Comments Add Comment

तरकारी उत्पादन बर्सेनि बढ्यो, भाउँ घटेन

Tarkari ani Phalphul photo (4)३० साउन, काठमाडौं । व्यावसायिक तरकारी खेती फस्टाएसँगै आलु र हरियो तरकारीको उत्पादन पनि बर्सेनि बढेको पाइएको छ ।

गत वर्ष मुलुकभर ६५ लाख ७६ हजार मेट्रिक टन तरकारी उत्पादन भएको कृषि विकास मन्त्रालयको तथ्यांक छ । बढ्दो सहरीकरणसँगै तरकारीको माग उच्च रहेकाले मुलुकका मुख्य सहर आसपासका क्षेत्रमा तरकारी उत्पादन पनि बढेको छ । तर, राजधानीमा तरकारीकाे भाउँ भने उच्च हुने गरेको छ । उत्पादन बढेपनि मूल्य भने उच्च छ ।

मन्त्रालयका अनुसार गत वर्ष मुलुकभर ३७ लाख मेट्रिक टन हरियो तरकारी र २८ लाख ७६ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । भान्साको अनिवार्य वस्तु मानिएको आलु र हरियो तरकारीको व्यावसायिक खेती बढेपछि उत्पादन गर्ने क्षेत्र र उत्पादकत्वसमेत बढ्दो रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

गत वर्ष मात्र २ लाख ५० हजार हेक्टरमा हरियो तरकारी लगाइएको थियो भने १ लाख ९६ हजार हेक्टरमा आलु खेती गरिएको थियो । मन्त्रालयका अनुसार आलुको उत्पादकत्व प्रतिहेक्टर १४ हजार ६८६ किलो छ भने तरकारीको उत्पादकत्व प्रतिकिलो १४ हजार ७९५ किलो रहेको छ ।

भूकम्प र नाकाबन्दीका बाबजुद गत वर्ष तरकारी २ प्रतिशतले र आलु ३ प्रतिशतले उत्पादन वृद्धि भएको छ । दशक अघिदेखि नै तरकारीको उत्पादन बर्सेनि बढ्दो क्रममा रहेको तथ्यांक छ भने पछिल्लो पाँच वर्षमा उत्पादनको दरसमेत बढेको पाइन्छ ।

मुख्य सहर आसपासका क्षेत्रमा आलुसहित हरियो तरकारीहरु बन्दा, काउली, भण्टा, लौका, स्कुस, साग, सिमी, बोडी, गोलभेंडालगायतका तरकारीको मौसमी तथा बेमौसमी खेती फस्टाउँदो छ ।

तरकारीको सबैभन्दा ठूलो बजार काठमाडौं उपत्यका भएकाले उपत्यका वरपरका धादिङ, काभ्रे, मकवानपुर, चितवन, सिन्धुपाल्चोक लगायतका क्षेत्रमा व्यावसायिक तरकारी खेती बढी हुने गरेको छ ।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार गत वर्ष २ लाख १० हजार मेट्रिक टन तरकारी भित्रेको थियो । जसमध्ये आलु मात्र करिब ४३ हजार मेट्रिक टन भित्रेको थियो । कालिमाटीमा गत वर्ष आलुको औसत थोक मूल्य प्रतिकिलो २२ रुपैयाँमा कारोबार भएको थियो भने हरियो तरकारीको औसत थोक मूल्य प्रतिकिलो ७७ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment