Comments Add Comment

काठमाडौ उपत्यकामा कहाँबाट भित्रियो हैजा ?

सरकारी अधिकारी भन्छन्- यसको खोजी भइरहेको छ

१४ साउन, काठमाडौ । अहिलेसम्म काठमाडौं उपत्यकाका २४ जनामा हैजाको जीवाणु देखापरेको छ । उपत्यकामा कसरी हैजाका जीवाणु कहाँबाट भित्रिएको हो भन्नेबारे सरकारले अझैसम्म पत्तो लगाउन सकेको छैन ।

haijaललितपुरको गोदावरी, ठैव र हरिसिद्धीमा हैजाका बिरामीहरु भेटिएका छन् । साथै काठमाडौको चक्रपथभन्दा बाहिरका केही क्षेत्रमा हैजाका बिरामी फेलापरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले अनलाइनखबरलाई बताए ।

तर, उपत्यकामा हैजाको जीवाणु कहाँबाट भित्रियो भन्ने प्रश्नमा मरासिनीले अहिल्यै बताउन नसकिने जानकारी दिए । यसबारे खोजी भइरहेको र काठमाडौं उपत्यका खानेपानी लिमिटेड तथा खानेपानी संस्थानलाई समेत यसबारे जानकारी गराइएको उनले बताए ।

‘प्रदुषित पानी तथा किटाणुका कारण फैलिने हैजा हालसम्म काठमाडौं उपत्यकामा २४ जनामा देखा परेको छ’, डा. मरासिनीले अनलाइनखबरसित भने, ‘यो के कति कारणले, कहाँबाट फैलियो भनेर तत्काल बताउन कठिन छ’ । हैजाको स्रोतबारे आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

करिब १५ दिन अघि पनि काठमाडौमा हैजाका बिरामी फेला परेका थिए । आवश्यक उपचारपश्चात यो समस्या काठमाडौबाट हटिसकेको महाशाखाले दाबी गरेको छ ।

डा. मरासिनीले भने- ‘१५ दिन पहिले काठमाडौमा १/२ जनामा हैजा देखिएको थियो, अहिले त्यो समस्या छैन, बाँकी जहाँ देखिएको छ, ती ठाँउमा पनि आवश्यक जनचेतना दिने काम गरिरहेका छौं’ ।

काठमाडाैंबाट हैजालाई पूर्णरुपमा हटाउन महाशाखाले आवश्यक कदम चालिरहेको डा. मरासिनीको दाबी छ ।

हैजा के हो ? यसले के गर्छ ?

भूकम्पबाट पीडित बनेको हाइटीमा करिब आधा दशक पहिले फैलिएको हैजाको महामारीबाट त्यहाँका मानिसहरु अहिलेसम्म पूर्णरुपमा मुक्त भइसकेका छैनन् । त्यसो त एक समय शान्ति सेनामा गएका नेपाली सेनाका जवानले हैजाका जीवाणु भित्र्याएको आरोपसमेत खेप्नुपरेको थियो ।

हैजा दुषित पानी तथा किटाणुुका कारण मानिसमा सर्ने एक प्रकारको कडा रोग भएको बीर अस्पतालका फिजिसियन डा. सुभेषराज कायस्त बताउँछन् । उनका अनुसार यो रोग ‘भिब्रियो’ नामक जीवाणुको संक्रमणका कारण मानिसमा सर्ने गर्छ । यो संक्रमित बिरामीको दिसापिसाब र फोहोर पानीबाट मानिसमा सर्ने गर्छ ।

हैजाको संक्रमण भएका बिरामीले समयमै उपचार नपाएको खण्डमा जटिलता सिर्जना भएर उसको ज्यानै पनि जान सक्ने चिकित्सकहरु बताउँछन् ।

त्यसैगरी, हैजाका कारण शरीरमा पानी कम भएर मृगौलासमेत फेल पनि हुन सक्छ ।

हैजाका लक्षणहरु

१. चौलानीजस्तो सेतो दिसा हुने

२. दिसा पानीजस्तो पातलो हुने ।

३. तारन्तार दिसा हुने ।

४· दुखाई रहित दिसा हुने ।

५· दिसा लागेकै कारण बिरामी चाँडै शिथिल हुने ।

६· दिसासँगै वान्तासमेत हुने ।

७· शरीरमा पानी कम हुने ।

८· खट्टा बाउँडिने ।

९· मुख सुक्ने ।

१०· तारन्तार दिसा लागेको केही घण्टामै आँखा गाढिने ।

११· छालाको तन्काई कम हुने इत्यादि ।

जोगिने उपायः

१· उमालेर मात्र पानी पिउने ।

२· साबुन पानीले राम्ररी हात धुने ।

३· फोहोर, झिंगा भन्केका तथा बासी खाना नखाने ।

४· हरिया सागपात तथा फलफूल राम्ररी धोएर तथा पखालेर मात्र खाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment