हकवालाले मृत्यु दर्तासहित निवेदन दिएमा हकवालाहरुमध्ये एक जनाले अनुदान रकम पाउने छ । तर त्यसरी अनुदान पाउन सबै हकवालाको मन्जूरी आवश्यक पर्नेछ ।

यस्तै भूकम्प प्रभावित परिवारको तथ्यांकमा नाम सूचीकृत भइसकेको तर अनुदान सम्झौता अघि नै आफ्नै पैसाले घर बनाउनेलाई पनि सरकारले अनुदान रकम दिने निर्णय गरेको छ । तर त्यसरी बनेको घरको प्राविधिक जाँच भने पास हुनुपर्नेछ ।

घरको प्राविधिक जाँच सरकारले खटाएको इञ्जिनियरहरुले गर्नेछन् र भूकम्प प्रतिरोधी रहेको प्रमाणित हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment