Comments Add Comment

रुपन्देही प्रहरीलाई ब्लफ कलको सास्ति, दुख दिनेमा केटीहरु पनि

police-call-control
२७ असार, भैरहवा । कन्ट्रोल रुममा लगातार आउने ब्लफ कलले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई हैरान बनाएको छ । ब्लफ कल गर्नेहरुले फोन उठाउने प्रहरीलाई अपशब्द प्रयोग गर्दै गाली गर्छन् ।

जुनसुकै फोनबाट १०० नम्बर डायल गरेपछि जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुपमा घन्टी बज्छ । सुरक्षा सम्वन्धि कुनै पनि आपत्कालिन सेवाका लागि यो हटलाइनको व्यवस्था गरिएको हो । तर, यो सुविधालाई दुरुपयोग गर्दै प्रहरीलाई सास्ति दिने क्रम बढिरहेको छ ।

‘ड्युटीका लागि खटिएका प्रहरीले फोन उठाएर हेलो भन्नासाथ उताबाट गालीको वषर्ा सुरु हुन्छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कन्ट्रोल रुम शाखामा कार्यरत प्रहरी जवान अजय कुमार क्षेत्री भन्छन्, ‘परिवारलाई समेत मुछेर अपशब्द प्रयोग गर्दै एकोहोरो गाली गर्छन् ।’ कारवाहीको डर देखाउँदा रोकिनुको साटो झनै कस्सिएर गाली गर्ने गरेको उनको अनुभव छ ।

प्रहरी जवान क्षेत्रीका अनुसार कन्ट्रोल रुममा ब्लफ कल गर्नेमा १२ वर्षदेखि २० वर्षभित्रका किशोर-किशोरी धेरै हुन्छन् । ‘ती नम्बरहरुमा सोधखोज गर्नका हामीले फोन गर्दा उठ्दै उठ्दैन,’ उनले भने ।

यस्तो घटना आक्कलझुक्कल मात्रै हुने होइन । हरेक दिन हुन्छ । कन्ट्रोल रुममा दैनिक औसत ४० जना व्यक्तिले ब्लफ कल गर्ने गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रामेश्वर कार्कीले बताए ।

ब्लफ कल गर्नेमा केटाहरु मात्र नभएर केटीहरु पनि उत्तिकै रहेको उनको भनाई छ । कार्कीले भने, ‘केटाहरुले ब्लफ कल गर्दा एकहोरो गालीगलौज गर्छन् भने केटीहरु अनावश्यक जिस्किएर टाइम पास गर्न खोज्छन् । दुवै थरीलाई सम्झाई बुझाई फोन राख्ने गरेका छौँ ।’

तर अब कन्ट्रोल रुममा फोन गरेर गालीगलौज गर्ने तथा अनावश्यक कुरा गर्नेहरुमाथि कारवाही गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रवक्ता कार्कीले ब्लफ कल गर्ने व्यक्तिको नम्बर रेकर्डमा राख्ने गरेको बताए ।

अब उनीहरुलाई पक्राउ गरेर कारवाही गर्ने योजना बनाएको उनले जानकारी दिए । कार्कीका अनुसार कन्ट्रोल रुममा ब्लफ कल गर्नेमा अधिकांश एनसेल सिमकार्ड प्रयोगकर्ताहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment