Comments Add Comment

पोखराको सडकमा सोलार वत्ती राख्न तिब्बती शहरले सहयोग गर्ने

Pokhara

२३ साउन, पोखरा । सुन्दर नगरी पोखरालाई रातमा पनि झलमल्ल पार्न चीनको तिब्बत राज्यस्थित लिञ्झी शहरले सहयोग गर्ने भएको छ ।

तिब्बतका चार शहरको भ्रमण गरेर फर्केको पोखरेली उद्योगी व्यवसायीहरुको टोलीले पोखराका सडकमा सोलार लाईटमार्फत झलमल्ल पार्न सहयोग गर्न लिञ्झी शहरले सहयोग गर्ने सहमति जनाएको जानकारी गराएको हो ।

नेपाल-चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेको पहलमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाको नेतृत्वमा गएको टोलीसँगको भेटमा लिञ्झी शहरले पोखराका सडक उज्यालो बनाउन २ हजार थान सोलार लाइट सहयोग मार्फत निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

संघका अध्यक्ष थापाले सहयोगका लागि लिञ्झी तयार भएको र सम्झौता गर्न अगष्टको अन्तिममा लिञ्झीको एक टोली पोखरा आउने जानकारी दिए । उनका अनुसार २ हजार थान सोलार लाइटका लागि लिञ्झीले करीब २० करोड रुपैयाँ लगानी गर्नेछ ।

लिञ्झी सहयोग तयार भएपनि नेपालको तर्फबाट कसले हस्ताक्षर गर्ने भन्नेबारेमा टुंगो नलाग्दा केही समस्या आएको बताए । पोखरा उपमहानगरपालिका आफैले हस्ताक्षर गर्न मिल्ने भएपनि केन्द्र सरकारको सहमति आवश्यक रहेको उनको भनाइ छ । यस विषयमा मुख्यसचिव सोमलाल सुवेदीसँग पनि कुरा भएको र चाँडै सहमति आएपछि सम्झौता हुने उनले बताए ।

सोलार लाईट पोखराको मुख्य चोक पृथ्वीचोकदेखी नयाँबजार, महेन्द्रपुल, नदीपुर, नालामुख, सिद्धार्थचोक, सिर्जनाचोक, हल्लनचोक, लेकसाइड लगायतका सडकमा प्रयोग गरिने विषयमा सहमति भएको नेपाल-चीन जनमैत्री संघ पोखराका अध्यक्ष पालिखेले बताए ।

चिनका अन्य शहरहरुले पनि नेपालको पर्यटन र जलविद्युतमा सहयोग गर्ने ईच्छा देखाएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । चीन भ्रमणमा गएका संघका पूर्वअध्यक्ष राजेन्द्र लालचनले स्याउ र चियाको बारेमा समेत चिनमा धेरै प्रविधिहरु सिक्ने मौका पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment