Comments Add Comment

‘नेपालीहरू सरोकारै नहुने चिजमा चासो दिन्छन्’

घुमन्ते पत्रकारका १४ अनुभव

Mohan-Mainali,-Journalist

मोहन मैनाली मूलतः वातावरण पत्रकार हुन् । पत्रकारिता कर्ममा उनी वातावरण, वन्यजन्तुका साथै मान्छेहरूको कथा पनि उधिन्छन् । त्यसका लागि विभिन्न जिल्ला पुगिरहेका हुन्छन् । अहिलेसम्म ६८ जिल्ला घुमेका उनले घुमन्ते पत्रकारकै चिनारी बनाएका छन् ।

उत्तरी गोरखाको जनजीवन केलाइएको ‘उपल्लो थलो’ (०६९) र दसवर्षे द्वन्द्वको दुष्परिणाम स्थानीयस्तरमै गएर नियालिएको ‘मान्ठा डराएको जुग’ (०७१) उनका प्रकाशित कृति हुन् । द्वन्द्वकालमा धादिङको जोगीमारामा बेपत्ता भएकाहरूबारे बनाइएको ‘जोगीमाराका ज्युँदाहरू’ वृत्तचित्र (०५९) पनि उनको सम्झन लायक काम हो ।

हाल साउथ एसिया चेकका सम्पादक रहेका मैनालीले जिल्ला दौडाहा र पत्रकारिता कर्मको सिलसिलामा सँगालेका १२ अनुभव उनकै शब्दमा:

१) मैले जति पनि घुमेँ, पत्रकारिताकै सिलसिलामा घुमेको छु । जहाँ जाँदा पनि सूचना संकलनकै लागि पुगियो । यसरी घुम्दा आफ्नो काम पनि पार लाग्ने र घुमफिरको तलतल मेटिने भएकोले एक पन्थ दुई काम हुन्छ ।

रिपोर्टिङको काममा ०४८ सालदेखि घुम्न थालेको हुँ । मनमौजी घुम्न मन पनि लाग्दैन । स्वच्छन्द घुम्नका लागि पैसा खर्च नगर्ने मेरो मान्यता छ । कमाइ चाहिँ सीमित हुने र घुम्ने रहर गर्नु मेरो निम्ति विलासी काम हो । उद्देश्यमूलक घुमघाम नै आनन्दको लाग्छ ।

Bajura Woman

२) अहिलेसम्म ६८ वटा जिल्ला घुमेको छु । घुमेजति सबै ठाउँ उत्तिकै प्रभाव पार्ने जस्तो लाग्छ । दार्चुला जाँदा छ्यालेकभन्दा माथितिर एकदमै गजबको ठाउँ थियो । जे पनि जता पनि प्रकृतिले कुँदे जस्तो । त्यहाँ मान्छेहरू जसरी काम गरेका हुन्छन्, तिनीहरू पनि प्रकृतिकै सेटिङमा बसे जस्तो ! मानसरोवर अध्यात्मिक र प्राकृतिक छटा हरेक दृष्टिले राम्रो ठाउँ हो ।

धेरै साथीहरू घुम्न जाने भन्नुहुन्छ, तर दौडिएर गएर हतारमै फर्कनुहुन्छ । त्यसरी घुम्दा जति कुरा हेर्नुपर्ने हो, त्यति हेरिँदैन । घुम्दा सामुन्नेमा जे देखिन्छ, त्यो मात्र हेर्ने कि अलिक भित्रसम्म पुग्ने ? भित्रसम्म गएर अर्थ खोज्ने गरियो भने घुमाइ पनि सार्थक हुन्छ । मान्छेहरूसँग कुरा गर्दै, बास बस्दै यात्रा गर्दा त्यसको मजा छुट्टै हुन्छ । मन परेको ठाउँ छ भने त्यहाँ धित मर्नेगरी बस्नुपर्छ भन्ने लाग्छ । गाउँघरमा धित मर्ने गरी बस्न त्यत्रो धेरै खर्च पनि लाग्ने हैन ।

३) १७ वर्षअघि वातावरण पत्रकारिता समूहबाट रिपोर्टिङको क्रममा रसुवाको लाङटाङ पुगेको थिएँ । यो पालि १७ वर्षपछि फेरि पुगेँ लाङटाङ । आफू पहिले गएको ठाउँमा भूकम्पले कस्तो असर गरेको रै’छ भनेर बुझ्न गइयो । भुइँचालोले सबैभन्दा बढी असर पारेको ठाउँ त्यही हो जस्तो लाग्छ । प्रकृति कहिलेकाहीँ बहुलाएर दुःख दिन्छ, नत्र त्यसको सौन्दर्य सधैं लोभ्याउने खालको हुन्छ ।

हामीले लाङटाङको यात्रामा नौ दिन लगाएका थियौं । त्यति दिन बस्दा पनि हामीलाई अझै पुगेन कि, चार-पाँच दिन अझै बस्न पाएको भए राम्रो हुन्थ्यो भन्ने लागेको थियो । त्यति टाढा लाङटाङ त पुगिसकियो, त्योभन्दा एक हजार मिटर माथि चढ्दा अर्कै संसार देखिन्छ भने किन नचढ्ने भन्ने लाग्छ । दुई वर्षअघि ताप्लेजुङको घुन्सा पुग्दा पनि रमाइलो लागेको थियो ।

४) एक्लै पनि २-३ दिनको यात्रामा गएको छु । तर, मलाई मिल्ने टिमसँग हिँड्दा नै मजा लाग्छ । टिम चाहिँ आफूले भनेअनुसार मान्ने खालको हुनुपर्‍यो । टिमका अरु मान्छेका कारणले जानकारी छुट्ने अवस्था आउनु भएन । त्यही भएर नयाँ जुनसुकै टिमसँग यात्रा गर्न सक्दिनँ म ।

टिममा जाँदा मल्टिमिडियामा काम गर्न सकिन्छ । एकैचोटि भिडियो, रेडियो र छापा माध्यमको लागि काम गर्न सकियो । तीनवटै विधालाई राम्रोसँग उपयोग गर्न सकिने भयो भने त्यही नै सबभन्दा ठूलो कुरा लाग्छ ।

Daughter of Riuli Damai and Ram Lal Damai

५) बढी दोहोर्‍याएर गोरखा जिल्ला गएको छु । लामो यात्रामा २४/२५ दिनसम्म लगाएर घुमेको छु त्यहाँ । बाजुरा र कर्णालीतिर पनि तीनचोटि गएको छु । धादिङको जोगीमारा पनि तीनचोटि गएँ । आफ्नै क्षेत्र भएकोले तमोरको तलमाथि, वारिपारि र त्यसको अन्तिम गाउँ घुन्सा पनि धेरै चोटि गएको छु । संयोग मिल्ने र सजिलो पर्ने भएकोले यात्रा दोहोरिने रै’छ ।

कुनै ठाउँमा भने अनेक पटक कोसिस गर्दा पनि जान पाइँदैन । सोलुखुम्बु र मुस्ताङ चाहेर पनि अझैसम्म जान सकेको छैन । सोलु जानलाई म सात/आठ चोटि एयरपोर्ट पुगेको छु । कहिले खराब मौसम र कहिले सिट नपाएर फर्किनुपर्‍यो । एउटा झोला र नोटबुक टिपेर अब हिँड्छु भनेर लामो यात्रामा जान सकिँदैन । पैसा र सुरक्षाको दृष्टिकोणले पनि हेर्नुपर्छ ।

६) द्वन्द्वको बेलादेखि बाहेक जहाँ पुग्दा पनि सबैतिरका मान्छे खुसी नै देखेँ । जीवनमा दुःख छ, तै पनि सन्तोष मानेर बाँचेका छन् । आजका दिनमा जुनसुकै ठाउँमा हुनैपर्ने आधारभूत आवश्यकताका सेवा-सुविधा नपाउँदा पनि मान्छे त हाँसेरै बसिराखेको छ । अभावको खाडललाई हाँसोले नै पूर्ति गरिराखेका छन् । मान्छेको बाँच्ने चाहना र दुःखलाई सुखमा परिणत गर्ने त्यो ठूलो शक्ति हो जस्तो लाग्छ नेपालमा ।

बसौं, कहाँ हिँडेको, ल खाऔं भन्ने किसिमको आत्मीयता सबै ठाउँमा पाएको छु । हामी पत्रकार भनेर परिचय खुलाउँदा उनीहरूले हाम्रो यस्तो भनाइ छ, हाम्रो कुरा ठाउँमा पुर्‍याइदिनुस् भन्छन् । त्यस्तो सुनेर आफूले गरिरहेको काम राम्रै रै’छ, पत्रकारिता पेसाको महत्व रै’छ गर्वले मन ढक्क फुल्छ ।

७) जसले असामान्य जिन्दगी बाँचेका छन्, तिनका कुरा बताउनुपर्छ भन्ने लाग्छ मलाई । गोरखाको उत्तरी भेगतिर जाँदा एक पात्र भेटिए, बलबहादुर कार्की । त्यस भेगमा जहिले पनि सरकारी सेवा नपुग्ने अवस्था छ । पञ्चायत कालमा जिल्ला पञ्चायतको सदस्य रहेका उनी सत्तासँग नजिक हुँदा सेवा-सुविधा पाइन्छ कि भन्ने सोचले बहुदल आएपछि कांग्रेस भए । एमाले सरकारको पालामा एमाले भए ।

हुन त सरकारले आम जनतालाई समान रूपमा सेवा-सुविधा पुर्‍याउनुपर्ने हो, तर सामान्यतया टाठाबाठा कार्यकर्ताले पाउने भएकोले कार्यकर्ता भएपछि मात्रै पाइन्छ भन्ने आम धारणा छ । त्यो ठाउँको अवस्था देख्दा बलबहादुरले अपनाएको जिन्दगी ठीकै हो कि जस्तो लाग्यो । तर, समस्या चाहिँ के भने, कार्यकर्ता भएपछि पनि सेवा-सुविधा पाउन सकेका थिएनन् । राज्यले जनतालाई कुन अवस्थामा पुर्‍याएको छ भन्ने त्यो एउटा उदाहरण हो ।

८) गोरखामै भेंडीगोठमा बस्ने उडसिंह गुरुङ भेटिएका थिए । जसले १० वर्षको उमेरदेखि भेंडीगोठमै जिन्दगी बिताए । मैले भेट्दा उनी ६९ वर्षका थिए । ५९ वर्षदेखि त्यही एउटै काम गरेको देख्दा मलाई सामान्य मान्छेको जिन्दगीभन्दा अलिक फरक लाग्यो ।

भेंडा गोठालाहरू वर्षा लाग्दै गएपछि भेंडाको बगाल लिएर लेकतिर चढ्ने गर्छन् । एक ठाउँमा १०-१५ दिन बसेर घाँस सकिएपछि फेरि अर्को ठाउँमा जान्छन् । उनीहरूले भेंडालाई गरेको माया र अरु सबै कुरा हेर्दा अनौठो लाग्यो ।

Students of a school at Mardati, Bajura after assembly
बाजुराको मार्तडीका विद्यार्थीहरु

९) द्वन्द्वकालमा देश घुम्दा भेटेको जुल्फे सार्की पात्रलाई पनि विशेष सम्झिन्छु । जसको भनाइबाटै मैले ‘मान्ठा डराएको जुग’ भनेर किताबको नाम राखेँ । विदेशीहरू विभिन्न अध्ययन गरेर मोटो थेसिस र किताब लेख्छन्, नेपालीहरू भने त्यसलाई तुक्कामा बनाउँछन् ।

जुल्फे सार्कीले झट्ट भनेका थिए – ‘लडाइँ भनेको मान्ठादेखि मान्ठा डराउने जुग हो ।’ सारा युद्धो बेलाको परिस्थिति जे हो, उनले केही शब्दमा व्यक्त गरिदिए । मान्छे हिंस्रक भएर निस्केको र अर्को मान्छे मान्छेदेखि डराउनुपर्ने अवस्थाको चित्रण थियो त्यो ।

१०) ताप्लेजुङमा पोहोर साल जाँदा एक ठाउँमा होटल चलाएर बसेका मान्छे भेटिए । हामी १२/१३ जनाको टोलीले त्यहीँ खाना खायौं, बास पनि बस्यौं । जग्गा खार्ने क्रममा होटल नजिकैको ट्वाइलेट भत्किएको रै’छ । हामीमध्ये कसैले ‘फलानो ठाउँमा गएर ट्वाइलेट बनाउने मद्दत माग न, होटल पनि चलाउँछु भन्यो मद्दत गर्छ’ भनेर सुझाव दिए ।

उसलाई भने त्यो गर्न ठीक लागेन । यस्तो ठाउँलाई होटल भनेर के मान्यता देलान्, होटल भनेर सुविधा लिए भने अवगाल पो पर्छ कि भन्ने कुरा गरे उनले । जब कि हाम्रो लागि सुत्ने र खाने राम्रो बन्दोबस्त भएको राम्रै होटल थियो त्यो । त्यो जति निश्छल र निष्कलंक मान्छे अरु को होला ? मैले गलत गरेँ भनेर उसको मन पाक्दैन, त्यस्तै मान्छे खुसी हुन्छ जस्तो पनि लाग्छ ।

११) जिल्लाहरू घुम्ने क्रममा मैले देखेको साझा समस्या हो – गुणस्तरीय शिक्षा, स्वास्थ्य र कृषिमा राज्यको उपेक्षा ।

धादिङको कालीखोलाबाट तीन कान्लामाथि पुग्दा एउटा गाउँमा २ र १ एक्काइस, २ र २ बत्तीस भनेको सुनेँ । तीन-चार कक्षामा पुगे पनि अंक नै आउँदैन विद्यार्थीलाई । शिक्षाको हालत यस्तो छ । उसको जिन्दगीमा अंक त परेन भने अरु के कुरा पर्ला ?

ताप्लेजुङ जाँदा सुत्केरी हुनका लागि समस्या भएर एक महिलालाई हेलिकोप्टरबाट काठमाडौं ल्याएको देखेँ । हिसाब गरौं न, त्यहाँदेखि यहाँसम्म ल्याउँदा कति खर्च लाग्यो होला । दोस्रो बच्चा जन्माउने सोच्न पनि सक्दैनन् त्यसपछि । अर्को बच्चा पाउन त हेलिकोप्टर खर्च बेहोर्न तयार हुनुपर्छ भनेर डराएको पाएँ ।

कृषिमा पनि सरकारबाट जे-जति मद्दत पुग्नुपर्ने हो, छैन । कुन ठाउँमा कस्तो खालको खेती हुन सक्छ, त्यसलाई सरकारी निकायले बढावा दिएको छैन । किसानले आफैं अभ्यास गरेर खेती गर्ने बेग्लै कुरा भयो । जे गर्छौ गर भन्ने भए कृषिको लागि सरकारले विकास किन गर्नुपर्‍यो ?

१२) धेरै ठाउँमा म देख्छु, गाउँतिर उक्लिँदा भरि ट्रक जाने र फर्किँदा रित्तो र्फकने । इलाम, तेह्रथुम र जिरीतिर अरु केही नसक्दा पनि उत्तिसको रुख हुर्काएर बेच्दा रैछन् । रुख हुने ठाउँमा रुख लगाऔं, अलैंची हुने ठाउँमा अलैंची रोपौं, तरकारी हुने ठाउँमा तरकारी लगाऔं । फर्किँदा ट्रक आधा त भरियोस् । बेच्ने कुरा केही पनि छैन भने कसरी फाइदा हुन्छ ?

कर्णाली र अरु ठाउँमा अहिले चाउचाउ सबैतिर पुगेको छ । सामान किन्नमा बाहिर पैसा गइरहे पनि पैसा कमाउन आफूसँग कुनै चिज छैन । यसले त गरिब अर्थतन्त्र अझ गरिब हुँदै जाला । सामान निर्यात गर्न नसकेपछि हामीले वैदेशिक रोजगारीमा मान्छे नै निर्यात गर्ने हो ।

१३) संसारभरि नै सरकार भनेको अलि लोतो-लोतो संस्था मानिँदो रहेछ । जनताका लागि केही गरौं भन्ने व्यग्रता नदेखिने । हाम्रोमा पनि सरकारको सीमा छ । अर्कातिर, स्थानीय अग्रसरतामा पनि कमी देखिन्छ । काम गर्ने कुनै जाँगर नभए जस्तो । यहाँ केही पनि हुँदैन भनेर मर्नुभन्दा अगाडि खुट्टा तानेको मनस्थिति देखिन्छ । बर्सेनि केही पनि नभएपछि मान्छेमा हुनुपर्ने आधारभूत गुणहरू मर्दैमर्दै जाँदो रहेछ । यस्तो भएपछि सरकारले जतिसुकै काम गर्दा पनि राम्रो हुन्छ जस्तो लाग्दैन ।

Mohan-Mainali,-Journalist,-2

आज धेरै गाउँहरूमा बाटोघाटो पुगेको छ । मान्छे सक्रिय भएको ठाउँमा बाटो पुग्दा गजब भएको छ । तर, बाटो पुग्दैमा हुनेवाला केही छैन । सडक किन चाहिएको, कसो गर्दा त्यो सडकले सुविधा दिन्छ भन्ने सोचविचार गरेको देखिँदैन । गाउँघरमा बाटो जसरी खनिराखिएको छ, त्यसले पानीको मुहान सुक्ने, बाढी-पहिरो लगायतको वातावरणीय समस्या निम्त्याउला । निकुञ्जहरूभित्र समेत रुखहरू ढाल्दै कुनै नापजाँचबिना जथाभावी बाटो खनिएको छ । आफ्नो गाउँ आफैं बनाऔं भन्ने अवधारणा भए पनि व्यवहारमा चाहिँ आफ्नो गाउँ आफैं भत्काऔं भएको देखिन्छ ।

१४) पत्रकारिता कर्ममा मैले देखेको कुरा हो, नेपाली पाठकलाई सबभन्दा मन पर्ने चिज आफूसँग सरोकार नभएका कुरा हुन् । मैले गत वर्षको फागुनमा एउटा लेख लेखेको थिएँ, ‘एक करोड वर्षअघिको नेपाल’ भनेर । त्यतिबेलाको नेपालले अहिले कसैलाई त्यत्रो असर पार्दैन । तर, त्यो धेरै पढिएको पाएँ । जसले आफ्नो जिन्दगीलाई केही पनि मद्दत गर्दैन, त्यसमा बढी सरोकार हुँदो रै’छ । खसखस मात्र मेट्ने र पढिसक्दा अरु केही पनि बाँकी नरहने !

मेरो छिमेकमा के घटना भएको छ, त्यो कुरा जानेन भने मलाई असर पर्छ । तर, त्यो जान्न हामी अलिक कम कोसिस गर्छौं । जुन कुरा नजान्दा पनि हुन्छ, त्यसमा चासो दिन्छौं । सधैंभरि गम्भीर कुरा मात्र कति गर्ने भनेर मान्छेको खसखस मेट्ने कुरा पनि वर्षमा एउटा-दुइटा लेख्ने गर्छु । बाँकी त मान्छेका लागि चाहिने र आवश्यकता पूरा गर्ने कुरा नै बढी लेख्छु । तर, त्यस्ता उपयोगी सामग्रीमा मान्छेहरूले कम ध्यान दिन्छन् ।

(तस्बिरहरू- मोहन मैनालीको ब्लगबाट)
प्रस्तुति: जोतारे धाइबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment