खासगरी कवितामा कलम चलाउँदै आएका युवा लेखक मीनराज वसन्तले पहिलो उपन्यास ‘मुदिर’ प्रकाशनमा ल्याएका छन् । लेखकका अनुसार, उपन्यासमा वैदेशिक रोजगारीको पीडालाई विषयवस्तु बनाइएको छ ।
शनिबार विमोचन भएको उपन्यासको केन्द्रविन्दुमा रहेर लेखकसँग गरिएको कुराकानी:
कविता लेख्दै आएको मान्छेले साहित्यको बृहत् विधा उपन्यास लेख्ने हिम्मत कसरी जुटाउनुभयो ?
– उपन्यास लेख्ने मेरो पहिल्यैदेखिको धोको थियो । कामदारका रूपमा खाडी मुलुक कतार जाँदा मैले दुःख भोगेँ । मभन्दा पनि बढी दुःख भोगिरहेका युवाहरू भेटेँ । तर, त्यहाँको दुःख बाहिर आउँदैन । आफूसँग लेख्ने सीप भएकोले त्यसबारे मैले लेख्नुपर्छ भन्ने लाग्यो । कतारमा हुँदै मैले अर्कै विषयमा एउटा उपन्यास लेखेर लेखक अमर न्यौपानेलाई हेर्न पठाएको थिएँ । उहाँले खाडीकै कथावस्तुमा उपन्यास लेख्दा सान्दर्भिक हुने सुझाउनुभयो । एउटा लेखकको दायित्व सम्झेर लेखेँ ।
‘मुदिर’ले उठान गर्न खोजेको विषय के हो ?
– हाम्रा नेपाली युवाहरू खाडी मुलुक जान्छन् । कसरी श्रममा घोटिन्छन्, कसरी दुःख खेप्छन्, जुन काम भनेर गएको, त्यो नहुँदा कति पिल्सिन्छन् भनेर देखाउन खोजेको छु । मुदिर भनेको अरबी भाषामा मालिक हो । मुदिरको मातहत बसेर उसले जे-जे भन्यो खुरुखुरु मान्नुभन्दा अर्को विकल्प हुँदैन । खाडी मुलुकमा काम गर्ने प्रत्येक युवाको प्रतिनिधि भोगाइ देख्न सकिन्छ मेरो उपन्यासमा ।
उपन्यास लेख्न आफ्नै अनुभव पर्याप्त भयो कि अध्ययन-अनुसन्धान पनि गर्नुभयो ?
– मेरो आफ्नै भोगाइ पनि थियो । तर, मैले दुःख गरेअनुसार प्रतिफल पनि राम्रै पाउँथेँ । खाडी मुलुकहरूमा मेरोभन्दा दयनीय हालत भएका नेपाली युवा धेरै छन् । आफ्नै कथा लेख्दा त वास्तविक अरबको चित्र आउँदैनथ्यो ।
उपन्यासको पात्र खोज्ने क्रममा पूर्वी नेपालबाट आएर काम गरिएका एकजना युवा भेटेँ । पेट्रोलपम्पमा काम गर्ने क्रममा शरीर जलेर दयनीय अवस्था थियो उनको । ५० डिग्रीको तापक्रममा उनीकहाँ पुगेर दैनिक ३-४ घन्टा कुरा गर्थेँ । टिपेका कुरा राति आएर लेख्थेँ । उनको ठाउँमा आफूलाई राखेर लेख्न बस्दा कति पटक त आफैं पनि रोएँ ।
आख्यान कल्पनाशीलताको जगमा बुनिए पनि पाठकले कथामा विश्वसनीयता खोज्छ, लेख्ने क्रममा त्यसका लागि कत्तिको चुनौती महसुस गर्नुभयो ?
– चुनौती बढी नै थियो । तर, मैले फेला पारेको पात्रको जीवन हेर्दा विश्वसनीयताको आधार पनि प्रशस्त भेटेँ । अर्कातिर, वैदेशिक रोजगारीका क्रममा कठिन जीवन भोगिरहेका पात्रहरू नै सजीव थिए मेरो निम्ति । आख्यानमा कल्पनाशीलता हुने भए पनि बढी विम्ब-प्रतीक राखेर काल्पनिक बनाउनतिर लागिनँ म । वैदेशिक रोजगारीमा आफन्त गएका हरेक नेपाली घरका सदस्यहरूले बुझ्ने गरी सरल भाषामा लेख्ने कोसिस गरेको छु ।
कविहरू भटाभट आख्यान लेख्नतिर लागेका छन् । कवितामा जम्न नसकेर कि आख्यानमा मजा देखेर ?
– म त स्थापित हुने तर्खरको कवि थिएँ । कतार गएपछि नै तीन वर्षयता कवितामा जोडतोडले लागेको थिएँ । कृति निकाल्न पाण्डुलिपि पनि तयार पारिसकेको थिएँ । तर, हामीकहाँ कविता बिक्दैन भन्ने कुरा छँदै छ । बरु आख्यान लेखेको छ भने हेरौं न एकपटक भन्छन् प्रकाशकहरू । लाखौं रुपैयाँ लगानी गरेपछि प्रकाशकले प्रतिफल खोज्नु पनि स्वाभाविकै हो ।
यस्तो अवस्थामा आख्यान नलेखे के लेख्ने भन्ने लाग्यो । फेरि मैले देखे-भोगेको कथालाई कवितामा अटाउन सम्भव पनि थिएन । विकल्प नदेखेर उपन्यास नै लेखेँ ।
प्रतिक्रिया 4