Comments Add Comment

प्रहरीमा राम्रालाई पुरस्कार, खरावलाई तिरस्कार

७२ जनालाई कारवाही, ४६ जना पुरस्कृत

Nepal-Police

२६ असार, भैरहवा । केही महिना अघि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा क्राइम एक्सान प्लान (क्याप) का सूचना टोली कमाण्डर प्रहरी नायब निरीक्षक रविन्द्र चन्दले आफ्नै हाकिम जिल्लाको प्रहरी उपरीक्षक (एसपी) बुद्धिराज गुरुङ्गलाई मोबाइल मेसेज मार्फत गोली हान्ने धम्की दिए ।

उनले प्रहरीलाई नै धम्की दिएको कुनै पहिलो पटक होइन यस अघि पनि पर्सा जिल्लामा कार्यरत रहँदा उनले एक प्रहरीलाई गोली नै हानेका थिए ।

त्यसपछि उक्त विषय नेपाल प्रहरीको हेडक्वाटरमा जानकारी भयो र कारवाहीका लागि चन्द प्रहरी हेडक्वाटर तानिए । पटक पटक विभिन्न कार्यवाही भोगीसकेका चन्दलाई सेवाबाट बर्खास्त गर्ने बाहेक अन्य कुनै कार्यवाही नै बचेको थिएन ।

घटनाको छानबिन पछि नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालयको निर्देशनमा चन्द नेपाल प्रहरीको लागि उपयुक्त नरहेको भन्दै सेवाबाट नै बर्खास्त गरियो ।

त्यस्तै अपराधको सफल अनुसन्धान, जनतालाई मुस्कान सहितको सेवा दिएको, चेन अफ कमाण्डमा रहेको काम गरेको, फिल्डमा राम्रो लगायत विभिन्न उत्कृष्ट काम गरेको कारण जिल्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्की र महेन्द्र खड्का पुरस्कृत भए । पुरस्कार स्वरुपमा उनीहरुलाई एक/एक हजार रुपैयाँ नगद प्रदान गरियो ।

नेपाल प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कार र प्रहरी आचारणविरुद्ध काम गर्नेलाई कार्वाही गर्दै आएको छ ।

७२ जनालाई कारवाही, ४६ जना पुरस्कृत

चालु आर्थिक वर्ष २०७२/०७३ को असार २६ गते सम्म रुपन्देही जिल्लामा कार्यरत ७२ जना प्रहरीलाई कारवाही र ४६ जना प्रहरीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा ७२ जना प्रहरीलाई भएको कारवाही मध्ये ८ जनालाई सेवाबाट बर्खास्त गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी रामेश्वर कार्कीले बताए ।

जसमध्ये १ जना प्रहरी नायव निरीक्षक र ७ जना प्रहरी जवान रहेका छन् । त्यस्तै २ जना प्रहरी जवानलाई निलम्बन गरिएको, २ जना प्रहरी हवल्दारलाई एक तल घटुवा कार्यवाही गरिएको छ । यस्तै १४ जनालाई ग्रेड घटुवा कारवाही गरिएको छ । जसमध्ये २ जना प्रहरी साहयक निरीक्षक, ३ जना प्रहरी हवल्दार र ९ जना जवान रहेका छन ।

३ जनाको पदोन्नती रोक्का गरिएको छ जसमध्ये एक जना हव्लदार र २ जना जवान छन् । यस्तै ३१ जनालाई नसिहद कारवाही गरिएको छ । जसमध्ये एक जना प्रहरी नायब निरीक्षक, ४ जना प्रहरी साहयक निरीक्षक, ३ जना हवल्दार र २३ जना जवान रहेका छन् ।

कारवाही भएका मध्ये १२ जनालाई चेतवानी दिइएको छ जसमध्ये २ जना प्रहरी सहायक निरीक्षक, ३ जना हल्वदार र ७ जना जवान रहेको डिएसपी कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

कार्यवाहीमा पर्ने अधिकांश प्रहरीहरु मादक पदार्थ सेवन गरी ड्युटी गर्ने, आर्थिक अनियमितता, समयमा काम नगर्ने, चेन अफ कमाण्डमा नरहने लगायत प्रहरी नियमावली विरुद्ध काम गर्नेहरु छन् ।

त्यस्तै जनताको सेवामा तत्तपर रही संगठनलाई योगदान गरी पुरस्कृत हुनेहरुमा ४६ जना मध्ये २ जना नायब उपरीक्षक, १० जना निरीक्षक, ६ जना नायब निरीक्षक, २ जना सहायक निरीक्षक, १० जना हवल्दार र १८ जना जवान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment