+
+
Shares

तीन महिनापछि सवारीसाधनमा ‘इम्बोस्ड’ नम्बर प्लेट

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २६ गते १३:५१

embossed number plate
२६ साउन, काठमाडौं । सरकारले ३ महिनापछि सवारीमा ‘इम्बोस्ड नम्बर प्लेट’ राख्न सुरु गर्ने तयारी गरेको छ । इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जिम्मा पाएको बंगलादेशी र अमेरिकी संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीले इम्बोस्ड नम्बर प्लेट छाप्नका लागि तयारी अघि बढाएसँगै यातायात व्यवस्था विभागले यस्तो योजना बनाएको हो ।

नेपालमै प्लेट छाप्नका लागि कम्पनीले यातायात व्यवस्था विभागको काठमाडौं मिनभवनस्थित भवन प्रयोग गर्न लागेको छ । कम्पनीले अब केही समयभित्रै इम्बोस्ड प्लेट छपाइको काम मिनभवनमा नै सुरु गर्नेछ ।

इम्बोस्ड प्लेटका लागि पर्सनलाइजेशन सेन्टर स्थापनाको काम अघि बढेको विभागका प्रवक्ता बसन्त अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘सम्भवतः दशैं-तिहारपछि इम्बोस्ड नम्बर प्लेट लागू गर्न सकिन्छ’ अधिकारीले भने,’काम छिटो अघि बढाउने कम्पनीलाई भनेका छौं । कम्पनीले छपाइ मेसिनसहित आवश्यक प्राविधिक तयारी गरिरहेको छ ।’

यो प्लेट लागू गर्न कम्पनीले भ्याट बाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब ५ करोड रूपैयाँमा ठेक्का पाएको हो । टेण्डरमा आवेदन दिएका ४ कम्पनीमध्ये आर्थिक तथा प्राविधिक क्षमताका आधारमा डेकाटुर टाइगरसँग सम्झौता गरिएको थियो ।

लाइसेन्सलाई स्मार्टकार्डमा रुपान्तरण गर्न सुरु गरेको यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट लागू गर्न टेण्डर आह्वान गरेको थियो ।

सवारी धनिलाई करको भार
इम्बोस्ड नम्बर प्लेट राख्न भने सवारी धनीले निश्चित रकम तिर्नुपर्ने छ । एउटा सवारीमा इमबोस्ड नम्बर प्लेट परिवर्तन गर्न २ हजार देखि ३ हजार रुपैयाँ राजश्व लिने तयारी गरिएको छ । कति लिने भनेर औपचारिक निर्णय भने भएको छैन ।

विभागको सिफारिसमा अर्थ मन्त्रालयले इम्बोस्ड प्लेटको राजश्व तोक्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । इम्बोस्ड नम्बरको आयु १० वर्षको हुनेछ ।

अनिवार्यरुपमा सबै सवारीमा राखिने भएकाले यो प्लेट लागू गरेपछि करको दायरामा नआएका सवारीलाई विभागमा पुगेर राजश्व बुझाउन बाध्यता पर्नेछ । यसबाट वाषिर्क रुपमा सरकारी कर नतिर्ने समस्या हटेर जानेछ ।

५ वर्षमा सबै सवारीमा

अबको ५ वर्षभित्र नेपालमा बसै सवारीमा इम्बोस्ड प्लेट जोडिसक्ने लक्ष्य लिइएको छ । प्लेट परिवर्तन गर्न बाध्यात्मक व्यवसथा गरिनेछ ।
प्लेट छाप्ने यन्त्र, उपकरण, प्रविधि र सामाग्री सबै नेपालमै ल्याएर काम गरिने हुनाले आपूर्तिमा समस्या नहुने विश्वास गरिएको छ ।

चरणवद्ध रुपमा २० लाख सवारीमा डिजिटल तथा अत्याधुनिक नम्बर प्लेटको जडान गरिने छ । अहिले नेपालका सवारीमा १४ किसिमका नम्बर प्लेट छन् । अब ६ किसिमका मात्र नम्बर प्लेट रहने गरी यो प्रणाली लागु गर्न तयारी गरेको छ । कमर्सियल, कमर्सियल, डिप्लोमेटिक, भीआइपी, सरकारी र सार्वजनिक गरी ५ किसिमका प्लेट मात्रै अब प्रयोगमा आउनेछन् ।

सूचनामूलक र उच्च सुरक्षायुक्त हुने इम्बोस्ड नम्बर प्लेट सवारीको अगाडि र पछाडि राखिने छ । प्लेटभित्र सवारी र सवारीधनिका सबै विवरणहरु राखिनेछ । जसलाई प्रहरीसँग हुने हाते मेसिन र विभिन्न ठाउँमा राखिने ठूला मेसिनहरुले रिड गर्न सक्छन् ।

यो लागू भएपछि देशभर भएका सबै सवारीको विद्युतीय रेकर्ड सरकारसँग हुने प्रवक्ता अधिकारीले बताए ।

सवारी चोरिको समस्या हट्ने
यो नम्बर प्लेटको बाहिरी भागमा सवारीको नम्बर उल्लेख गरिन्छ । जसलाई सबैले सहजै देख्न सक्छन् । प्लेटमा लेखिएका अक्षरहरु बाहिर देखिने गरी उठेका हुन्छन् । यो बलियो र किफायती हुनेछ ।

यो नम्बर प्लेट एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन ।

किनभने यो प्रविधिको नम्बर प्लेट जडान गर्न यातायात कार्यालय पुग्नैपर्छ । साथै भन्सार छलेर ल्याइएका सवारीहरु पनि यो प्रणाली लागू भएपछि फन्दामा पर्नेछन् ।

अपराध नियन्त्रणमा सहयोगी

इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले एउटा चीप्ससहितको स्टीकर टाँस्नेछ । त्यो स्टीकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन् । संघीयतामा गएपछि पनि सवारी दर्ता प्रणालीलाई यसै स्टीकरमार्फत व्यवस्थित गर्न सकिने विभागले जनाएको छ ।

यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ ।

प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । स्मार्ट ब्लु-बुक र इम्बोस्ड नम्बर प्रणालीले प्रहरीलाई सवारी चेकजाँचमा सहज हुनेछ ।

यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेमा छन् भन्ने थाहा पाउन समय लाग्दैन ।

काठमाडौंमा मात्रै ५ वटा स्थानमा नम्बर प्लेट रिड गर्ने मेसिनसहितको गेट राख्ने विभागको योजना छ । विशेषगरी शहरी क्षेत्रका नाका तथा राजमार्गका विभिन्न ठाउँमा यस्ता मेसीनसहितका गेटहरु जडान हुनेछन् ।

यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सुचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गर्ने विभागका महानिर्देशक  श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?