२३ असार, काठमाडौं । चीनसँगको कोरला नाकाबारे अध्ययन गर्न भन्दै तीन उपप्रधानमन्त्री, राज्यमन्त्री र पूर्वप्रधानमन्त्रीसहितको टोली मुस्ताङ पुगेर फर्किएको छ ।
उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, भीमबहादुर रावल र टोपबहादुर रायमाझीका साथै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको टोली विहीबार हेलिकोप्टर चढेर त्यहाँ पुगेका हुन् ।
मुस्ताङ भ्रमणको टोलीमा अर्थ राज्यमन्त्री, मुस्ताङ जिल्लाका सांसदहरु र प्रमुख जिल्ला अधिकारीसमेत सहभागी थिए । उनीहरुले कोरला नाकाको निरीक्षण गर्ने भने पनि चीन सरकारले दलाई लामाका कार्यकर्ता घुसपैठ हुन सक्ने भन्दै यो नाका बन्द भएको घोषणा गरिसकेको छ ।
उनीहरुले उत्तरी मुस्ताङको लोमाथाङमा २० मिनेट विताएको लोमाथाङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्र्तगत अन्नपूर्ण संरक्षण आयोजना, लामाथाङ इलाका प्रमुख तुलसी दाहालले अनलाइनखबरलाई बताए ।
कोरला नाकाको सम्भाव्यता अध्ययन गर्न भन्दै नेपाली सेनाको हेलिकोप्टर चढेर उनीहरु त्यहाँ पुगेका हुन् । अवलोकनपछि ‘नाकाको भौगोलिक अवस्था ठीक रहेछ, व्यवस्थित गरेर अब केही गर्नुपर्छ” भन्दै फर्किएको दाहालले बताए ।
कोरलाको नाका अवलोकनपछि उनीहरुले लोमाङथानमा सेनाको क्याम्प राख्ने ठाउँको समेत अवलोकन गरेका छन् । उर्जामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझी हावाबाट निकाल्ने बिजुलीबारे अध्ययन गर्न भन्दै मुस्ताङ गएका हुन् ।
त्यसैगरी मन्त्री गच्छदारले जोमसोम कोरला बाटोको अध्ययन गर्ने र रावलले सैनिक क्याम्प राख्ने जग्गाको अनुगमन गर्ने बताएका थिए ।
लोमाङथानको सैनिक क्याम्पको जग्गा हेर्ने बाहनामा मुस्ताङ पुग्ने मन्त्रीहरुको संख्या अहिलेसम्म दर्जन नाघिसकेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया 4