Comments Add Comment

साउनदेखि सेयर दलालको कमिशन ४० प्रतिशत घटाइने

Stock-broker

२२ असार, काठमाडौं । सरकारले आगामी साउनदेखि धितोपत्र दलाल (स्टक ब्रोकर) ले हाल पाउँदै आएको कमिशन करिब ४० प्रतिशतले घटाउने तयारी गरेको छ ।

धितोपत्र बोर्डको प्रस्तावमा अर्थ मन्त्रालयले ब्रोकरको कमिशन घटाउने गरी धितोपत्र विनियमावलीलाई अन्तिम अवस्थामा पुर्‍याएको हो ।

‘साउन पहिलो सातादेखि गतेदेखि स्टक ब्रोकरको कमिशन घट्छ,’ अर्थ मन्त्रालयको उच्च स्रोतले अनलाइनखरसँग भन्यो- ‘हाल पाउँदै आएको कमिशनमा ४० प्रतिशतसम्मले घटाउने भन्ने तयारी भइरहेको छ ।’

धितोपत्र विनियमावलीमाथि छलफल भइसकेको र अब प्राकृतिक व्यक्ति भन्ने बाक्य उल्लेख रहेको दफालाई मात्रै अन्तिम रुप दिन बाँकी रहेको अर्थ मन्त्रालय स्रोतको दाबी छ ।

‘प्राकृतिक व्यक्तिमा ३० प्रतिशत सर्वसाधारण सेयर भन्ने उल्लेख छ,’ स्रोतले भन्यो- ‘प्राकृतिक व्यक्तिको परिभाषभित्र सर्वसाधारणलाई राख्ने कि नराख्ने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन । यो शब्द परिवर्तन भई अर्को उपयुक्त शब्द वा परिभाषा आउन सक्छ ।’

धितोपत्र बोर्डले पठाएको विनियमावलीको मस्यौदामा अर्थ मन्त्रालयले खासै परिवर्तन नगरेको ती अधिकारीले बताए । धितोपत्र (सेयर) को कारोबार सेयर ब्रोकरबाट मात्रै गर्नुपर्ने कानूनी व्यवस्था छ ।

दक्षिण एसियाका मुलुकहरुमध्ये नेपालमा सेयर दलालले सबैभन्दा बढी कमिशन लिँदै आएकाले ब्रोकरको कमिशन घटाउन प्रस्ताव गरिएको धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताए ।

अहिले ब्रोकरले कति कमिशन लिन्छन् ?

कारोबार रकम ब्रोकर कमिशन
५० हजारसम्म १ प्रतिशत
५० हजार १ देखि ५ लाखसम्म ०.९ प्रतिशत
५ लाख १ देखि २० लाख सम्म ०.८ प्रतिशत
१० लाख १ देखि माथि ०.७ प्रतिशत

‘सेयर कारोबारको आकार बढेकालेे ब्रोकरले पाउने कमिशन घटाउन लागिएको हो,’ कार्कीले भने- ‘हामीले ५० प्रतिशतसम्म घटाउन प्रस्ताव गरेका छौं । अब अर्थ मन्त्रालयले के गर्छ कून्नि ?’

२०६४ सालमा तोकिएको कमिशन हालसम्म परिवर्तन नभएकाले परिवर्तन गर्नु आवश्यक रहेको उनले बताए ।

तर, धितोपत्र दलाल संघका पूर्वअध्यक्ष नरेन्द्र सिँजापतीले भने ब्रोकरलाई अन्य विभिन्न काम गर्ने अवसर प्रदान नगरी हाल पाउँदै आएको कमिशन घटाउन नहुने बताए ।

‘कारोबार बढेपछि कमिशन घट्नुहुन्न भन्ने हुँदै होइन तर कमिशन हाम्रो एकमात्र आयस्रोत भएकाले दलालले अर्को काम पनि गर्न देउ भनेका हौ,’ सिँजापतीले भने ।

हाल सेयर दलालले कारोबारको न्यूनतम ०.७ प्रतिशतदेखि अधिकतम १ प्रतिशतसम्म कमिशन पाउने व्यवस्था छ । तर, यथार्थमा ब्रोकरहरुले ०.६२ प्रतिशतमात्रै कमिशन पाउने गरेको सिँजापतीले बताए ।

‘ब्रोकरका नाममा जति कमिशन उठाइन्छ, त्यसको २५ प्रतिशत नेपाल स्टक एक्सचेञ्जले कमिशन शुल्क भनेर लिन्छ,’ उनले भने- ‘र, सरकारले १५ प्रतिशत टिडीएस -स्रोतमा करकट्टी) तिर्नुपर्छ,’ उनले भने- ‘यी सबै तिरेपछि ब्रोकरहरुले पाउने वास्तविक कमिशन ६२ प्रतिशतमात्रै हो ।’

ब्रोकर कमिशन घटाउने हो भने नेप्सेले लिने कमिशन पनि घटाउनुपर्ने उनले बताए । भारतमा सबै कट्टी गरेर ब्रोकरले खुद ६७ प्रतिशत पाउने गरेको सिँजापतीले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment