२५ असार, काठमाडौं । १३ जना नेपालीको ज्यान जारी गरी भएको काबुल आक्रमण र त्यहाँ कार्यरत नेपालीहरुको अवस्थाबारे सरकारले टोली पठाउने भएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा केही समय अघि भएको आक्रमणमा १३ नेपालीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् ।
काबुलस्थित क्यानडा दूताबासको सुरक्षामा खटिएका नेपालीहरु चढेको बस तालिबानको आक्रमणमा परेको थियो ।
श्रममन्त्री दीपक बोहोराका अनुसार अबको केही दिनमा नै नेपाली टोली काबुल जानेछ । व्यवस्थापिका संसदमा विनियोजन विधयेक माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै श्रममन्त्री बोहोराले ‘फ्याक्ट फाइण्डिङ’ टोली पठाउन लागेको बताए ।
‘अफगानिस्तानको ग्रीन जोनमा काम गरेर फर्किएकालाई करार अवधिभर काम गर्न जान उनीहरुकै जमानीमा श्रम इजाजत दिएका छौं’ श्रममन्त्री बोहोराले भने-‘केही ग्रीन जोनमा दिइएको श्रम इजाजतबारे पनि प्रश्न उठेकाले अबको ८/१० दिनमा अनुसन्धान टिम त्यता पठाउन लागेका छौं ।’
उनका अनुसार टोलीमा श्रम मन्त्रालयका अधिकारीहरुका साथै नेपाल प्रहरी र अध्यागमनका अधिकारीहरु पनि हुनेछन् ।
काबुल घटनापछि सरकारले अफगानिस्तानसहित चार देशमा कामदार पठाउन रोक लगाएको छ । तर, अवैधानिक रुपमा जानेहरु भने रोकिएका छैनन् भने यसअघि नै अफगानिस्तान पुगेका नेपाली कामदारको सुरक्षामा पनि प्रश्न उठ्दै आएको छ ।
प्रतिक्रिया 4