Comments Add Comment

दुई राप्रपाको एकता तयारीः अध्यक्ष थापा, राजतन्त्रबारे महाधिवेशनले निर्णय गर्ने

Rpp-And-Rpp-nepal-barta

२६ असार, काठमाडौं । राप्रपा नेपाल र राप्रपा पार्टी एकता नजिक पुगेका छन् । पार्टी एकताबारे वार्ता गर्न गठित दुई दलीय समितिले पार्टी एकताबारे नीतिगत र संरचनागत विषयमा सहमति नौबुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा राप्रपाका वार्ता समितिका संयोजक बुद्धिमान तामाङले १० रेक्टरको भूकम्पले पनि असर नगर्ने गरी पार्टी एकताको जग बनेको दाबी गरे । राप्रपा नेपालका वार्ता समितिका संयोजक राजिव पराजुलीले अब ढिलोमा दुई साताभित्र पार्टी एकताको घोषणा भइसक्ने दाबी गरे ।

वार्ता टोली स्रोतका अनुसार नौबुँदे सहमतिमा संघीयता, संवैधानिक राजतन्त्रबारे महाधिवेशनले टुंगो लगाउने उल्लेख छ ।

सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सपेक्ष हिन्दुराष्ट्रमा पनि वार्ता टोलीले सहमति जुटाएको छ । संविधानमा राप्रपाले धर्म र राप्रपा नेपालले धर्म, गणतन्त्र, र संघीयताबारे फरक मत दर्ता गरेकाले पार्टी एकतापछि संविधानको आलोचनात्मक समर्थन गर्ने पनि वार्ता टोलीको सहमति छ ।

यस्तै पार्टीको नेतृत्वबारे पनि सहमति भएको छ । ‘अध्यक्षमा राप्रपा नेपालका वर्तमान अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्षमा राप्रपा अध्यक्ष रहने समझदारी भएको छ’ वार्ता टोलीका एक सदस्यले अनलाइनखबरसँग भने ।

दुबै पार्टीबाट १५०/१५० जना रहने गरी संयुक्त केन्द्रीय समिति बनाउने समझदारी पनि वार्ता टोलीले गरेको छ ।

वार्ता टोलीले भोलि दुबै पार्टीका अध्यक्षलाई संयुक्त रुपमा सहमति बुझाउनेछ । र, दुबै पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेपछि एकता प्रक्रिया अघि बढ्नेछ ।

तर, वार्ता टोलीमा केही विमति देखिएको र नेता प्रकाश चन्द्र लोहनी असन्तुष्ट रहेकाले एकता प्रक्रिया सहजै अघि बढ्नेमा शंका रहेको एक नेताले बताए । स्रोतले भन्यो, एकता हुनुपर्छ भन्नेमा एकमत छौं । तर, प्रक्रियाका विषयमा विमतिहरु छन् । यसले दरार ल्याउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment