Comments Add Comment

सुनील धमलाः सेहवाग बन्न सपना देखेका ओपनिङ ब्याट्सम्यान

Sunil Dhamala

जव सुनील धमला भारतको चण्डिगढ नजिकै हुर्किरहेका थिए, त्यहाँको वातावरण क्रिकेटमय थियो । सानै उमेरदेखि नै उनले क्रिकेट सुरु गरे ।

नेपालको दुर्गम पहाडी जिल्ला कालिकोटको धमला परिवार माओवादी युद्ध उत्कर्षमा पुग्दा सन् १९९७ मा विस्थपित भएर भारत पुगेको थियो । त्यतिबेला सुनील नाबालक थिए । भारतमा उनले सानैदेखि क्रिकेटमा लगाव राख्न थाले ।

सानैदेखि पार्कमा क्रिकेट खेल्ने उनी ब्याटिङ गरेर बल पार्क बाहिर पुर्‍याउन माहिर मानिन्थे । ‘मलाई ठ्याक्कै त्यो मिति सम्झना छैन कि मैले कहिलेदेखि क्रिकेट खेल्न थालेँ’ सुनील भन्छन्, ‘क्रिकेट भारतको हरेक ठाउँमा लोकप्रिय छ । मेरो परिवार बसेको स्थानमा पनि यो उत्तिकै लोकप्रिय छ ।’

सुनील अहिले विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेदरल्याण्ड्सबिरुद्ध हुने खेलका लागि नेपाली टोलीमा समावेश भएका छन् ।

सुनीललाई अहिलेसम्म याद छ, जव सात बर्षका थिए, पाकिस्तानबिरुद्धको टेष्टमा भारतीय ओपनर वीरेन्द्र सेहवागले ३०९ रनको उत्कृष्ट पारी खेलेको टेलिभिजनमा प्रत्यक्ष हेरेका थिए । त्यसपछि सेहवागलाई भारतमा ‘मुल्तानका सुल्तान’को उपमा दिइएको थियो ।

आफ्ना प्रेरणा सेहवागको त्यो इनिङले सात बर्षीय सुनीलमा सकारात्मक प्रभाव पार्‍यो । सुनील भन्छन्, ‘उनी आफ्नो प्राकृतिक खेल प्रदर्शन गर्छन्, परिस्थिति आफ्नो पक्षमा नहुँदा पनि उनको खेलशैली परिवर्तन हुँदैन ।’

उनले थपे, ‘यही विशेषता हो मैले उनीबाट सिकेको ।’

सुनीलले उमेर समूहमा भारतबाटै क्रिकेट खेले । जिल्लास्तरीय प्रतियोगिता पनि खेलेका छन् उनले । उनी त्यस्ता भारतीय किशोर साथीहरुको माझमा थिए, जसले क्रिकेटलाई धर्मभन्दा माथि मानेर व्यवहार गर्थ्यो । आफू एक नेपाली भएको अनुभव हुनुभन्दा अघिसम्म उनको सपना भारतका लागि क्रिकेट खेल्नु थियो ।

बढ्दो उमेरको साथ उनको मनासय परिवर्तन भयो । उनी आफ्नो जन्मभूमिका लागि क्रिकेट खेल्न चासो दिन थाले । यसैबीचमा धनगढीमा रहेका साथीमार्फत थाहा पाए कि नेपालको पनि राष्ट्रिय क्रिकेट टोली छ ।

‘करीव ३ बर्षअघि दशैंका क्रममा म धनगढी आएको थिएँ । मैले धनगढीको स्थानीय एकेडेमीमा पुगेेर क्रिकेट खेल्न इच्छुक रहेको बताएँ’ सुनील सम्झन्छन् ।

स्थानीय क्लवबाट खेल्ने उनको निर्णयले उनलाई क्रिकेटको घरेलु संरचनामा प्रवेश गरायो । त्यसलगत्तै उनी १९ बर्षमुनिको राष्ट्रिय टोलीका लागि छनौट भए ।

गत बर्ष नेपालको युवा टोलीबाट प्रतिनिधित्व गरी उनले अण्डर नाइन्टिन विश्वकप खेले । विश्वकपमा नेपाली टोलीबाट सर्वाधिक रन बटुल्ने सुनील नै हुन् ।

छनौट चरणमा उनले आयरल्याण्डबिरुद्ध ४७ र ७५ रन प्रहार गरेका थिए । तर, त्यसै अनुसारको लयलाई उनले प्रतियोगितामा निरन्तरता दिन सकेनन् । विश्वकपमा भारतविरुद्ध उनी शून्य रनमै पेविलियन फर्केका थिए ।

नेपालका लागि अन्तिम खेल नामिबियाबिरुद्ध भने उनले ५८ रनको उत्कृष्ट पारी खेले, जतिबेला नेपाल प्रतियोगिताबाट बाहिरिने निश्चित भइसकेको थियो ।

सबै अनुभवपछि पनि धमलाको क्रिकेट शैलीमा परिवर्तन भएको छैन । ‘हामी सधै एउटै लयमा हुन सक्दैनौं’ सुनील भन्छन्, ‘यसको मतलव यो होइन कि हामीले क्रिकेट खेल्नै शैली नै परिवर्तन गर्नुपर्छ ।’

यस्तै शैलीका साथ उनी शनिबार नेदरल्याण्ड्सबिरुद्धको खेलमा नेपाली टोलीको प्रतिनिधित्व गर्दैछन् । यद्यपि उनले सुरुवाती ११ मा अवसर पाउँछन् पाउँदैनन् निश्चित भइसकेको छैन ।

अनलाइनखबर अंग्रेजीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment