२८ असार, बुटवल । बुटवलको तिनाउ पुलमा परेका खाल्डा रातारात टालिएको छ ।
गएराति तिनाउमा परेका खाल्डाहरु टालिएको हो । रातमा सवारीको चाप कम हुने हुँदा रातारात टाल्नुपरेको पुल योजना सेक्टर नं ३ नेपालगंजले जनाएको छ ।
बुटवलबाट पश्चिम जोड्ने एकमात्र बुटवलको तिनाउपुल कालोपत्रै भएको दुइ हप्ता नबित्दै उप्किएर खाल्डै खाल्डा परेको थियो ।
जेठको अन्तिम साता सडक बिभाग अन्तर्गतको पुल योजना सेक्टर नं ३ नेपालगंजले गरेको काम गुणस्तरहिन भएको प्रमाणित भएपछि चौतर्फी आलोचना भएको थियो । पुलको आयु लम्बाउनका लागि कालोपत्रे, रंगरोगन तथा मर्मत गरिएको थियो ।
अहिले पुलका बिभिन्न भागमा कालोपत्रे उप्किएर सवारी आवागमनमा समेत समस्था थपिएको थियो भने पुलमा सयौं प्वाल परेका थिए । २०३८ सालमा निर्माण भएको यो पुल जिर्ण भएपछि पुल थर्कने र जोइन्ट समेत हल्लिने समस्या भएका कारण मर्मत तथा रंग रोगन पनि गरिएको हो ।
दिनहुँ हजारौं सवारी र सयौं यात्रुहरु सोहि पुल भएर हिड्ने गर्दछन् । पुलको मर्मतका नाममा भएको गुणस्तरहिन कामको स्थानीय तथा यात्रुहरुले पनि बिरोध गरेका थिए ।
तर पुल योजना सेक्टर नं ३ नेपालगंजका डिभिजन इन्जिनियर गणेश गौतमले भने मर्मतका बेला दिनहु पानी परेको र एक दिनमै काम गर्नुपरेकोले उप्किएको स्वीकारे उनले अब भन पहिलेको जस्तो समस्या नहुने पनि बताए ।
यो पनि पढ्नुहोस्
कालोपत्रे गरेको दुई साता नबित्दै तिनाउ पुलमा खाल्डै खाल्डा