Comments Add Comment

राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरुलाई उपराष्ट्रपतिको आग्रह

बाढी पीडितलाई छिटो उद्धार र राहत दिन सरकारको ध्यानाकर्षण

Nanda-Bahadur-Pun

१२ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरुलाई सुझाव दिएका छन् । समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार अनिवार्य भएको उनले बताए ।

बुधबार नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवाको स्वर्णजयन्ती विशेष समारोहलाई संबोधन गर्दै उपराष्ट्रपति पुनले भने, ‘सम्माननीय राष्ट्रपतिज्यूले संविधान बमोजिम राष्ट्रिय सहमतिको सरकार गठनका लागि व्यवस्थापिका संसदमा रहेका राजनीतिक दलहरुलाई आहृवान गरिसक्नु भएको छ । संविधानको तिव्र कार्यान्वयन, राष्ट्रिय एकता निर्माण, प्राकृतिक विपत्तिको सामना र समृद्ध राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता हो ।’

राष्ट्रका प्रमुख एजेण्डाहरुमा समेत सहमति गर्न दलहरुलाई अपील गर्दै उनले राष्ट्रिय सहमतिको सरकार बन्ने विश्वास व्यक्त गरे । ‘म राष्ट्रका प्रमुख एजेण्डाहरुमा सहमति गर्न र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दलहरुलाई अपील गर्दछु’, उनले भने, ‘मेरो विश्वास छ, दलहरु देशको अहिलेको परिस्थितिबारे पूर्ण जानकारी छन् । र, राष्ट्रिय सहमतिको सरकार बनाउनेछन् ।’

बाढी पहिरो पीडितलाई छिटो उद्धार गर्न आग्रह

कार्यक्रममा उपराष्ट्रपति पुनले बाढी पहिरो पीडितहरुको छिटो भन्दा छिटो उद्धार गर्न र राहत दिन पनि सरकारको ध्यानाकर्षण गराए । उनले गत वर्षको विनाशकारी भूकम्पबाट घरबार विहिन भएका पीडितहरु यो वर्षे झरीमा टहरो भित्रको दैनिकी गुजारिरहँदा तराई मधेसको बाढी र डुबान, पहाडको बाढी तथा पहिरोको कारण भोग्नुपरेको क्षतिले आफू मर्माहत भएको बताए ।

‘बाढी पहिरो पीडितहरुको छिटो भन्दा छिटो उद्धार र राहतका लागि सरकारलगायत सबै पक्षको म ध्यानाकर्षण गराउन चाहान्छु । बेपत्ताहरुको खोजी र घाइतेहरुको उपचारमा तदारुकताका साथ अगाडि बढ्न सबै पक्षलाई आग्रह गर्दछु’, उनले भने, ‘बाढी पहिरो पीडित विस्थापितहरुको स्वास्थ्यमा गम्भीर समस्याहरु देखा पर्ने सम्भावनाहरु छन् ।’

उनले बाढी पहिरोबाट विस्थापितहरुका लागि आवास, खाद्यान्न र स्वास्थ्यउपचारमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

रक्तदान गर्न अपील

कार्यक्रममा उपराष्ट्रपति पुनले रक्तदान एक प्रकारको जीवनदान नै भएको बताए । उनले रक्तसञ्चार सेवा आफ्नो ५० वर्षे यात्रामा रक्त संकलन गरेर हजारौँको ज्यान जोगाएको भन्दै प्रशंसा गरे ।

उपराष्ट्रपति पुनले स्वस्थ जीवन यापान गर्न र अरुको जीवन बचाउन आफ्नो १८ औँ जन्मोत्सवदेखि नियमित रक्तदान गर्न नेपाली युवाहरुलाई आह्वान गरे । ‘पुरुषको तुलनामा निकै कम महिलाले रक्तदान गर्ने गरेको तथ्यांक हामीसँग छ’, उनले भने, ‘म महिलाहरुलाई पनि रक्तदानमा अग्रसर हुनसमेत अनुरोध गर्दछु ।’

उपराष्ट्रपतिले देश विकासको विकास र समृद्धिका लागि जनताको स्वास्थ्यको उल्लेखनीय भूमिका हुने बताए ।

नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको राष्ट्रिय रक्तसञ्चार सेवाले ५० वर्ष पूरा गरेको अवसरमा रक्तसञ्चार सेवाले विविध कार्यक्रमका साथ स्वर्ण जयन्ती मनाएको छ । २०२० मा स्थापना भएको नेपाल रेडक्रस सोसाइटीले २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र सञ्चालन प्रारम्भ गरेको थियो ।

प्रारम्भको वर्षमा रक्त सञ्चार सेवाले एक सय ५७ यूनिट मात्रै रगत संकलन गरेको थियो । स्थापनाको ५० वर्षपछि आर्थिक वर्ष २०७२/७३ मा रक्त सञ्चार सेवाले देशका ६७ जिल्लाका एक सयवटा केन्द्रबाट दुई लाख ३० हजार नौ सय ८६ यूनिट रगत संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment