२६ असार, ताप्लेजुङ । ताप्लेजुङको लेलेपस्थित घुन्सा खोलामाथिको पुल बाढीले बगाएपछि जङ्गलमा नै फसेका गोठालालाई केही दिन पुग्ने खाद्यान्न र लत्ताकपडा पुर्याइएको छ ।
बिहीबार बिहान आएको बाढीले पुल बगाएर घर फर्कने अवस्थामा नरहेका उनीहरुलाई केही दिनका लागि पुग्ने गरी खाद्यान्नलगायतका सामग्री घुन्साका स्थानीयवासीले पुर्याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
केही दिनअघि चौँरी लिएर गएका स्थानीयवासी २३ परिवार चौँरी लिएर फर्कन नसक्ने भएकाले उनीहरुका लागि केही दिनलाई पुग्ने खाद्यान्नसहितका सामग्री घुमाउरो सात घन्टा लामो बाटो हुँदै पुर्याएको घुन्साबाट चुङ्दाक शेर्पाले बताए । शेर्पाका अनुसार केही दिनमा नै स्थानीयवासीको सक्रियतामा काठे पुल निर्माण गरी गाउँमा फर्काउने तयारी भएको छ ।
घुन्सा खोलामा आएको बाढीले खोलामाथिको पुल बगाएपछि चौँरी गोठ लिएर जङ्गल गएका घुन्साका १५ र फलेका आठ परिबार जङ्गलमा नै फसेका थिए ।
गोठहरु अहिले घुन्सामाथिको रामदाङ, नुप्चुभेल्ली र थाम्दाङ क्षेत्रमा रहेका छन् । बाढीले बगाएको पुल निर्माणका लागि कम्तीमा पनि छ लाखसम्म लाग्ने र त्यो पनि वर्षा कम भएको समयमा मात्रै सम्भव हुने स्थानीयवासीको भनाइ छ ।
प्रतिक्रिया 4