Comments Add Comment

एसटीसी ग्यासले सिलिन्डर किन्न पाएन

आयल निगमले सिलिण्डर थप्ने अनुमति नदिएको गुनासो

stc-gas

१८ साउन, काठमाडौं । नाकाबन्दीमा गरेको कार्यसम्पादनको मूल्यांकन गर्दै सरकारले एसटीसी ग्यासको मासिक कोटा दुई गुणाले बढाएको पाँच महिना बित्यो । तर, ग्यास भर्ने सिलिन्डर थप्ने अनुमति नपाउँदा साल्ट ट्रेडिङ लिमिटेड अन्तरगतको मेट्रो काठमाडौं ग्यास इन्डष्ट्रिज ठूलो समस्यामा परेको छ ।

नाकाबन्दीपछि बजारमा सरकारी ग्यास कम्पनीको उपस्थितिलाई बलियो बनाउनुपर्ने भन्दै  नेपाल आयल निगमले एसटीसी ग्यासको कोटा बढाएको थियो ।

तर, आयल निगमले कम्पनीलाई नयाँ सिलिन्डर थप गर्ने अनुमति नदिँदा एसटीसीलाई आयात भएका सबै ग्यास बजार पठाउन समस्या भएको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।

एसटीसी ब्राण्डको ग्यास सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको हो । निजी कम्पनीले अहिले निगमसँग अनुमति नै नलिइ नयाँ सिलिन्डर बजारमा पठाउने गरेका छन् । उनीहरुले रेकर्डमा कम सिलिन्डर देखाएर बजारमा भने धेरै पठाउने गरेको तथ्य यसअघि नै बाहिर आइसकेको छ ।

तर, सरकारी स्वामित्वको एसटीसीलाई भन अनुमतिबिना सिलिन्डर किन्दा समस्या पर्ने देखिएको छ । एउटा किन्दा पनि रेकर्डमा देखाउनै पर्ने बाध्यताका कारण एसटीसीले चोरबाटोबाट सिलिन्डर किन्न सक्ने अवस्थामा छैन ।

नाकाबन्दी अघिसम्म मासिक ४ सय ७८ टन ग्यास पाउने साल्ट ट्रेडिङले अहिले मासिक १ हजार ८ टन पाउँछ । तर, पुरानै संख्याको सिलिन्डरका भरमा एसटीसीले बजारमा ग्यास पठाइरहेको छ । नयाँ उपभोक्ताले पनि एसटीसीको सिलिन्डर किन्न पाएका छैनन् । नाकाबन्दीपछि एसटीसी ग्यास किन्न चाहानको संख्या निकै उच्च छ । अप्ठेरो अवस्थामा पनि अन्यभन्दा सहजसँग यो ग्यास वितरण भएको थियो ।

नयाँ ५० हजार सिलिन्डर किन्ने अनुमतिका लागि निगमलाई एसटीसीले आपूर्ति मन्त्रालयमार्फत झण्डै ३ महिनाअघि नै अनुमति मागेको थियो । तर, निगमले भने कुनै पनि सिलिन्डर थप गर्न अनुमति रोकिएको जनाउँदै सबै उद्योगलाई एकैपटक अनुमतिको प्रक्रिया खुलाउने भन्दै एसटीसीको पनि रोकेको छ ।

आपूर्ति मन्त्रालयले भने सरकारी उद्योग भएकाले अवस्था हेरेर सिलिन्डर थप गर्ने अनुमति दिन आयल निगमलाई आग्रह गरिसकेको छ ।

एसटीसीलाई अहिले महिनामा झण्डै ७० हजार सिलिन्डरमा ग्यास भर्नुपर्छ । तर, साटासाटको प्रक्रियामा आधाभन्दा धेरै सिलिन्डर उपभोक्तासँगै रहने भएकाले आएको सबै ग्यास भर्न सिलिन्डर नपुगेर उद्योगले समस्या भोगिरहेको छ ।

एसटीसीको धादिङस्थित ग्यास उद्योगमा कम्युटराइज्ड प्रविधिबाट ग्यास रिफिलिङ गरिन्छ । अहिले ३ वटा नोजलबाट ग्यास भर्ने गरिएको छ । अहिलेभन्दा दोब्बर कोटा पाए पनि उद्योगलाई प्रविधिगत रुपमा समस्या पर्ने अवस्था छैन । तर, कोटाअनुसार सिलिन्डर नै नहुँदा भने उद्योगलाई उपभोक्तालाई ग्यास पुर्‍याउनै समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment