Comments Add Comment

नेपालका एटिएम बुथ अन्तराष्ट्रिय हृयाकरको निशानामा

पैसा चोर्न नेपाल आएका रोमानियाली नागरिक पक्राऊ

ATM-Booth

 

२१ साउन, काठमाडौं । बैंकमा जम्मा गरेको रकम आवश्यकता पर्दा जुनसुकै बेलामा पनि पैसा निकाल्न सकिने भएकाले एटिएम कार्डको प्रयोगकर्ता बढ्दै गएका छन् । तर नेपालका बैंकबाट सन्चालित एटिएम सेवाको सुरक्षा व्यवस्था निकै कमजोर देखिएका छन् । जस्ले गर्दा अन्तराष्ट्रिय हृयाकरहरुले नक्कली एटिएम कार्ड प्रयोग गरी पैसा चोर्न नेपालका बैंकहरुलाई निशानामा पारेको तथ्य सार्बजनिक भएको छ ।

रोमानियाका नागरिक पक्राउ

हिमालयन बैंकको काठमाडौंमा रहेका विभिन्न ठाउँका एटिएम बुथहरुमा केहि दिनदेखि एक जना विदेशीको हर्कत प्रहरीलाई शंकास्पद लाग्यो । विषेश गरेर दरवारमार्ग क्षेत्रमा रहेका एटिएम बुथहरुमा ति विदेशी नागरिकले दर्जनौं एटिएम प्रयोग गरेर पैसा निकाल्ने प्रयास गरेको देखिएपछि बैंकले सिआइबीलाई खबर गर्‍यो ।

सिआइबीका एसपी हृदय थापाको टोलिले हिमालयन बैंकका विभिन्न एटिएम बुथहरुमा निगरानी बढायो । निगरानीको क्रममा शंकास्पद रोमानियाका नागरिक प्रेडा उर्लेनलाई लाजिम्पाटस्थित शंकर होटल नजिकैबाट पक्राउ गर्न सफल भयो ।

करिब २ महिनादेखि शंकर होटलमा बस्दै आएका उर्लेनको कोठाबाट सिआइबीको टोलिले एक सय ४० थान नक्कली एटिएम बरामद गरेको छ । ब्युरोका एसपी हृदय थापाका अनुसार बेलायत, फ्रान्स, जर्मनी, युक्रेन, रसिया, इटाली, इण्डोनसिया, जापान लगाएत ४० भन्दा बढी देशका एटिएम कार्डहरु उनको कोठाबाट बरामद भएको छ ।

काठमाडौंमा बसेर दुई महिनादेखि नक्कली एटिएम कार्डबाट पैसा निकाल्ने धन्दा गरिहरेका उर्लेनको साथबाट २ लाख ६४ हजार नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।

यसरी चोरे एटिमबाट पैसा

उर्लेनसँगै अर्का एक व्यक्ति पनि एटिएमबाट पैसा चोर्ने उद्देश्यसहित नेपाल आइपुगेका थिए । उनीहरु विभिन्न देशमा रहेका अर्कै समूहबाट परिचालित व्यक्तिहरु रहेको एसपी थापाले बताए । ‘विभिन्न देशमा यसको समूह नै छ, त्यो समूहले एटिएमका डाटाहरु र सूचना दिने गर्छ । त्यही सूचना र डाटाहरुको आधारमा यिनीहरुले पैसा निकाल्छन्,’ एसपी थापाले भने ।

विभिन्न देशका एटिएम बुथ मार्फत ग्राहकको एटिएम डाटा निकाल्ने अथवा हिडन क्यामेरा मार्फत पिन नम्बर चोरी गर्ने र उक्त पिन नम्बर अर्थात डाटा पैसा चोरी गर्न हिँडेका उर्लेन जस्तालाई दिने गरेको भेटिएको छ ।

उनीहरुले नेपालका ग्राहकको पैसा निकाल्ने होइन विभिन्न देशका एटिएम कार्ड र त्यसको डाटा ल्याउने र नेपालमा जुन देशको एटिएमले काम गर्छ त्यसैबाट पैसा निकाल्ने गरेको भेटिएको छ । जुन देशको एटिएमले नेपालमा काम गर्छ त्यहि देशका अरु एटिएमहरुको पनि डाटा मागाएर थप पैसा निकाल्ने गरेको एसपी थापा बताउँछन् ।

विभिन्न देशबाट निकालिएको रकमको ७० प्रतिशत एटिएमको डाटा उपलब्ध गराउने समूहलाई दिनुपर्ने पक्राउ परेका उर्लेनले प्रहरीसँगको बयानमा बताएका छन् ।

अन्तराष्ट्रिय हृयाकर नेपालमा पल्किए

नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा पक्राउ पर्ने उर्लेन पहिलो विदेशी होइनन् । सिआइबीले यसअघि दुई जना विदेशीलाई पक्राउ गरिसकेको छ ।

२०७१ साल मंसिरमा एटिएम बुथबाट पैसा निकाल्न नेपाल आइपुगेका टर्कीका नागरिक मेहमुद गुलेनलाई सिआइबीले नै पक्राउ गरेको थियो । नेपालका एटिएमबुथबाट निकालिएको २६ लाखसहित पक्राउ परेका गुलेनले पनि अर्काको एटिएमका डाटा चोरेर पैसा निकाल्ने गरेको भेटिएको थियो ।

उनले दुबई, थाइल्याण्ड हुँदै नेपालसम्म आएर अरु नै देशमा भएका खातावालाको पैसा निकाल्ने गर्दथे ।
त्यस्तै बुलगेरियाका नागरिक पेट्रोस्लभा रिस्टोभ पनि एटिएमबाट पैसा निकालेको आरोपमा नेपालबाट पक्राउ परेका थिए । हिमालयन बैंककै एटिएमबाट पैसा निकालिरहेको अवस्थामा पक्राउ परेका रिस्टोभको साथबाट एक करोड २० लाख रुपैंयासमेत बरामद भएको थियो ।

यी तीनवटै घटनाले अन्तराष्ट्रिय हृयाकरहरुले नेपालका बैंकलाई निशानामा पार्न थालेको स्पष्ट भएको छ । विषेश गरी नेपालका बैंकहरुले चिप्सवाला एटिएम प्रयोग नगर्दा सुरक्षा कमजोरी देखिएको ब्युरोका एसपी हृदय थापा बताउँछन् ।

एसपी थापा भन्छन्, ‘नेपालका एटिएम बुथ नै कम्जोर सुरक्षामा छन् । त्यसमा पनि सीसी टिभी क्यामेरा टाउको मात्रै देखिने गरी राख्छन् । त्यसैले पनि हृयाकरहरुले नेपालाई रोज्न गरेका छन् ।’

यदि बैंकहरले समयमा आफ्ना एटिएम तथा अन्य सुरक्षा व्यवस्था बलियो नबनाउने हो भने बैंक नै हृयाक हुन सक्ने खतरा देख्छन् एसपी थापा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment