Comments Add Comment

अर्घाखाँचीलाई स्थानीय नेताले यसरी गरे पुनर्संरचना

अर्घातोष, मरेङ, चिदिका र पाली गाविस टुक्रिने

Arghakhachi

१४ साउन, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पुनर्संरचना गर्न जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरु सहमत भएका छन् । सर्वदलीय बैठकले जिल्लामा चार गाउँपालिका हुनेगरी पुनर्संरचना गर्ने निर्णय गरेको छ ।

सर्बदलीय बैठकको निर्णयसहितको खाकालाई जिल्ला प्राविधिक समितिको बैठकले पनि पास गरिसकेको पुनर्संरचना समिति संयोजक एवम् स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिइन् ।

अर्घाखाँचीमा हाल सन्धिखर्क नगरपालिका र ३५ गाविस छन् । पुनर्संरचनापछि पाणिनी, भूमिकाथान, मालारानी र छत्रेश्वर गाउँपालिका प्रस्ताव गरिएको छ ।

डम्मरु दह नगरपालिकामा ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सितापुर, सुर्वणखाल गाविसलाई समेटिएको छ । यसको सदरमुकाम ठाडा गाविसको सुकादहमा रहने छ ।

हाल क्षेत्र नम्वर २ अन्तर्गत रहेका गाविसहरु पणेना, खिदिम, पोखराथोक, पटौटी, मैदान, धातिवाङ, पाली र अड्गुरी गाविस रहने गरी पाणिनी गाउँपालिका बनाउने सर्बदलीय सहमति भएको छ । यस गाउँपालिकामा चिदिकाको ९ नम्वर वडा गाभिने छ । सदरमुकाम भने दुवासाफाट हुने जनाइएको छ ।

त्यस्तै भुमिकाथान गाउँपालिकामा धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारापानी र ढाकावाङ गाविस रहने दलहरुबीच सहमति भएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष एवम् सर्वदलीय पहलकर्ता चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ले जानकारी दिए ।

जिल्लाका पश्चिम भेगमा रहेका गोखुङ्गा, हंसपुर, बाँगी, खन, खनदह, मरेङका १, २, ३, ४, ५ र अर्घातोषका १, ६, ७, ८ र ९ नम्वर वाड रहने गरी मालारानी गाउँपालिका बनाइने छ । यस गाउँपालिकाको केन्द्र खनदह गिद्धेपोखरी रहने छ ।

अर्घातोषका २, ३, ४, ५, मरेङका ७, ८, ९ नम्वर वडासहित चिदिका, बल्कोट, केरुङ्गा, छत्रगञ्ज, भगवती, ठूलापोखरा रहने गरी छत्रेश्वर गाउँपालिका प्रस्ताव गरिएको कांग्रेस जिल्ला सभापति विष्णु मुस्कान खनालले जानकारी दिए ।

यस्तै साविकको सन्धिखर्क नगरपालिकामा दिकुरा गाविस र पाली गाविसको ९ नम्वर वडालाई मिलाइएको नेकपा एमालेका जिल्ला कार्यवाहक अध्यक्ष जिवनारायण कोइरालाले जानकारी दिए ।

पहाडी जिल्लाको लागि नगरपालिका हुनका लागि ४५ हजार र गाउँपालिका हुनका लागि २५ हजार जनसंख्या हुनुपर्ने छ । सबै गाउँपालिका र नगरपालिकामा आवश्यक मापदण्ड पूरा भएका छन् ।

नेपाली कांग्रेसको पार्टी कार्यालय सन्धिखर्कमा भएको सर्वदलीय बैठक पछि जिल्ला विकास समिति अर्घाखाँचीमा भएको प्राविधिक समितिको बैठकले राजनीतिक दलले प्रस्ताव गरेका सबै विषय सर्वसहमतिले पारित गरेको हो । बैठकमा जिल्लामा क्रियाशील सम्पूर्ण दलका नेताहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment