Comments Add Comment

हुलाकी मार्गमा पुल बनाउने वीरगञ्जको ‘पप्पु महादेव’ खोइ ?

झापाली भन्छन्- ७ करोड खाएर पुल नबनाउनेलाई कारवाही होस्

bridge_kankai

१६ साउन, झापा । हुलाकी राजमार्गमा निर्माण भइरहेका पुलहरुमध्ये झापामा बन्न लागेको सबैभन्दा धेरै लागतको पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ । झापाको महाभारा र कुमरखोद गाविस क्षेत्रमा कन्काई नदीमा निर्माणाधीन पुल अलपत्र परेको हो ।

यो पुल चार वर्षमा बनाइसक्ने सम्झौतासहित ०६८ साल जेठमा निर्माण शुरु गरिएको थियो । जसअनुसार निर्माणको ठेक्का लिएको कम्पनी वीरगञ्जको ‘पप्पु महादेव जेभियर्स’ले ०७२ जेठ मसान्तभित्र यो पुल निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो ।  तर, ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण अहिले यो पुलको करीब ३५ प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

३० करोड बढी लागत

कन्काई नदीमा यो पुल निर्माण भइसक्दा यसले नेपालकै दोस्रो लामो पक्की पुलको रेकर्ड कायम गर्ने छ । यो पुल निर्माण भइसकेपछि ७ सय २४ मिटर लम्बाइको हुनेछ । जुुन, कणर्ाली नदीमा भएको १ हजार १५ मिटरको नेपालकै सबैभन्दा लामो पक्की पुलपछिको दोस्रो लामो पक्की पुल बन्नेछ ।

पुल निर्माण गर्नका लागि ३० करोड ४० लाख ९० हजार रुपैयाँको बजेट छुट्टयाइएको थियो । तर, पप्पु महादेव जेभीयर्सका सञ्चालक हरिनारायण रौनियारले ठेक्काको करीब २४ प्रतिशत रकम लिएर पुलको निर्माण अलपत्र पारेका छन् ।

हुलाकी सडक योजना कार्यालय, इटहरीले अनलाइनखबरलाई जनाएअनुसार रौनियारले ठेक्का वापतको ७ करोड ५० लाख रुपैयाँ बुझिसकेका छन् ।

४ वर्षमा २० वटा पिल्लर !

पप्पु महादेव जेभियर्स कम्पनीले चार वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता गरे पनि तोकिएको मितिसम्ममा ५० प्रतिशत काम पनि सकेन । ठेकेदारको लापरवाहीका कारण यो आयोजनामा ढिलासुस्ती भयो । जसका कारण यो पुलमा हाल २० वटा पिल्लर मात्र निर्माण भएका छन् ।

शुरुका दिनहरुमा काम द्रुत गतिमा भएको भए पनि पछिल्ला वर्षहरुमा निक्कै सुस्त गतिमा काम भएको आयोजनाका चौकीदार खेमकुमार श्रेष्ठ बताउँछन् ।

हुलाकी सडक योजना कार्यालय, इटहरीका योजना प्रमुख शैलेन्द्र त्रिपाठी पनि यो आयोजना निर्माणमा लापरबाही भएको स्वीकार गर्छन् ।

‘पछिल्लो वर्ष बन्द, हड्ताल, नाकाबन्दी जस्ता कारणहरुले समस्या भएको हो ।’, त्रिपाठीले अनलाइनखबरसँग भने, ‘तर, पनि हुनुपर्ने जति काम नभएकै हो ।’

bridge_kankai_work

मजदुरले पारिश्रमिक पाएनन्

पप्पु महादेव जेभियर्सका सञ्चालक हरिनारायण रौनियार आयोजना सम्पन्न गर्नु्पर्ने अन्तिम वर्ष पुल निर्माणस्थलमा कहिल्यै आएनन् । उनी सम्पर्कविहीन भए ।

आयोजनाका चौकीदार श्रेष्ठले जनाएअनुसार आयोजनामा कार्यरत करीब १७ मजदुरले ६ महिनाको पारिश्रमिक पनि पाएका छैनन् ।

रौनियारले मजदुरहरुलाई पारिश्रमिक नै दिएनन् । जसका कारण मजदुरहरुको घरमा रहेका बालबच्चाहरुको बिचल्ली भएको श्रेष्ठले जनाए ।

पारिश्रमिक माग्दै रौनियारलाई पटकपटक टेेलिफोन सम्पर्क गरे पनि रौनियारले फोन नउठाएको मजदुरहरुले बताएका छन् ।

स्थानीय उदासीन

आफ्नो गाउँमा देशकै दोस्रो सबैभन्दा लामो पक्की पुल बन्ने भएपछि स्थानीयवासी हषिर्त थिए । सधा विकास निर्माणका फुस्रा भाषण सुन्दै आएका गाउँले पुल निर्माण शुरु भएपछि निक्कै खुशी बने ।

तर, सम्झौताअनुरुप ४ वर्षमा काम सम्पन्न नहुँदा उनीहरु अहिले उदासीन छन् । सरकारी निकायबाट समयसमयमा प्रभावकारी अनुगम नहुँदा यस्तो अवस्था आएको स्थानीय बताउँछन् ।

सम्झौता गरिएको रकम लिने अनि काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्नु पर्ने स्थानीयले माग गरेका छ ।

सप्तरीको बलानमा पनि  पप्पुलाई ठेक्का

हुलाकी सडक योजना कार्यालय, इटहरीका प्रमुख त्रिपाठीले दिएको जानकारी अनुसार पप्पु महादेव जेभियर्सले पूर्वमा सप्तरीको बलान नदीमा समेत पुल निर्माण गर्ने ठेक्का पाएको थियो ।

तर, त्यहाँ पनि उसको लापरबाहीका कारण पुल निर्माण सम्झौता गरिएको समयमा नसकिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment