२९ असार, रौतहट । तोकिएको मूल्य लिएर पनि कम परिमाणमा तेल बेच्दै ग्राहक ठग्ने रौतहटका दुई पेट्रोल पम्पमा सरकारको अनुगमन टोलीले शीलबन्दी गरेको छ ।
रौतहटको सरमुजुवा गाविस- ८ बंकुलमा रहेको प्रविण आयल स्टोर्स र ओम आयल ट्रेड कन्सर्नमा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जको टोलीले शीलबन्दी गरेको हो ।
नाप तौल, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी रौतहटको संयुक्त टोलीले मंगलबार अनुगमन गर्दा प्रविण आयल स्टोर्समा प्रति १० लिटर डिजलमा ४० मिलिलिटर र ओम आयल ट्रेड कन्सर्समा प्रति १० लिटर पेट्रोलमा ६० मिलिलिटर घटी पाइएको थियो ।
कम परिमाणमा तेल दिएर ग्राहक ठग्ने दुबै पम्पका सञ्चालक भने फरार भएको प्रहरीले जनाएको छ । अनुगमन टोलीले पक्राउ गर्ने डरले सञ्चालकहरु फरार भएको र उनीहरुको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिए ।