Comments Add Comment

जापानमा एयरपोर्टबाट सिधै ‘होउरेनगे’ अड्डा पुग्छन् नेपाली

जापान आउँदै गरेका आफन्त, साथीभाइलाई यताकाले आश्वासन दिन्छन्, ‘ल राम्रोसँग आउनु म गाडी लिएर एयरपोर्ट आउँछु ।’

Rajesh-Ghimireआफन्तजन गाडी लिएर एयरपोर्ट पुग्छन् । पहिलोपटक जापान आउने खुशीका साथ गाडी चढ्छन् । केहीबेरमा जापानी चालकले कुनै अड्डामा लगेर गाडी रोक्छ । अनि केही कागजी काम पूरा गरेर शान्त कोठामा घुँडा टेकेर बस्न लगाउँछ ।’फुजिताइसेकिजी प्रार्थना विधि’ लेखिएको एउटा सानो किताव र माला थमाइन्छ ।

केही मेसो नपाएको नयाँ नेपाली अक्क न बक्क हुन्छ । एकैछिनमा एउटी महिला प्रवेश गरेर प्रार्थना गर्न थाल्छिन् । जापानी गाडी चालकले त्यो सानो किताबको पाना नम्बर यति पल्टाएर पढ्न निर्देशन दिन्छ ।

महिलाले जे-जे भन्छिन् त्यही-त्यही भन्दै किताब पुरै सक्काएपछि मात्र उठ्न पाइन्छ । यो प्रकृया करिब आधा घण्टासम्म चल्छ । अनि बल्ल गन्तव्यतर्फ जाने मेसो सुरु हुन्छ । प्रार्थनाको पहिलो पंक्ति ‘ना म्योउ होउ रेन गे क्योउ’भएकाले गाडी चालकलाई प्रायःले ‘होउरेनगे’ भनेर चिन्छन् ।

जतिसुकै लामो बाटो जानु परे पनि निःशुल्क हुने, आधा घण्टा प्रर्थना गरे पुग्ने भएकाले जापानमा नेपालीहरुका माझ प्रिय बनेको छ होउरेनगे । करिब सात महिनाअघि जापान प्रवेश गर्दै गर्दा यो पंक्तिकारले पनि यो प्रकृया पूरा गरेको थियो । बर्षौंदेखि जापान बसेर प्रगति गरेकाहरुले यो सुबिधाको उपयोग गरेनन् वा गर्न छाडे होलान् तर दूई-चार बर्ष अघि मात्र यहाँ आएकाहरुले ‘होउरेनगे’ को प्रयोग अत्यधिक गर्छन् ।

एयरपोर्ट जान मात्र होइन, बिदाको समयमा कतै घुम्न जानुपर्दासमेत पहिलो रोजाई ‘होउरेनगे’ नै हो सवारी साधनको लागि । यो मिलेन भने मात्र दोश्रो विकल्पका रुपमा सार्वजनिक यातायातका साधनको प्रयोग हुन्छ । पैशा जोगाउने सजिलो माध्यम बनेको छ जापानमा ‘होउरेनगे’ । राजधानी टोक्यो बाहेकका क्षेत्रमा बस्नेले यसको प्रयोग अझ बढी गर्छन् ।

नेपाली बाहेक ईन्डोनेशियन, भियतनामी, फिलिपिन, भारतीय,पाकिस्तानीहरुले पनि यसको प्रयोग गर्ने गर्दछन् ।

के हो ‘होउरेनगे’ ?

होउरेनगे त प्रार्थनाको पहिलो पंक्ति मात्र हो । वास्तवमा यसलाई ‘गोनग्योउ’ बुद्ध धर्मको अभ्यास र साधनाको रुपमा अर्थ्याइएको छ ।

जापानको फुजी पर्वतमा अवस्थित मुख्य विहार’ताइसेकिजि’मा ‘माप्पोउ’को ‘गोहोनबुचु’, ‘निचिरेनदाइस्योउनिन’ले लेखेको ‘होनमोनकाइदाननोदाइगोहोनजोन’ लाई सात सय बर्ष देखि कसैले नदेख्नेगरी गोप्यरुपमा राखी जस्तोसुकै परिस्थिति आएपनि बाहिर नकिकाल्ने तवरले संरक्षण गरिएको प्रार्थना पुस्तिकामा उल्लेख गरिएको छ ।

यही ‘होनमोनकाइदाननोदाइगोहोनजोन’लाई वन्दना गर्ने कार्यलाई ‘गोनग्योउ’ अर्थात सामान्यले बुझ्ने झैं ‘होउरेनगे’भनिन्छ ।

‘निचिरेनदाइस्योउनिन’ले बुद्धत्व प्रप्तगरी चित्तको सत्यतालाई बोध गर्दै सम्पूर्ण मानवलाई बुद्धत्व प्रप्त गराउनका लागि अमूल्य वस्तुका रुपमा ‘ना म्योउ होउ रेन गे क्योउ’ अभिव्यक्त गरेको बताउँछन् । यससम्बन्धी एक अभियन्ता हुन् ताकेसी हासे । उनले अहिलेसम्म हजारौं नेपाली नागरिकलाई यो कार्यमा सहभागी गराइसकेका छन् । भन्छन्, ‘गौतम बुद्धको जन्म नेपालमा भयो सबैले चिनेका/मानेका उहाँ बुद्धले धेरै पहिले निचिरेनदाइस्योउनिन जापानमा जन्मदै हुनुहुन्छ भनेर सूचना गर्नुभएको थियो । हामी दाइस्योउनिनलाई जापनिज बुद्ध मान्छौं ।’

‘निचिरेनदाइस्योउनिन’ लाई मान्नेहरु संसारमा धेरै बुद्धहरुको जन्म भएको र गौतम बुद्धलेसमेत ‘ना म्योउ होउ रेन गे क्योउ’लाई आधार बनाएर बुद्धत्व प्राप्त गरेको दाबी गर्छन् । उनीहरु यो बिधिबाट दु:ख, पीडा हराएर शान्ति मिल्नुका साथै जीवनमा खुशी मिल्ने विश्वास गर्दछन् । फुजिताइसेकिजि केनस्योउकाइका अध्यक्ष स्योउएइ आसाई दृढ विश्वासका साथ स्वच्छ र पवित्र मनले यो मन्त्र पाठ गरेमा महान् पुण्य लाभ हुने दाबी गर्छन् ।

कतिपय जापनिजहरु भूकम्प, सुनामी जस्ता प्राकृतिक घटनाहरुबाट क्षति नपुगोस भन्ने कामना गर्दै यो विधिबाट प्रार्थना गर्ने गर्दछन् ।

होउरेनगे गराउनेले के पाउँछन् ?

होउरेनगेसँग जोडिनेले आधा घण्टा प्रर्थना बाहेक अरु केहि गर्दैनन् । नेपाली हुन् या अरु । प्राय: आफ्नो स्वार्थपूर्तीको लागि मन नलागि-नलागि घुँडा धसेर प्रार्थना गर्छन् । उनीहरुको स्वार्थ केवल निःशुल्क सवारी साधनको उपभोग हो । ‘जापान आएर पनि घुँडा धसेर प्रर्थना गरेर धर्म गरौंला भन्ने त छैन’, नाम उल्लेख नगर्ने सर्तमा एक नेपाली युवा भन्छन्, ‘आफ्नो आवश्यकतालाई हेरेर यसको प्रयोग धेरैले गर्छन् म पनि एक हुँ ।’

एक जना ईन्डोनेशियन युवा तेई देई भन्छन्, ‘बिदा मनाउन होउरेनगे उपयुक्त साथि हो, जसले हाम्रो धेरै खर्च बचाइदिन्छ ।’

यी कुराहरु स्वयम् होउरेनगे अभियन्ताहरुलाई पनि थाहा छ । तर, पनि उनीहरु विदेशीहरुको माझमा यसको प्रचार व्यापक बनाउँदैछन् । उनीहरु विदेशी अनुहार देख्ने बितिक्कै विभिन्न बाहाना बनाएर गफ गर्न आउँछन् अनि सम्पर्क नम्बर टिपेर राख्छन् ।

त्यसपछि सुरु हुन्छ फोनको श्रृंखला । ‘हरेकदिनजसो फोन गरेर नयाँ मान्छे कोही आउँदै छ कि भनेर सोध्छन्, हामीलाई भन्दा उनीहरुलाई पो हतार हुन्छ लिन जान’, अर्का नेपाली सुनाउँछन् । प्राय:ले त विदेशी भाषासमेत सिकेर प्रभाव पार्ने गरेका छन् । कोही भने उपहार लिएर कोठामै पुग्छन् फकाउन ।

रेक नयाँ व्यक्तिलाई प्रार्थनामा सहभागी गराएवापत ‘होउरेनगे’अर्थात यी चालकले निश्चित रकम पाउने गर्छन् । त्यही पैसाको लोभमा उनीहरु विदेशीसँग नजिक हुन्छन् र उनीहरुको स्वार्थ पूरा गर्दिंदै आफ्नो खल्ती पनि भर्छन् ।

वास्तवमै मनैदेखि प्रार्थना गर्नेहरुका लागि त जापानी बुद्धको प्रार्थनाले मनमा शान्ति मिल्दै होला, कतिले बुद्धत्व प्रप्त गरे पनि होलान् । तर बढ्दो क्रममा रहेको प्रयोगमात्र गर्नेको संख्याले भने विकृति पो बढाउँदै छ कि ! पैसाको लोभमा जापनिज नागरिकले नै जापनिज बुद्धको दुरुपयोग गरेझैं कतै यो विकृतिले गौतम बुद्धको जन्मभूमि नेपाल र नेपालीकै इज्जतमा पनि दाग त लाग्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment