Comments Add Comment

ओलीमण्डलीलाई हेक्का होस्-प्रचण्ड राजनेता हुन्

ओलीलाई प्रचण्डले नै प्रधानमन्त्री बनाएका हुन्

prachandaजनता सुनिरहने, प्रधानमन्त्री मीठो बोल्दै रिबन काटिरहने भद्दा औपचारिकताको क्रमभंगता भएको छ । हजार सपनाहरुको उधारो सरकारी व्यापारमा संविधान कार्यान्वयनका लागि गृहकार्य गर्न निरन्तर खेर फालिँदै गरेको अमूल्य समय थप खेर नफाल्ने युगवोध हो यो । वाम एकताका नाममा मण्डले र कुण्डलेहरुले खाँटी गणतन्त्रवादीहरुलाई लोकतन्त्रको जोक पण्डित्याइँ गर्ने पाखण्ड शासनको पतन हो यो ।

सुन्दर मुहार र मुस्कानभित्र लुप्त कुटिल नयाँ महाराजा शैलीको बदलाभावी सत्ताकोे अन्त्य हो यो । मधेस आन्दोलनलाई सडकमै सुताइदिएर सिके राउत र विप्लवहरुलाई उर्वर जन र भूमि व्यवस्था गरिदिने शासकीय भूलको अल्पविराम हो यो ।

भूकम्पका प्रहार र नाकाबन्दीको कहरमा पनि सरकारप्रति नरम बनेका जनताको मौन धैर्यताप्रति सत्ताले गरेको निरन्तर उपहासको प्रतिरोध हो यो । आफ्नो कुटनीतिक चार्तुय क्षमताको कमजोरी लुकाउन छिमेकीलाई सत्तोसराप गरेर पानीमाथिको ओभानो हुने छदम राष्ट्रवादको मुकुण्डो उघि्रएको घडी हो यो ।

र, वाम साझेदारीको ब्यानरमुनिका खञ्चुवाहरुले प्रजातन्त्रिक र गैर-प्रजातान्त्रिक कित्तामा ल्याइरहेको निरन्तर राजनीतिक विभेदको समाप्ति पनि हो यो ।

यस्तै यस्तै मानेमा माओवादीले प्रधानमन्त्री केपी ओलीको १८ दलीय सत्ता गठबन्धनलाई दिएको समर्थन फिर्त्ता लिएको असार २८ को दिन धमिलिएको राजनीति संग्लो पार्ने एक शुभ घडी हो ।

यो संविधान कार्यान्यनको सुनिश्चितताको प्रस्थान विन्दु हो, जनताप्रति उत्तरदायी हुने नयाँ सरकारको खोजी हो । कुरै कुरामा सत्ताको मातमा रमाउनेहरुका लागि यो प्रहार भए पनि आन्दोलित मधेस सत्ता र संविधानको अंशियार बन्ने थालनी हो ।

र, यी सबै ढोका खोल्न राजनीतिक जुवाको जोखिम मोल्ने माओवादी प्रचण्ड संक्रमणकालीन राजनीतिक निकासका लागि पुन उदाएका एक राजनेता नै हुन् ।

प्रचण्डले आउँदा दिनमा यस्तै छलाङ मार्न सके भने गणतन्त्रका दिन थप उज्याला हुँदा उनलाई सिंहदरबारको बास निश्चित हुनेछ । अन्यथा फेरि पनि उनलाई यो चप्परी मुनिको बास भनेझैं हेगको यात्रा हुने पक्का छ

खुकुरीको धारमाथि टेकेर राजनेताको भूमिकामा देशको व्यवस्था र जनताको अवस्थामा तात्विक सुधार र परिवर्तनको जोखिम मोल्ने प्रचण्डले आउँदा दिनमा यस्तै छलाङ मार्न सके भने गणतन्त्रका दिन थप उज्याला हुँदा उनलाई सिंहदरबारको बास निश्चित हुनेछ । अन्यथा फेरि पनि उनलाई यो चप्परी मुनिको बास भनेझैं हेगको यात्रा हुने पक्का छ । त्यसैले ओलीको पतन, प्रचण्डको वेइमानी वा नयाँ मुसे राजनीतिको उदय हैन, नयाँ सहमतीय राजनीतिको पुनःथालनी हो ।

सत्ता दम्भको परिणाम

के गर्छस् मंगले आफ्नै ढंगले भन्ने नेपाली लोकोक्ति ठयाक्कै मेल खान्छ गत असोज २५ मा गठन भई असार २८ मा अल्पमतमा परेको केपी ओली सत्तागठवन्धन पतनका प्रसंगमा । जेठ २५ को १६ बुँदे सहमतिको जगमा तत्कालीन चार दलले संविधान जारी गरे पनि ओलीलाई सत्ता हस्तान्तरण गर्न कांग्रेस राजी नहुँदा प्रचण्डले बाजी लाएर ओलीलाई सिंहदरबार पठाएका थिए ।

ओलीले एमालेको आर्जन पौरखमा हैन, कांग्रेसको धोकाघडीमा प्रचण्डको शाहसिक निर्णय क्षमतामा प्रधानमन्त्री हुने सौभाग्य पाएका थिए । यो क्रुर सत्यमा टेकेर सत्ता सञ्चालन गर्नुपर्ने ओलीले जसै आफूलाई गणतान्त्रिक महाराजाको शैलीमा सपनै सपनाको ओली युग रचना गर्न मस्त भए । उनले भुसुक्कै बिर्से, आफ्नो सत्तायात्राको जग, सारथी र चुनौति । आफू चढेको भर्‍याङ बिर्सँदै जाँदा लडिन्छ, त्यही भएको हो ओलीसत्ता गठबन्धनलाई ।

एउटा सहयोगी छिमेकीले कमजोर छिमेकीलाई बिहे गर्न ऋण सापटी दिन सक्छ । तर सुत्केरी हुँदा पनि त्यही छिमेकीसँग ऋण माग्न गए नादानी र लिच्चड ठहरिन्छ । कांग्रेसले सुरुवाल खोलेर सत्तायात्राको बाटो छेकिदिँदा नयाँ सारथी बनेका माओवादी र प्रचण्डलाई सत्ता सञ्चालनका ९ महिने यात्रामा कति महत्व दिए ओलीले ? सधै बहुमत जोगाउन र बजेट पास गराउन बाहेक प्रचण्ड खोजी कति गरियो वालुवाटार, सिंहदरवारमा ?

संविधान नमान्ने कमल थापा र चित्रबहादुर केसीहरुलाई सुन्ने तर प्रचण्डलाई हँसिलो मुहारभित्रको  कुटिल मुस्कानमा चपाइदिन खोज्ने नयाँ भूतले ओली आफैंलाई झम्टँदा सरकार गिर्ने अवस्था आएको हो

हो, प्रचण्डलाई जनयुद्धकालीन प्रतिरोधी कुण्ठाहरुकै पुनरावृत्तमा ठेगान लगाइदिने कुटिल झापाली मनोवृत्तिको पराकाष्टा प्रदर्शनकै जवाफमा ओली अल्पमतमा परेका हुन् । यो  एमाले र माओवादीको गम्भीर मतभिन्नताको परिणति हैन, न त एमाले भर्सेज माओवादीको नयाँ आमने-सामनेको तयारी ।

संविधान नमान्ने कमल थापा र चित्रबहादुर केसीहरुलाई सुन्ने तर प्रचण्डलाई हँसिलो मुहारभित्रको  कुटिल मुस्कानमा चपाइदिन खोज्ने नयाँ भूतले ओली आफैंलाई झम्टँदा सरकार गिर्ने अवस्था आएको हो । गृह र उपप्रधानमन्त्री भैसकेका ओलीले गठबन्धन सरकारका न्यूनतम मूल्य मान्यतालाई आत्मासात गरेर प्रचण्डलाई रिझाउने रणनीतिमा आफूलाई शेर र प्रचण्डलाई मुसा नसम्झेको भए,  प्रचण्डले ओलीलाई काँध थापेरै वैतरणी तराउन हौसेकै थिए, मध्य बाटोसम्म उनलाई बोकेकै हुन । त्यसैले गाली, समर्थन फिर्त्ता लिन वाध्य पार्ने ओलीका निरंकुश प्रतिरोधी शासकीय कुण्ठाहरुलाई गरे राम्रो ‘आई एम वीथ केपी ओली’ मार्काले ।

गठबनधनको थैली दह्रो बाँध्न नसक्ने र प्रचण्डलाई सत्तोसराप गर्ने प्रवृत्ति आकाशतिर फर्केर थुक्ने दुस्साहस हो, एमालेजनलाई चेतना होस् ।

प्रचण्डलाई नबुझ्ने लालबुझक्कडको दम्भ

दश वर्षे जनयुद्धका हिमायतीहरुका नायक र पीडितहरुका खलनायक प्रचण्डले देश बदल्ने कसम पूरा गर्न नसकेपछि आफैं बदलिएर वर्तमान शान्ति राजनीतिमा आएका हुन् । त्यसैले उनले ‘जस्तो व्यवस्था उस्तै नेता’ को नेतृत्व क्षमतामा आफूलाई ढाल्दै गए । पछिल्लो सत्तागठबन्धनसँग उनको पारपाचुके पनि यसैको एक अभ्यास हो । अब प्रचण्डसँग त्यो जनयुद्धकालीन हैन, अहिलेको संसदीय खेलको छवि मात्रै छैन, क्षमता पनि छ ।

प्रचण्डलाई सूर्यछापवालाहरुले खासगरी ओली एमालेहरुले सत्तोसराप गर्नु स्वभाविक किन छ भने उनीहरुले ओलीराजका बेला खाईपाई आएको सबै सेवा सुविधामा कैंची लगाइदिएका छन् । तर, प्रचण्ड पीरतीको भार थेग्न नसकेर एमाले र खासगरी ओलीपन्थी एमालेहरुले नै आफूलाई सत्ताको खाईमत्याई लागेर प्रचण्डलाई गलहत्याएका हुन् । अर्थात माओवादीलाई सत्ता बर्हिगमनका लागि विवश गर्ने अरु कोही नभएर ओली मण्डली हुन् ।

त्यसकारण प्रचण्डलाई सत्तोसराप गर्नेले पहिले आफ्नो अनुहार ऐनामा हेरे राम्रो । सरकार अल्पमतमा पर्नुको फोहोर ओलीमण्डलीको अनुहारमा छ, न कि प्रचण्डको ऐनामा ।

प्रचण्डले ओली सत्ता गठबन्धन ढालेको बात जसरी एमालेले थोपरिरहेको छ, त्यो एमालेको र खासगरी ओलीपन्थीहरुको आफ्नो आङमाथि भैसी नदेख्ने अरुको जीउमा जुम्रा देख्ने दृष्टिदोष हो । ओलीलाई थाहा थिएन गत वर्ष जेठ २५ को १६ बुँदे ?

भद्र सहमति अनुसार तत्कालिन कांग्रेस सभापति सशील कोइरालाले एमालेलाई सरकारमा समर्थन नगरेपछि एमाले नेतृत्वमा सरकार बनाउन असम्भव भएको हो कि हैन ? के प्रचण्डले एकल प्रयासमा ओलीलाई सत्तारोहण गराएका हैनन् ? त्यतिबेला प्रचण्डले त्यसबेला शुसीललाई प्रधानमन्त्रीमा समर्थन गरिदिएको भए के हुन्थ्यो एमालेको हालत ? अहिले ओली प्रधानमन्त्री नै भैराख्थे त ?

तीन थान एमाले प्रधानमन्त्री उत्पादन गर्ने प्रचण्ड सधैं एमालेका एसम्यान हुनुपर्छ भन्ने ओली मण्डलीको लाल बुझक्कड शैली र प्रवृत्ति जिम्मेवार हो ओली को ९ महिने सत्ताको अन्त्यको कारक र कारण

यसअघि माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गराउने उनै प्रचण्ड हुन् ।  के दुई स्थानबाट चुनाव हारेका माधव नेपाललाई सांसद हुँदै प्रधानमन्त्री बनाउँदा प्रचण्डले एमालेलाई गुन लाएका थिएनन् ? आफू  कांग्रेसका रामचन्द्र पौडेलसँग १७ पल्ट हारेपछि प्रचण्डले नै हैन र झलनाथ खनाललाई प्रधानमन्त्री बनाएको ? त्यो गुन एमालेले सधैं बैगुन नै सम्झनुपर्ने थियो कि ?

तीन थान एमाले प्रधानमन्त्री उत्पादन गर्ने प्रचण्ड सधैं एमालेका एसम्यान हुनुपर्छ भन्ने ओली मण्डलीको लाल बुझक्कड शैली र प्रवृत्ति जिम्मेवार हो ओली को ९ महिने सत्ताको अन्त्यको कारक र कारण ।

एमाले अन्तरविरोधमाथि प्रचण्डको  प्रहार

प्रमुख सत्ता साझेदार दल एमालेको पनि प्रधानमन्त्री तथा अध्यक्ष ओलीको कमाण्डो बाहेकका बाँकी एमाले जनलाई ओली सत्ता गठबन्धन भालुको कम्पट भैसकेको थियो । प्रचण्डले त्यो ओलीरहित एमालेको भाव र साथ बुझेरै ओली विरुद्ध सुझबुझका साथ फायर गरेका हुन् ।

सके यही चरणमा नसके, अर्को चरणमा भावी सरकारमा एमाले जाने पक्का छ । यसको उच्च भद्र समझदारी प्रचण्ड माधव नेपाल र वामदेव र झलनाथहरुले गरेका छन् । एमालेले यसो भनिहाल्न मिल्दैन । तर, सत्य यही हो । र, एमाले आफैंले जारी गरेको संविधान कार्यान्वयनका बाँकी जिम्मेवारी पूरा गर्न न त तगारो हुन सक्छ, न त रमिते । त्यसैले उ पनि नयाँ सत्ता समीकरणमा सहभागी नभई सुख्खै छैन ।

गणतन्त्रका संकट

सूर्य खड्का
सूर्य खड्का

देशमा गणतन्त्र घोषणा गर्दा आफू अनिर्वाचित गृहमन्त्री भए पनि संसदमा प्रवेश गरेर त्यो काम गरेको अस्ति जेठ १५ को गणतन्त्र दिवसका बेला एक अन्र्तवार्तामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले स्वीकार गरे ।

अर्का नेता शेखर कोईरालाले स्व. गिरिजाप्रसाद कोइराला र तत्कालीन राजा ज्ञानेन्द्रको इगो लडाइँका परिणाम कांग्रेस गणतन्त्रवादी बनेको खुलासा गरे । खासमा ०६२/०६३ को आन्दोलन निरंकुश राजतन्त्रको अन्त्यका खातिर मात्रै थियो । बीबीसी नेपाली सेवाले चलाएको लोकतन्त्रका दशक शीर्षकको श्रृंखलामा अधिकांश नेताले स्वीकारेका छन्, गणतन्त्र त्यतिबेलाको एजेण्डा नै थिएन ।

त्यो कटू धरातलीय यथार्थका वीच पनि देश संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न पहिलो संविधान सभालाई विवश पार्ने पात्र को थियो ? जसले जे उपमा दिए पनि त्यो चलाखीपूर्ण, तर हतारोका निर्णयकर्ता उनै थिए । जनयुद्धकारी दल माओवादी सुपि्रमो प्रचण्ड । त्यसैले कांग्रेस, एमालेहरु तत्कालीन राजासँगको क्षणिक इगो वार र माओवादीको राप र चापकै कारण मात्रै लतारिएर गणतन्त्रवादी बनेको ओपन सेक्रेट छ ।

तर, गणतन्त्रपछिको पहिलो सरकार प्रमुख बनेका प्रचण्डलाई सत्ताच्यूत गर्ने मुख्य मतियार त्यही एमाले थियो । चीन जाँदा समर्थन कायम राखेर हिँडेका झलनाथले र्फकँदा एअरपोर्टबाटै प्रचण्ड सरकारको समर्थन फिर्ता लिए । यो बेलादेखि जति प्रचण्ड कमजोर भए, उति गणतन्त्र जिंगि्रँदै गएको सत्य हो । जब गणतन्त्र कमजोर हुन्छ, बढी छटपटी प्रचण्डलाई हुँदो हो । किनकि उनलाई मात्रै थाहा छ, कांग्रेस र एमालेलाई लटर-पटर  पारेर ल्याएको गणतन्त्रको कमजोर धरातल । अनि अहिले पुनः लोकपि्रय हुँदै गरेको ज्ञानेन्द्रको ओझ ।

र, ओली सरकारले आफ्नो ओलीपथीय शासनलाई नै निरन्तर गर्दा देशमा संविधान कार्यान्वयन नहुने र चुनाव पनि सफल नहुँदा आउने संवैधानिक संकटको हेक्का अरुलाई भन्दा बढी प्रचण्डलाई नै छ । भोलिको जोखिम रोक्न प्रचण्डजतिका चतुर नेताले सधँै ओलीको जयगान गर्न सम्भव थिएन, गरेनन् पनि ।

मधेस आदोलनमा प्रचण्ड नेतृत्व

एक वर्षदेखि जारी मधेस आन्दोलनलाई ओलीले पेलेर मिच्ने सुर कसे । पञ्चायतकालमा सूर्यबहादुर थापाले तत्कालीन वामपन्थीहरुलाई डोजर लाएजस्तो डोजरै लाएर पेल्ने मुडका ओलीले आफ्नो अहमको सती माओवादी जाँदैन भन्ने आँकलन नै गर्न सकेनन् । यो उनको भूल थियो । तर, मधेसलाई यो हदसम्म जागरुक बनाउने एक अगुवा प्रचण्डले मधेसलाई सकेसम्म रिझाएर, नभए नबिझाइकनै सत्ताको मूलधारमा ल्याएरै अघि बढ्न खोजे ।

मधेस मुद्दामा सत्ता नायकसँग भिजन र मिसन बाझिएपछि त्यही मुद्दामा उनले गरे गोल । अबको सरकारमा उनले आन्दोलित मधेसीलाई सत्तायात्री बनाउन सक्दा प्रचण्ड मधेस आन्दोलनको तीन बल्डयांग खाएर पनि नयाँ नेता हुनेछन् ।

यो मौकामा उनले गोल गर्दा चोट पुगेको मात्रै हो, ओलीदम्भलाई । यसकारण ओली ढल्दा मधेस खुसी छ । ओली ढाल्ने प्रचण्डलाई तराई-मधेसको न्यानो र हार्दिक समर्थन बढेको छ । मधेसलाई आन्दोलनमा थकाएर सिध्याइदिने ओली हठ नै थियो प्रचण्डलाई ओली भन्दा मधेस नजिक धकेल्ने कारण ।

भारतीय इशारामा चलेका भनी जति धेरै आरोप लगाए पनि प्रचण्डले कांग्रेससमेतको साथमा मधेस आन्दोलनको सम्मानजनक समाप्तिमा माओवादी अध्यक्षभन्दा माथि राष्ट्रिय नेताको हैसियतमा जिम्मेवारी देखाएका छन् । मधेसविरुद्धको कालो ओलीसत्ता नै ओली सरकार पतनका लागि जिम्मेवार हो ।

संक्रमण निकासको प्रचण्ड जोखिम

नेपाली  गणतन्त्रको कठोर सत्य हो, प्रचण्डलाई पहिलो सरकारबाट ९ महिनामै कटुवाल काण्ड लाएर घोक्रेठ्याक नलाएकोे भए, देशको गणतान्त्रिक कोर्ष अहिले निकै अग्रगामी चरणमा पुगिसकेको हुन्थ्यो ।

सेरेमोनियल राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधान र सेनाको कथित रक्षाका नाममा प्रचण्डसत्तालाई पराजित गर्ने दुस्साहस गर्दै गर्दा देश दशक लामो राजनीतिक संक्रमणमा  जेलियो । अझै पनि मधेस र जनजातिले अस्वीकार गरेको संविधान लागू हुन असम्भव छ । यसको मतलव देशमा ०७४ माघ ७ पछिको राजनीतिक भविश्य ओलीले सिंहदरबारमा बसेर बनाएको कागजी मोडेल अनुसार जाने धरातलीय सत्य छैन ।

सम्भावित भ्याकुम वा खतरालाई गर्भमै तुहाउन बाँकी १८ महिना सरकार, सबै दल र संसदले एकमतले रातो दिन पूरा गर्नुपर्ने अनगिन्ती कार्यभारको जिम्मेवारीवोध ओलीलाई हुनुपर्नेमा नभएपछि प्रचण्ड आफै कस्सिएका हुन् ।

अबका दिनमा माओवादी, कांग्रेस, मधेसवादी मात्रै मिल्दा पनि संविधान कार्यान्वयन सहज र सम्भव छ । त्यसमा एमाले थपिँदा सुनमा सुगन्ध हुन्छ । त्यसैले, जारी संक्रमणको अन्त र सम्भावित खतरा टार्न ओलीको बोलीमा हैन, युगको आवश्यकतातिर प्रचण्ड बढ्दा लाभ धेरै छ, देश, व्यवस्था र जनताका लागि ।

यो उनकै शब्दमा छलाङ्ग हो, ओलीमण्डलीलाई धोका लागे पनि बाँकीका लागि यो असल सुरुवात हो । यसै मानेमा प्रचण्डका कदम अग्रगामी छन्

भारतीय दलाल प्रचण्ड ?  

उसै त एमाले, त्यसमाथि अचानक सरकारबाट हात धुनुपर्दा उनीहरुले प्रचण्डलाई भारतीय दलाल जस्ता सयौं संगीन आरोपका साथ उछितो काढ्नु स्वभाविक छ । प्रचण्डलाई भारतले विश्वासमा लिन पनि नसकेको र प्रचण्डलाई गुमाउन पनि नचाहेको  चाहिँ सत्य हो ।

जनयुद्धकालमा भारत निर्भर प्रचण्ड अहिले कुनै पनि हिसावमा उत्तिकै विश्वासिला छन् उत्तरी चीनका पनि । चीनका पछाडि लागेर सतहमा नदेखिँदै प्रचण्डलाई साथ दिने छिमेकी पनि छन् अहिले । अन्य विदेशी पनि प्रचण्डलाई कुनै न कुनैरुपमा साथ दिन राजी देखिएका छन् ।

हिजोका दिनमा प्रचण्ड भारत निर्भर भए पनि अहिले प्रचण्ड भारतका एसम्यान हैनन्, एस वा नो गर्न सक्ने हैसियतमा पुगेका छन । त्यसैले  भारतको इशारामा मात्रै प्रचण्डले ओली सत्ता ढाले भन्ने आरोप एमालेजनका लागि पिसावको न्यानो हो  ।

तर, अन्तिम सत्य ओली विदेश मामलामा  परिपक्कता देखाउन नसकेका कारण कमजोर बनेका हुन् । नेपालको संविधानप्रति भारतीय आवरणमा यूरोपिएन युनियनलगायतको समर्थन पाउन नसक्नुमा ओलीले  मधेसलाई विश्वासमा लिन नसक्नुकै कारण थियो । अब शायद त्यो श्रृखलामा बिराम लाग्ने छ ।

बोलीमा लठि्ठए जनता, लठि्ठएन्न प्रचण्ड

सत्तामा रहुञ्जेल निकै बोले ओली । बोलिरहे ओली, सुनिरहे जनता । भूकम्प पीडा, नाकाबन्दीको कहरका वीच जनताले भारतलाई सराप्दा पनि ओली विरुद्ध बोलेनन् । सुनिरहे ओलीका आश्वासन र सपनाका खेती । तर, जनताको जीवन दैनिकीमा २० को १९ पार्ने  कुनै माखो मारेन्न ओलीले ।

यो कुरौटे सत्तामा भुलिँदा संकट चुलिने र निकास नआउने भेउ पाएका प्रचण्डले कांग्रेस र मधेससमेतलाई मिलाउने हिम्मत गरे । निराशामा आशा दिएर मात्रै नपुग्ने, परिवर्तनको अनुभूति पनि दिनुपर्नेमा चुकेका ओलीलाई सुधार्न नसक्दा प्रचण्डले सती जान चाहेन्न, यो उनको जुवाले देश र जनताका लागि हानी हुने छैन । यो उनकै शब्दमा छलाङ्ग हो, ओलीमण्डलीलाई धोका लागे पनि बाँकीका लागि यो असल सुरुवात हो । यसै मानेमा प्रचण्डका कदम अग्रगामी छन् ।

( खड्का सञ्चारकर्मी हुन् । यो उनको व्यक्तिगत विचार हो । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment