२० साउन, काठमाडौं । बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सरकारमा सहभागी अन्य मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको हेडक्वार्टर बैठक बसिरहेको छ ।
पहिलो चरणमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हुनेमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डे, प्रभु साहलगायतको नाम चर्चामा छ । महरालाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री दाहालको तयारी रहेको छ ।
निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना उपप्रधानमन्त्री बनाएकोमा आलोचना भएपछि कांग्रेस-माओवादी गठबन्धनले सरकारमा तत्कालका लागि दुई उपप्रधानमन्त्री मात्रै बनाउने तय गरेको छ ।
गठबन्धन सरकारमा कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने गरी भागबन्डा मिलाएका छन् ।
कांग्रेस र माओवादीको भागबन्डामा राप्रपा र अन्य साना दलका लागि छुट्याइएको छ, जसमध्ये राप्रपालाई दुई र नेकपा संयुक्तलाई एक दिने मोटामोटी समझदारी भएको छ । बाँकी तीन मन्त्रालयल साना दलको लागि राखिएको छ ।
प्रतिक्रिया 4