३० असार, काठमाडौं । दिउँको समयमा काठमाडौंमा प्रायः व्यस्त रहन्छ । कोहि काममा जान्छन् कोही घरमा । घरमा बस्नेहरुमा पनि दिन विताउन छिमेकिको कोठातिर पुग्छन् । तर चोरहरुको लागि भने सबै व्यस्तता मौका बन्ने गरेको छ ।
चोरहरुको संगठित समुह सक्रिय हुन थाले पछि महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौंमा बृत्तहरुले चोरी विरुद्ध संयुक्त कारबाही चलाइरहेका छन् ।
पाँच वर्ष जेल बसेर फर्केपछि पनि चोरीकै धन्दा
गत मंगलबार काठमाडौंको बनस्थलीस्थित सन्तोषलाल श्रेष्ठको घरमा बस्ने बिक्रम राणाको कोठामा दिउँसो करिब १ बजे एक जना नौलो मान्छे देखियो । बाहिरबाट ढोका फुटाएर भित्र पसेका ति मान्छे देखेलगत्तै छिमेकी कराउन थाले । घरका सबैले कोठामा पसेर चोरी गर्दै गरेको अवस्थामा सिन्धुपाल्चोकका कुमार तामाङलाई पक्राउ गरे । स्थानीयले चोर पक्राउ गरेको खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुको टोली पनि घटनास्थल पुग्यो र चोरलाई नियन्त्रण लिएर कारबाही प्रक्रिया अगाडि बढायो ।
बालाजु वृत्तका डिएसपी सन्जीब शर्माका अनुसार कुमार तामाङ चानचुने चोर होइनन् । विगतमा पनि लागुऔषधसहित पक्राउ परेर पाँच वर्ष जेल सजायँ भुक्तान गरिसकेका अभियुक्त हुन् । लामा यस्ता कुख्यात चोर हुन् कि एकै दिनमा काठमाडौं र ललितपुरका पाँचवटा घरहरुमा चोरी गरेका थिए ।
लागुऔषध सहित पक्राउ परेर पाँच वर्ष जेल सजायँ भुक्तान गरेर छुटकारा पाएको ६ महिना पनि नबित्दै लामा पुरानै धन्दामा रंगे हात पक्राउ परेका हुन् ।
बनस्थलीमा सुनका गहना र नगद चोरी गर्दागर्दै रंगे हात पक्राउ परेका तामाङले एक सातामा मै काठमाडौंको स्वयम्भु र ललितपुरमा गरेर ९ ठाउँमा चोरी गरेको भेटिएको डिएसपी शर्माले बताए ।
एक सातामै ९ ठाउँमा चोरी गर्ने चोरको सम्पत्ति पनि खोजि भैरहेको डिएसपी शर्मा बताउँछन् । उनले भने, ‘चोरेरै एक-डेढ करोड जम्मा गरेको जस्तो देखिन्छ हामी त्यसको गाउँमै गएर अनुसन्धान गर्दैछौं ।
सानो लापरवाहीले लाखौंको सामान चट्
एक साता अघि काठमाडौंको नेपालटारस्थित चिना मायाँ बिहान खाना खान नजिकै रहेको आफन्तको घरमा गइन् । सँगै जोडिएको घरमा त होनी भन्दै उनले आफ्नो घरको गेट मात्रै होइन कोठाका ढोकाहरु समेत राम्रोसँग लगाइनन् ।
तर, आधा घण्टा पछि खाना खाएर फर्किंदा कोठा खुल्लै थियो । दराजमा राखिएका ८ तोला सुनका गहनाहरु, तीन लाख नगद केही भेटिएनन् । किन कि आफ्नो थैलीको मुख बलियो नबनाउँदा आधा घण्टामै चोरले सबै लटिपटि पारिसकेको थियो ।
थापाको घरमा पनि पक्राउ परेका कुख्यात चोर कुमार तामाङकै समूहले चोरी गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी शर्माले बताए ।
गत मंगलबार नै महानगरीय प्रहरी प्रभाग गंगबुबाट खटिएको टोलीले दिउँसै चोरी गरेको सामानसहित रामेछापका आर्यन तामाङ र दिनेश तामाङलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट चोरीका मोबाइल ७ थान, टेलिभिजन ३ थान बरामद भएको थियो । यो समूह पनि दिउँसोको समयमा बिभिन्न घरमा प्रवेश गर्ने र मान्छे नभएको देखेपछि चोरी गरेर फरार हुने गरेको प्रहरीले बताएको छ ।
पटके चोरले प्रहरीलाई हैरानी
केहि दिन अघि महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले सिन्धुपाल्चोकका दिपेन्द्र अधिकारी भन्ने नारायण विकलाई नागार्जुनबाट पक्राउ गर्यो । प्रहरीको अनुसन्धानका क्रममा विक पनि चोरीको आरोपमा पटक-पटक पक्राउ परेर छुटेको अभियुक्त भएको खुलेको छ ।
०७२ साल चैतमा प्रहरी हुँ तेल मिलाइदिन्छु भन्दै ५० हजार ठगी गरेको आरोपमा पक्राउ परेर ५० हजार नै धरौटी तिरेर विक रिहा भएका थिए ।
त्यस्तै करिब डेढ महिना अघि जनसेवा प्रहरी वृत्तमै पुगेर म पनि प्रहरी हुँ भन्दै उनले मुद्दा मिलाइदिने नाममा ३ हजार नगद र सुनको औंठी ठगेको भेटिएको थियो । त्यसो त चितवनमा समेत सार्वजनिक मुद्दामा पक्राउ परेर छुटेका विक फेरी चोरीको आरोपमा पक्राउ परेका हुन् ।
डिएसपी शर्मा भन्छन्, ‘विगतमा जेल बसेर निस्किएकाहरु फेरी उस्तै धन्दामा सक्रिय हुँदा प्रहरीलाई हैरानी दिएको छ ।’
घरमा बस्ने कतिपय मान्छे आफैं सचेत नहुँदा पनि चोरीका घटनाहरु बढ्ने गरेको प्रहरीको बुझाइ छ ।
डिएसपी शर्मा भन्छन्, ‘लाखौंको सामान राखेको कोठामा एउटा गतिलो ताल्चा लगाउँदैनन्, कोठा खुल्लै छोडेर अर्काको कोठातिर गएर बस्छन् अनि चोरलाई त्यो भन्दा गतिलो अवसर के हुन्छ ?’
प्रतिक्रिया 4