Comments Add Comment

नेपालमा क्यान्सरको उपचार र ‘सेकाइ’ का डाक्टर

क्यान्सर के हो ?

सामान्यतः अनुशासनमा बस्ने शरीरका कोशहरु (cells) एकाएक नचाहिने गरी हतार हतार बढ्न थाल्छन्, र त्यो अंगको काममा नराम्रो असर गर्न थाल्छन् । त्यसले गर्दा शरीरमा समस्या आउँछ । जसलार्इ हामी क्यान्सर भन्छाैं ।

Abis-Adhikari
डा. आविश अधिकारी

क्यान्सरको अर्को नराम्रो बानी एउटा ठाउँबाट अर्को ठाउँमा सर्ने हो । एउटा अंगमा उम्रेको क्यान्सर छेउकै अंग अथवा टाढाको अंगमा फैलियो भने त्यसलाई मेटास्टासिस भएको भनिन्छ ।

क्यान्सर कुन कुन अंगमा हुन सक्छ ?

क्यान्सर कुनै पनि अंगमा हुन सक्छ । पुरुषहरूमा फोक्सोको क्यान्सर, मुख तथा घाँटीको क्यान्सर धेरै भेटिन्छन् भने महिलाहरूमा पाठेघरको मुख (cervix) र स्तनको क्यान्सर । हामीले दैनिक देख्ने बिरामीहरूमा पेटको, आन्द्राको, गिर्खाहरूको क्यान्सर भेटिन्छ ।

क्यान्सर किन हुन्छ ?

क्यान्सर किन हुन्छ को उत्तर त्यति सोझो छैन । केही क्यान्सरहरु वंशाणुगत हुन्छन् ,केही बिना कारण यसै पलाउँछन् । हाम्रो खानपिन र जीवनयापनका कारणले क्यान्सरको जोखिम बढ्ने हुन्छ । जस्तै,कसरत नगर्ने, पोलेको मासु धेरै खाने,कीटनाशकको प्रयोग गरिएका खानेकुरा खानेलाई क्यान्सरको सम्भावना बढ्छ । कारण थाह भएका क्यान्सरहरू मध्ये धेरै जसो क्यान्सरको कारण चुरोट र खैनी हो ।

हामीले हेर्ने क्यान्सरका बिरामी मध्य ८० प्रतिशत भन्दा धेरैले चुरोट वा खैनी खाएका हुन्छन् । मैले क्यान्सर मात्र हेर्न थालेको ६ बर्षमा भेटेका चुरोट/खैनी नखाएर पनि फोक्सो र मुखको क्यान्सर भएका बिरामीहरूलाई औँलामा गन्न सक्छु । सोझै भन्नु पर्दा चुरोट वा खैनी प्रयोग गर्ने मान्छेलाई क्यान्सर हुने संभावना निकै बढि हुन्छ ।

क्यान्सरको उपचार

अपरेसन: 

काटेर फ्याल्न मिल्ने छ भने क्यान्सरको अपरेसन गरिन्छ । जहाँ रोग छ, त्यो भाग काटेर हटाउनु नै क्यान्सरको अपरेसन हो । तर धेरै पटक काटेर निकाल्नै नसकिने अवस्थामा क्यान्सर भेटिन्छ । टाउको र घाँटी, रगत वा अरु निकाल्नै नमिल्ने अंगमा क्यान्सर भएको छ भने पनि अपरेसन सम्भव नहुन सक्छ ।

किमोथेरापी:

क्यान्सरका औषधीलाई किमोथेरापी भनिन्छ । आजकल सयौं प्रकारका किमोथेरापी बनेका छन् । केही क्यान्सरहरु किमोथेरापीसँग सजिलै निको हुन्छन् भने केहीलाई किमोथेरापीले छुँदैन । हरेक किमोथेरापीका आ-आफ्नै राम्रा र नराम्रा असरहरु हुन्छन् । सामान्यतः ‘कपाल झर्छ’, ‘वाक्‌वाक् लाग्छ’ भनेर सोचिए पनि सबै किमोथेरापीले त्यस्तो गराउँदैन । धेरै जना बिरामीले किमोथेरापी लगाउँदै गर्दा एकदम सामान्य जीवन बिताइरहेका हुन्छन् । केही हप्तामा केही घण्टाको लागी लगाइने किमोथेरापी आजकल निकै सहज भइसकेको छ ।

रेडियोथेरापी:

रेडियोथेरापी भनेको रेडियसनको प्रयोगले क्यान्सरको उपचार गरिने प्रविधिलाई भनिन्छ । नेपालीमा रेडियसनलाई विकिरण भनिन्छ, सामान्य भाषामा भन्नु पर्दा, अलि बढि ताकतका एक्सरे भनेर बुझ्दा पनि हुन्छ । रेडियोथेरापी उपचार दैनिक केही मिनेट, ६ हप्ता जति हुन्छ ।

खोई किन हो, रेडियोथेरापी लाई हाम्रा बिरामीहरूले ‘सेकाई गर्ने’ भन्ने गर्छन् । यो शब्द आफैंमा गलत छ किन भने रेडियोथेरापी गर्दा पोल्दैन, न त दुख्छ, बिरामीले केही थाह पाउनुहुन्न । तर रेडियोथेरापी सुरु गरेको २-४ हप्तामा कसै कसैको छाला अलि कालो हुन सक्छ जुन पछि आफै हराएर जान्छ । अरु प्रतिकुल असर के हुन्छन् भन्ने कुरा रेडियोथेरापी कुन अंगमा गरिँदैछ मा भर पर्छ । धेरै जसो बिरामीहरूले रेडियोथेरापी सजिलै लिनुभएको मैले पाएको छु ।

नेपालमा क्यान्सरको उपचार 
नेपालमा क्यान्सरको उपचार सुरु भएको ३ दशक भइसक्यो –  अपरेसन धेरै वटा अस्पतालमा हुन्छन् र किमोथेरापी पनि धेरै वटा अस्पतालमा लगाउन मिल्ने भएको छ । क्यान्सरको उपचारमा आजकल निकै प्रगति भएको क्षेत्र रेडियोथेरापी हो तर नेपालमा नपुग्दो हुने गरि थोरै भएको पनि रेडियोथेरापी नै हो !

रेडियोथेरापी हुने नेपालमा जम्मा ४ वटा अस्पताल छन् । सबै भन्दा पुरानो बीर अस्पतालमा यो सुविधा थियो, तर अहिले रेडियोथेरापी मेसिन बिग्रिएको छ । भक्तपुर क्यान्सर, भरतपुर स्थित क्यान्सर अस्पताल र मणिपाल कलेज पोखरामा रेडियोथेरापी सेवा उपलव्ध छ । काठमाडौं उपत्यकामा भर्खरै खुलेको काठमाडौं क्यान्सर सेन्टरमा नयाँ प्रविधिको रेडियोथेरापी सुरु भएको छ जसले अहिलेको अवस्थामा भक्तपुर क्यान्सर अस्पताल सँगै उपत्यकाको सबै रेडियोथेरापीको आवश्यकता पूरा गरिरहेका छ ।

भविष्य

क्यान्सरको उपचारको क्षेत्रमा हरेक दिन केही न केही नयाँ आइरहेकै हुन्छ । केही दशक अघि पार पाउन नसकिने भनिएको क्यान्सर बेलैमा भेटिए निको हुन थालेको छ । विश्वास के गर्न सकिन्छ भने बर्षहरु बित्दै जाँदा, नयाँ औषधि र नयाँ प्रविधि आउनेछन् जसले गर्दा क्यान्सर पनि सजिलै निको हुने रोग हुनेछ ।

हरिसिद्धिमा नयाँ क्यान्सर अस्पताल खुलेको छ, नेपालगन्जमा पनि सहकारी लगानीमा क्यान्सर अस्पताल खुलेको समाचार आयो,दुबैले रेडियोथेरापी पनि सुरु गर्ने तरखरमा छन् । टिचिँग अस्पतालले धेरै वर्ष भयो कोसिस गरिरहेको अझै कुरा अगाडि बढेको छैन । निजामति अस्पतालमा पनि खुल्ने रे भनेको सुनिन थालेको छ । यसरी नै नयाँ सेन्टरहरु खुल्न थाले भने नेपालमै क्यान्सरको सजिलै उपचार सम्भव होला ।

(डा. आविश अधिकारी क्यान्सर रोगसित सम्बन्धित ‘अंकोलोजी’का डाक्टर हुन । उनी हाल धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा कार्यरत छन् । उनले अंकोलोजी विषयमा स्नातकोत्तर गरेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment