Comments Add Comment

‘को होला त्यो’ गायक ?

हिट गीत दिएका गुमनाम गायकको कथा

Sunil Giri (2)

को होला त्यो मसँग आँखा जुधाउने
नचिने’नि मसँग अलि लजाउने
डाँडापारिको गावैंमा
गोधूलि त्यो साँझैमा

उनको यो गीत रेडियो, टेलिभिजनमा सुन्ने र हेर्ने धेरै छन् । गीत चलेर धेरै संगीतप्रेमीको मुखमा झुन्डियोे । युट्युबकै कुरा गर्ने हो भने उनको त्यो गीत ४३ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

तर स्वर मन पराएका कमैले चिन्छन् उनलाई । उनको परिचय दिँदा पनि उनले गाएको गीतको सन्दर्भ जोड्नुपर्छ ।
ती अभागी गायक हुन् सुनिल गिरी । जसको नाम र चर्चालाई गीतको लोकप्रियताले छोपेको छ ।

तीन वर्षअघि ‘को होला त्यो’ लोक-पप स्वादको गीतसहित नेपाली संगीतमा झुल्केका हुन् सुनिल । पहिलो गीत नै अस्वाभाविक रूपमा हिट भइदियो । स्वर निकै रुचाइयो । गीतमा शब्द र संगीत पनि उनकै थियो । तर, आजका दिनसम्म पनि उनले सांगीतिक कन्सर्टहरूमा जाँदा ‘को होला त्यो’ गाउने गायक भनेरै परिचय दिनुपर्छ । त्यसै गरी उनलाई बोलाइन्छ ।

कतिले त आफूलाई नचिनेर ‘को होला गीत क्या दामी’ भनेर प्रशंसा गरेको उनले सामुन्नेमै सुनेका पनि छन् ।

गुमनाम हुनु पर्दाको अनुभूति सुनाउँछन् – ‘गीत र स्वर चलेअनुसार किन म नछाएको होला भनेर पक्कै मनमा लाग्छ । तर, मान्छेहरुले चिन्दैनन् भनेर गुनासो पनि छैन । आखिर मैले गाएकै गीत त चलेको हो । यसमै चित्त बुझाउँछु ।’

प्रशंसकहरूले कलाकारको सिर्जना रुचाएसँगै उसका सबै क्रियाकलापमा नजर राख्छन् । बानी कस्तो छ, कहाँ बस्छ, के खान्छ, मान्छे कस्तो छ भनेर याद गर्छन् । यो कुराले बिझाउँछ उनलाई । त्यस हिसाबले बाहिर नचिन्दा ठीकै पनि लाग्छ ।

कसैले नचिन्दा सामान्य रूपमा सार्वजनिक जीवनमा रमाउन पाएको भन्दै खुसी मान्छन् उनी ।

‘कहाँ देखे-देखे जस्तो लाग्छ’

गायकभन्दा गीत हिट हुँदा सुनिलले गीत नै आफ्नो परिचय मानेका छन् । गीतभन्दा बाहिरको चिनारी उनी चाहँदैनन् । भन्छन् – ‘आफ्नो काम राम्रो गरेमा सबै कुरा आफसेआफ मिल्छ भन्नेमा विश्वास गर्छु म । दायाँ-बायाँ चर्चाको पछि नलागी काममै मात्र एकोहोरिएकोले व्यक्तिगत रुपमा नचिनिएको हुन सक्छु ।’

Sunil Giri (6)

आज धेरै कलाकारहरू म्युजिक कम्पनीको आडमा चर्चामा आएको, मिडियामा छाएको देख्छन् उनी । कसैले सिफारिश गरिदिएर सांगीतिक कार्यक्रममा परेका कलाकार पनि भेटेका छन् । तर उनलाई यो सबै चित्त बुझ्दैन । कलाकार आफ्नै बलबुतामा र आफ्नै प्रतिभा-क्षमताले अगाडि आउनुपर्छ भन्ने उनी मान्छन् ।

अरुहरु चर्चाका लागि ढोका-ढोका कुदिरहँदा सुनिल भने कोठाभित्र बसेर गीतहरूको खोजीमा तल्लीन भइरहेका हुन्छन् । गीत कसरी राम्रो बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेका हुन्छन् । यसैले यी ‘कोठे प्रतिभा’ गीत, संगीत र शब्द मार्फत नै श्रोतासम्म पुगिरहेका छन् । नाम र अनुहारले उनको गायक चिनारी अझैसम्म राम्ररी बोकेको छैन ।

पछिल्लो समयमा भने विस्तारै आफ्नो चिनारी बढ्न थालेको उनले महसुस गरेका छन् ।

कतै निस्किँदा उनलाई कसैले के गर्नुहुन्छ भनेर सोध्दा उनी ‘विद्यार्थी हुँ’ भनिदिन्छन् । गायक हुँ भन्दै यस्तो र उस्तो गरेको छु भनेर बखान गर्ने उनको बानी छैन । तिनै मान्छेले पछि ‘कहाँ देखे-देखे जस्तो लाग्छ’ भनेर सोधखोज गर्छन् । सुरुमा नचिने पनि बुझ्दै गएपछि ‘को होला गाउने तपाईं पो हो ?’ भनेर खुसी साट्छन् । त्यस्ता शुभेच्छुकहरू बढ्दै गएका छन् ।

म त भाग्यमानी गायक

१०/१५ वर्ष संघर्ष गर्ने कलाकार ५०/१०० वटा गीत ल्याएर पनि त्यत्तिकै हराएर गएको धेरै देखेका छन् सुनिलले । यस हिसाबमा उनी आफूलाई भाग्यमानी मान्छन् ।

२०७० सालमा पहिलो गीत ल्याएका उनको अहिलेसम्म जम्मा १५ वटा गीत मात्रै आएको छ । दुई-तीन वर्षको छोटो समयमा आफ्नो गीत चलेर संगीत बजारमा स्थापित हुँदा त्यसलाई गतिलो कमाइ ठानेका छन् ।

उनी भन्छन् – ‘नाम र अनुहार चलेन भनेर यत्तिकै हराएको अवस्था पनि हैन मेरो । वर्षमा एक-दुईटा गीत हिट हुनु भनेको त आफूलाई भाग्यमानी गायक मान्छु । यत्तिको ख्याति पाउँदा गर्व लाग्छ ।’

‘को होला’ पछि उनको ‘देउराली भञ्ज्याङ’ र ‘तिमी आउँछौं कि भनी’ (को होला भाग २) गीत पनि स्रोताले रुचाए ।

यस हिसाबमा तीन वर्षे फड्कोले उनलाई सोचेजति दिएको छ । विभिन्न जिल्लामा सांगीतिक कन्सर्टका लागि निम्ता आइरहन्छ । पहिलो चोटि विदेश पनि जाँदै छन् । आउँदो सेप्टेम्बरमा दक्षिण कोरिया पुग्नेछन् । नयाँ गीतहरू गर्न प्रस्ताव पनि आएकै छ ।

विदेशमा हुने म्युजिक टुरको बारेमा पनि उनीसँग नमीठो अनुभूति रैछ । अहिलेसम्म देश बाहिरको कार्यक्रममा नगए पनि विदेशका आयोजकहरूले नयाँ कलाकारलाई ‘गिज्याएको’ पीडा मनभरि छ । सुनाए- ‘कार्यक्रमका लागि बोलाउनुभन्दा पनि उहाँहरू यसो यतातिर घुमफिर गर्न आउँदै गर्नुस् । भेटघाट गर्दै गर्नुस् त्यसपछि हामी विचार गरौंला भन्नुहुन्छ । हामी कलाकारको सम्मान गर्ने परिपाटी छैन ।’

तनहुँदेखि काठमाडौं

तनहुँको स्याम्घा गाविस शेखाटार गाउँमा जन्मिएका हुन् सुनिल । लोक भाका गुञ्जिरहने ठाउँ । स्कुले बेलादेखि नै उनीमा भने लोक पप संगीतको नशा चढ्दै थियो । संगीतको रस बुझेका साथीभाइ कोही नहुँदा आफैंभित्र गुनगुनाएर बस्थे ।

Sunil Giri (4)उनी प्रायः नारायण गोपाल, भक्तराज आचार्य, नवीन के भट्टराई र सुगम पोखरेलको गीत सुन्थे । तर, छाप चाहिँ कन्दरा ब्यान्ड र मंगोलियन हार्टका राजु लामाका लोक पप भाकाहरूले पारेका थिए ।

लोक गीतको भूमिमा आफ्नो लोक पप संगीतको चाहना त्यत्तिकै गुम्सिएर मर्ला कि भन्ने चिन्ता थियो उनलाई । ‘त्यसलाई जोगाएर फलाउन-फुलाउन कति बेला गाउँ छोडूँ भन्ने सुरमा थिएँ,’ सपनाको उडानबारे सुनाए ।

नभन्दै २०६१ मा एसएलसी दिएको एक वर्षपछि उच्च शिक्षा अध्ययनका लागि राजधानी हान्निए ।

सारेगम कला केन्द्रमा अशोक पौडेलसँग संगीत सिक्न थाले । पछि गान्धर्व इन्स्टिच्यूटमा चन्दन श्रेष्ठसँग ६ वर्ष शास्त्रीय संगीत सिके । रागहरूको ज्ञानले स्वर तिखार्दै आफूमा संगीतको जग गहिरो गरी बसाए । तर, उनको रुचि थियो लोक पप विधामा । आफूले सिकेको ज्ञानलाई लोक पपमै उपयोग गर्ने तयारी गर्दै थिए ।

कला क्षेत्रप्रति उनको झुकाव घरपरिवारलाई मञ्जुर थिएन । सामान्यतया हरेक नेपाली घरको रोग ! यसैले आफ्नो सपनाको जलप चम्काउँदै घरपरिवारको पनि चित्त बुझाउन औपचारिक अध्ययन पनि बढाउँदै थिए । अंग्रेजी विषय लिएर स्नातक गरे ।

बुवाको चाहना छोरालाई इन्डियन आर्मी बनाउनु थियो । बुवा र चार जना काकाहरु इन्डियन आर्मीमै थिए । छोरा सुनिल भने राजधानीमा राग र सुरको गोला-बारुदमा कायल भइरहेका । पढाइलाई राम्ररी सम्हाल्दै परिवारलाई थाहै नदिई संगीतको महासागरमा पौडिरहेका थिए । त्यस क्रममा ६/७ वर्षमा गाउन सक्ने क्षमता र कस्तो लय बनाउने भनेर क्षमता हासिल गरे ।

लामो अध्ययन र मिहिनेतपछि ‘को होला त्यो’ गीत नेपाली संगीतलाई दिए । मिहिनेत र लगनले काम गर्‍यो । गीतले श्रोताहरूबीच जादु देखायो ।

उनी आफैं गीत लेख्थे । गीत कम्पोज पनि गर्थे । आफ्नै शब्द/संगीतमध्येबाट पनि अलि राम्रो छानेर त्यो गीत निकालेका थिए ।

‘सिकेरै गरुँ भनेर आफ्नो काममा विश्वास भएपछि मात्र गीत बनाएको थिएँ । हतारमा कहिल्यै हिँडिन,’ आफ्नो संगीत साधनाबारे सुनिलले बताए ।

गीतको म्युजिक भिडियो पनि बन्यो । मोडल पल शाहले सोही गीतबाट ‘नोटिस’ हुने गरी मोडलिङमा डेब्यू गरे । पलको जोडी थिइन् प्रकृति श्रेष्ठ । भिडियोभित्र लिप्सिङमा गायक आफैं पनि देखिएका थिए । पल र प्रकृति त्यही गीतको भिडियोबाट अन स्क्रिन जोडीका रुपमा रुचाइएर अरु म्युजिक भिडियोमा पनि चर्चित भए । तर, यी गायक भने नाम र अनुहारकै संकटबीच अझै संघर्षमै छन् ।

मेलोडी कहिल्यै मर्दैन

संगीतमा नयाँ प्रविधि जति तीव्र रुपमा आएको छ, पछिल्लो समय नयाँ कलाकारहरू थपिने क्रम पनि बढेको छ । चाँडै चर्चामा आउने होडबाजी पनि छ ।

Sunil Giri (5)

सुनिल अहिलेका कलाकारको चर्चाको भोक केलाउँछन् – ‘भोलि बिहान युट्युबमा आफ्नो गीतको भ्यू कति पुग्यो ? समाचारमा आफ्नो बारे आयो-आएन ? भनेर हिसाबकिताबमै दौडिने प्रवृत्ति बढी छ । आफ्नो काममा विश्वास गर्ने र धैर्य राख्ने कम छन् ।’

गीत चाँडै चर्चित बनाउन अश्लीलताको सहारा लिनेहरू पनि त्यत्तिकै छन् । कतिसम्म भने जनजीवनको गीत भनिने लोकगीतहरूमा समेत शब्द र म्युजिक भिडियोमा अश्लीलता उम्लिएको देखिन्छ ।

उनी भने गीत लेख्दा ग्रामीण विम्बको प्रयोग गर्छन् । भञ्ज्याङ, चौतारी, बगर, खोलाको कुरा ल्याउँछन् । सरल शब्दमा दैनिक जनीवनका कुरा लेख्नु उनको शैली बनेको छ । क्षणिक चर्चाको लागि जस्तोसुकै हतकण्डा अपनाउने अहिलेको सांगीतिक लहरभन्दा उनी पर छन् ।

भन्छन् – ‘हल्काफुल्का गीत बनाएर रातारात हिट होला । त्यसले क्षणिक चर्चा होला । तर आखिरमा मेलोडीकै जित हुन्छ । पछिसम्म बाँचिरहने मेलोडी नै हो ।’ मेलोडीकै कारण तीन वर्षअघिको आफ्नो पहिलो गीत अझैसम्म श्रोताको मनमनमा बसेको उनी सन्दर्भ जोड्छन् ।

प्रायःजसो आफ्नै शब्द र संगीतमा गाउने उनी पछिल्लो समय अरुका सिर्जनामा पनि गाउन थालेका छन् । लोक पपमा मात्र सीमित नभएर आधुनिक गीतमा पनि गला पस्किन अघि सरेका छन् । कुनै ठूलो सपना साँचेका छैनन् । सांगीतिक कार्यक्रममा जाँदाको कमाइले जिन्दगी चलेेकै छ । त्यस्तो सेलिबि्रटीको जीवनशैली धान्नै गाह्रो पर्ने ठाँट पनि अपनाएका छैनन् ।

सामान्य जनजीवनका सामान्य भाका हाल्ने यी गायकको चाहना छ – ‘कहिल्यै पनि संगीतबाट टाढा हुनु नपरोस् । वर्षमा एक-दुई गीत भए पनि दिइरहन पाऊँ ।’

सुनिलका बुबा ६ वर्षअघि इन्डियन आर्मीबाट रिटायर्ड भइसके । छोरा संगीतमा लागेको थाहा पाएर पहिला निकै चित्त दुखाएका थिए । अचेल छोराको सुरिलो भाका यत्रतत्र बजेको सुनेर रिटायर्ड बा मनैमन खुसीको तोप पड्काउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment