९ साउन, काठमाडौं । सशस्त्र प्रहरीको एपिएफ क्लव काठमाडौंमा जारी राष्ट्रिय महिला क्रिकेट छनौट च्यामिपयनसीपको फाइनलमा पुगेको छ ।
आज भएको खेलमा मध्यपश्चिमको टोलीलाई ९ विकेटले हराउँदै एपिएफले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो ।
कीर्तिपुर मैदानमा मध्यपश्चिमले दिएको ६५ रनको लक्ष्य एपिएफले ११.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । एपिएफका लागि राष्ट्रिय टोलीकी सदस्य सीता रानामगरको अलराउण्ड प्रदर्शन जितको आधार रहृयो । सीताले बलिङतर्फ २ विकेट लिएकी थिइन् भने ब्याटिङतर्फ २७ रन जोडेकी थिइन् ।
यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको मध्यपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ६४ रन जोडेको थियो । उसका लागि लक्ष्मी चौधरीले २२ र कप्तान नेरी थापाले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।
प्रतियोगिताको समूह ए मा रहेको एपिएफले यसअघि मध्यामाञ्चललाई पराजित गरेको थियो ।
त्यस्तै आजै भएको खेलमा समूह बी अन्तर्गत पश्चिमाञ्चललाई ८ विकेटले हराउँदै सुदूरपश्चिमाञ्चलले समूहमा पहिलो जित दर्ता गरेको छ ।
कीर्तिपुर मैदानमा पश्चिमाञ्चलले दिएको ९२ रनको विजयलक्ष्य सुदूरपश्चिमाञ्चलले १९ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो । सुदूरपश्चिमको जितमा रोशनी बोहोराले सर्बाधिक ३६ रनको अविजित योगदान गरिन् । त्यस्तै कविता जोशीले २५ र कप्तान रेखा रावलले २२ रनको योगदान गरे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पश्चिमाञ्चलले निर्धारित ओभरमा ३ विकेट गुमाएर ९१ रनको योगफल खडा गरेको थियो । पश्चिमाञ्चलका लागि कप्तान इन्दु बर्माले ४३ र ओपनर बर्षा रानाले अविजित ३३ रनको योगदान गरेपनि जितका लागि पर्याप्त भएन ।
समूह बी बाट फाइनलमा पुग्न सुदूरपश्चिमाञ्चलले समूहको अन्तिम खेलमा सोमबार पूर्वाञ्चललाई पराजित गर्नुपर्नेछ । दुवै खेलमा पराजित भएको पश्चिमाञ्चल भने प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया 4